Tuesday, February 22, 2011

लासलाई टुक्रा–टुक्रा पारी खुवाउने भोटेहरु



होचो र डल्लो कद भएका ‘भोटेहरु Bhotes’ हिमालबासी भन्दा पनि हुन्छ । यिनिहरु उत्तरी सीमाक्षेत्रका हिमश्रृखंला तथा हिमचुलीहरुमा युगौंदेखि बसोबास गर्दै आएका छन् । यिनिहरुलाई चीनको पकड रहेको तिब्बत ‘भोट’को नजिकै बसेको र सम्बन्ध पनि तिब्बती जनता र तिब्बती भागसँग बढी भएकोले एवम् व्यापार, व्यवसाय पनि त्यतैतिर गर्ने हुदाँ ‘भोटे’ भनिएको बताइन्छ । यिनिहरु मनाङ्ग, मुस्ताङ, बाजुरा, मुगु, हुम्ला, डोल्पा, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा पनि बसोबास गर्दै आइरहेका छन् ।

तिब्बतीय जातिहरुसँग यिनिहरुको समानता हुने हुदाँ तिब्बतीय भाषा र धर्म मान्दछन् । यिनिहरु बुद्ध धर्मको एउटा शाखा ‘महायान धर्म’को ‘लामा धर्म’ मान्दछन् । तीर्थयात्राका लागि यिनिहरु लुम्बनी, स्वयम्भू, बौद्धनाथ, भारतको गया लगायतका दर्शनीय ठाउँहरुमा जाने गर्दछन् । त्यहाँ आफ्ना गुम्बामा पुस्तक, थान्का आदि चढाउँछन् । पूजापाठ, हवन गर्दछन र सामुहिक खाना खुवाउँछन् । यिनिहरु उच्च हिमाली क्षेत्रमा यिनिहरु बसोबास गर्ने हुनाले सबै जना न्यानो ‘बख्खु’ र विशेष टोपी लगाउँछन् । महिलाहरु बख्खु तथा टोपीहरु ऊनद्वारा बनाइएका हुन्छन् । महिला भोटेहरु विशेष प्रकारको लुङगी लगाउँछन् ।


अन्य जातिहरुमा जस्तै यिनिहरुमा पनि अझैसम्म छुवाछुत प्रथा कायम रहेको छ । जनावर मार्ने र बिक्री गर्ने बगरे, आरन थापी भाँडा पिट्ने लोहार र सुनारलाई सानो जातमा गणना गर्ने गर्दछन् । लामा, व्यापारी, चौरीं, भेडा, च्याङ्ग्रा पाल्ने पेशामा लागेका र खेतीपाती गर्नेहरुलाई ठूला जातमा गणना गर्ने गर्दछन् । यिनिहरुको थर विभाजन प्रणाली चाहिँ ठाउँअनुसार बेग्लाबेग्गै रहने गर्दछ अर्थात सोलुखुम्बुमा बसोबास गर्नेहरुको छुट्टै, ओलाङचुङगोलमा बसोबास गर्नेहरुको छुट्टै, तोप्केगोला र थुदाममा बसोबास गर्नेहरुको छुट्टै, चेपुवा, हटिया, चेमताङ र किमाथाङ्गामा बसोबास गर्नेहरुको छुट्टै, मनाङमा बसोबास गर्नेहरुको छुटै थर निर्धारण गरिएको हुन्छ । जहाँ बसेपनि यिनिहरुले अपनाउने पेशामा भनेचाहिँ समानता पाइने गर्दछ । सबैको मुख्य पेशा सटही व्यापार र पशुपालन हुने हुन्छ । पशुपालनमा यिनिहरु भेडा, च्याङ्ग्रा पाल्दछन् त्यस्तै व्यापारमा यिनिहरु जडीबुटी, माला तथा बालाहरु, स्थानीय घरेलु उत्पादनहरु पर्दछन् । विकट भेगमा रहेका अधिकांश भोटेहरु केही महिनाका लागि व्यापार तथा अन्य कामको सिलसिलामा मधेश झर्ने गर्दछन् र केही पैसाको जोहो गरी नुन, तेल लगायतका सामानहरु लिएर पुनः आफ्नो गाउँ फर्कने गर्दछन् ।

भोटे समुदायमा यदि युवायुवतिको मन मिलको छ भने विधीसंगत ढंगले विवाह गरिदिने गरिन्छ । केही ठाउँहरुमा सानै उमेरका केटाकेटीहरुलाई बाबुआमाले विधि पुर्याएर विवाह गरिदिने प्रचलन पनि रहि आएको छ । यिनिहरुको बहुपति विवाह प्रसङ्ग अत्यन्तै रोचक रहेको छ । त्यो केहो भने, दाजुभाइ धेरै भएको परिवारमा जेठो दाजुले सबैभन्दा पहिले विवाह गर्ने गर्दछ । जेठो दाजुले विवाह गरेर श्रीमती ल्याएपछि त्यी महिला त्यस घरमा जति दाजुभाइ छन् ती सबैकी श्रीमती हुन्छे । यसप्रकारको अनौठो प्रचलन खासगरी पूर्वको खुम्बु क्षेत्र र मुस्ताङ जिल्लामा रहेको बताइन्छ । प्राप्त स्रोतअनुसार व्यक्तिपिच्छे श्रीमती राख्दा अलग–अलग घर बनाउनुपर्ने, अलग–अलग भान्सा बनाउनुपर्ने, घर बनाउन पर्याप्त जमिन नहुने हुनाले त्यस्तो झन्झटबाट बच्न दाजुभाइ, आमाबुवाको मिलेमतोमा त्यस्तो प्रथा विकसित भएको बताइन्छ । यिनिहरुको समुदायमा हिन्दू समाजको जस्तो केटीहरुको सतित्व र कौमार्यलाई महत्व नदिइने बताइन्छ । यिनिहरुको साँस्कृतिक नाच तथा धार्मिक कार्यहरु पनि चाख लाग्दा रहेका छन्, फाल्गुण महिनामा मनाइने ‘ल्होछार’, आषाढ महिनामा मनाइने ‘रिमकु’, ‘पोटुक’, ‘योक्याटासी’ लगायतका पूजाहरु धुमधामका साथ मनाउने गर्दछन् ।

भोटे समुदायको मृत्यु संस्कार अत्यन्तै आश्चर्यजनक र फरक छ । यो जातिमा मानिस मर्दा गरिने अन्तिम संस्कार सायद नेपालमै अरुजातिसँग मिल्दैन होला । यिनिहरुको समुदायमा मान्छे मर्यो भने अन्तिम संकार गर्न लामाहरु बोलाउँदछन् । लामाहरुले मृत्तकको लासलाई आवश्यक कर्मकाण्ड सकी साईत हेरी गाड्ने, जलाउने वा टुक्राटुक्रा पारी गिद्ध वा चिललाई खुवाउने जे निर्णय दिन्छन् सोही अनुसार अन्त्येष्ठि कार्य सम्पन्न गर्ने गरिन्छ । प्राप्त स्रोतअनुसार गाड्ने, जलाउने लगायतका मृत्यू संस्कार प्रायः प्रत्येक जातिमा पाइए पनि लासलाई टुक्रा–टुक्रा पारेर गिद्ध वा चिललाई खुवाउने अनौठो प्रचलन यिनिहरुमा मात्र भएको बताइन्छ । यिनिहरु जुठो तथा बरखी बार्ने गर्दैनन् । अन्तिम संस्कारको कार्य सकिनासाथ यिनिहरुका सम्पूर्ण कार्यहरु यथावत् रुपमा चल्न थाल्दछन् ।

No comments: