Tuesday, February 22, 2011

‘देशै रमाइलो’ गाएर हुर्रा नाच्ने मगरहरु


जनसंख्याको हिसाबले नेपालको तेश्रो ठूलो जाति र आदिबासी जनजातिहरुको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदायको बारेमा संक्षिप्त चर्चा गर्नु पहिलो केही ऐतिहासिक पृष्ठहरु पल्टाउन आवश्यक देखिन्छ ।
  • नेपालका प्रथम शहीद लखन थापा(मगर) हुन् ।
  • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा मगर हुन् ।
  • नेपालको सेनापति उपाधी पाउने पहिलो व्यक्ति विराज राना हुन् ।
  • नेपालको प्रथम महिला डिएसपी पार्वती थापा मगर हुन् ।
  • ८ औं साफ खेलकुदमा बक्सिङ्गतर्फबाट स्वर्ण पदक दिलाउने दाजुभाइ प्रकाश र रामचन्द्र थापा मगर हुन् ।
  • पहिलो मगर प्रहरी महानिरिक्षक खड्कजीत बराल मगर हुन् ।
  • हालसम्म नेपाली लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बसन्त थापा मगर हुन् ।
  • मगर समुदायबाट एसएलसी बोर्डफस्ट हुने पहिलो व्यक्ति भक्त आले हुन् ।
  • मगरभाषाका आदिकवि भनेर जीत बहादुर सिंजाली र स्व. रेखबहादुर सारुलाई चिनिन्छ ।
  • पृथ्वीनारायण शाहलाई राज्य एकिकरणताका जयन्त रानालाई हातमा पार्न निकै कठिन परेको थियो । निकैचोटी प्रयास गर्दा पनि सफल भएका थिएनन् । त्यही झोंकमा उनलाई छाला काडेर मारिएको थियो ।
वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसंख्या भएका मगरहरु प्रायः सुन्दर वर्णका हुने गर्दछन् । विगत र अहिले मगर समुदायको जनसंख्यालाई हेर्दा क्रमशः बढ्दै गएको अनुमान लगाउन सकिन्छ । पाल्पा, साङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरुमा प्रमुख बसोबास रहेका यिनिहरु अर्घाखाँची, रुपन्देही, काठमाण्डौं, रामेछाप, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर लगायतका क्षेत्रहरुमा पनि बसोबास गर्दछन् । यिनिहरुको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको अनुमान लगाउन गाह्रो नपर्ने हुन्छ ।

भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो÷निलो पटुकी, गलामा पहेँलो÷हरियो पोते साथैमा कण्ठमाला÷मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरु आफ्नै भाषा बोल्ने गर्दछन् । भोट–बर्मेली भाषा अन्र्तगत पर्ने यिनिहरुको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ । मगर समुदायमा घर्ती, थापा, पुन, राना, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, असलामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका मगर लगायतका थरहरु रहेका छन् ।

मगर समुदायमा पनि अन्य जनजातिहरु जस्तै कृषि पेशामा आश्रित रहेको छ । अधिकांश मगर समुदायहरु खेती–किसानी गर्दछन् । घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन् । विकट भेकका मगरहरु डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन् । यसका साथै मगरहरु घरनिर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन् । घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरुको बाहुल्यता रहेको पाइन्छ । हालका दिनहरुमा केही शिक्षित मगरहरु हस्पिटल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानूनी, विकास निर्माण, राजनैतिक क्षेत्रहरुमा पनि संलग्न रहेको बताइन्छ ।

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ । नेवारहरु जस्तै यिनिहरु पनि साँस्कृतिक रुपमा निकै सम्पन्न छन् । अझैं पनि मगर समुदायले नाच्ने कौडा नाच, घाटु नाच, नचरी नाच, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ । विशेषतः यिनिहरुको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ । हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ । हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ । मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ । देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरुको मत छ । ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ । मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ । रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ । यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन । पश्चिममा तत्कलीन शासकहरुबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरुले यो नाच आफैँले जन्माएको बताइएको छ ।

हुर्रा नाचको उद्गम स्थल धनकुटा मुढेबास रहेको बताइन्छ । हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ । धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाकेपश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ । धनकुटामा विशेषतः भोटेहरुले मादल बनाएर मगरहरुलाई जिम्मा लगाउने गर्दछन् । मादल पाएपछि मगरहरु सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन् । गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन् । अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरुको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन् ।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ । किनकी हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरु तम्तयार भएर बसेका हुन्छन् । नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ । त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन् । हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ । मादलेहरु, भट्याउनेहरु दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरु हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन् । यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ । यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ । ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो । यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ ।

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ । यिनिहरु विवाह गर्दा आफ्नो जातभित्रै गर्ने गर्दछन् । मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन् । यिनिहरु एकै थरमा भने वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन् । पहिले–पहिले यिनिहरुले बाहुन पुरोहितलाई वैवाहिक कर्मकाण्ड गराउन लगाउने गर्दथे तर मगरहरुको संस्था लाङघाली संघले बाहनु पुरोहितबाट वैवाहिक कर्मकाण्ड नगराउने नीति लिएपछि मगरहरुकै पुरोहित ‘भुसाल’द्वारा वैवाहिक कर्मकाण्ड सम्पन्न गर्ने गरिन्छ । मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ । विवाह भईसकेपछि केटाकेटीहरु केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ । चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरुप तिरिने रुपैयाँ हो । चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ । मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ । यिनिहरु मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन् ।

No comments: