Tuesday, February 22, 2011

मर्दा बन्दुक पड्काउने राईहरु


खासगरी 'राई Rais' जाति नभई पदवी हो । यता राई पदवी भएको थाहा पाएपछि अहिले संखुवासभा सभापोखरीका ५८ घरपरिवारका २ सय ५० जनाले जातिय पहिचान हराउन लागेको भन्दै राई थर परिवर्तन गर्ने बताएका छन् । उनिहरुले थर परिवर्तन गर्न राखेको मागप्रति जिल्ला प्रशासन कार्यालयले पनि सहमत भएको छ । उनिहरु राई थर परिवर्तन गरी वनेम लिम्बू लेख्न चाहन्छन् । संखुवासभाका करिब ५ सय घरपरिवार जातीय पहिचानको खोजीमा छन् । सो क्षेत्रमा लिम्बूहरु राई, राईहरु लिम्बू, शेर्पाहरु तामाङ्ग र तामाङ्गहरु शेर्पा थरबाट चिनिने गरेका छन् । यी सबै जातिको इच्छाअनुसार वास्तविक थर परिवर्तन गरिने प्रशासनले जनाएको छ । जनजाति महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद तामाङ्गका अनुसार थर परिवर्तनले जातिय हिसाबमा राई, लिम्बू, भोटे, शेर्पाको संख्या यकिन भएको थिएन । थर परिवर्तनपछि जनजातिका बिभिन्न थरको वास्तविक संख्या पत्ता लाग्नेछ ।

राई जातिमा अलग-अलग भाषा बोल्ने र अलग-अलग चालचलन रितिरिवाज भएका थरहरु पाइन्छन् । राईहरु कहाँबाट आएका हुन् भन्नेबारे अस्पष्ट छ । राईहरु को हुन - भन्नेमा विज्ञहरु अल्मलिएका छन् । नेपाली शब्दसागर शब्दकोषमा राई प्राचीन नेपाली भाषामा राजाहरुलाई बुझाउने कर्णाली प्रदेशको सम्मानबोधक शब्द, नेपालको किराँती एक जाति, प्राचीनकालमा सरकारी मालपोत वा तिरो उठाउने पदाधिकारी भन्ने उल्लेख छ । यिनीहरु नेपालका मूल बासिन्दा हुन भन्नेमा चाहिँ कुनै द्विविधा भने छैन । पौराणिक ग्रन्थहरुमा समेत किराँत शब्दको उल्लेख भएको र नेपालमा लिच्छवीहरुको शासनभन्दा पहिले किराँतहरुको शासन भएको तथ्यले पनि यसलाई पुष्टि गर्छ । तसर्थ राईहरु नेपालका आदिबासी हुन् ।

खासगरी राईहरुको मूलथलो पूर्वी पहाडको वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भएको बताइन्छ । अर्थात इलाम, पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ्ग र धनकुटा यिनीहरुको मूलथलो हो भन्न सकिन्छ । यसका साथै राईहरु सुनसरी, मोरङ्ग, झापा, सप्तरी लगायतका जिल्लाहरुमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन् । बि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ । त्यसैगरी बि.सं. २०५८ सालको जनगणनाअनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ ।

पहाडी क्षेत्रमा राईहरु घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागेअनुसार घर बनाउने गर्दछन् । यिनीहरु घरमा पूर्वतर्फएउटा र दक्षिणतर्फएउटा ढोका राखिएको हुन्छ । घरहरु अधिकांस दुईतले हुन्छन् । घरको छानो खर चित्राले छाइएको हुन्छ । गेरु र कमेरो माटोले घर लिपेका हुन्छन् ।

राईहरु प्रायः गरी सुँगुर तथा बँगुर पाल्ने गर्दछन् । यिनीहरु सुँगरका मासु अत्याधिक मात्रामा खाने गर्दछन् । जाँडरक्सी पिउने हुनाले यिनीहरुलाई 'मतुवाली' पनि भन्ने गरिन्छ । यिनीहरु आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरु लगाउँछन् । बान्तवा थरका राईमा रक्सी, बोकाको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ । जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने चलन पनि प्रशस्तै छ । यो जातिमा महिलाहरुले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला लगाएका हुन्छन् ।

राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन् । यिनीहरु गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन् । ओमाडाक, बिसू तथा धुले पूजाका समयमा आठपहरिया राईहरुले सात दिनसम्म समूहसमूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन् । यसमा बाजीसमेत राखिएको हुन्छ । तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरुमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन् । कुनै कुनै वयस्क तरुनीहरुले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रुपमा थापिदिने पनि गर्छन् । जित्नेहरु गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन् । त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्रीभरि जाँड, रक्सी, एउटा सँगुर, ७ रुपैयाँदाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ । हरेक राईहरुले कम्मरमा खुकुरी भिरेकै हुन्छन् । शहरमा बस्ने राईहरुमा भने यो प्रथा भेटिदैन ।

राई जातिका केटाकेटीहरुले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह गर्ने गर्दछन् । मायाप्रेमकै सिलसिलामा केही गरी केटीले पेट बोकिहालिछ भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ र यदि गरेनछ भने पनि सुत्केरी खर्च केटाले तिर्नुपर्छ । अन्य जातिमाझैँ यो जातिमा पनि विधवा भाउजु स्याहार्ने चलन छ ।

राईहरु पनि नेवार जस्तै भूतप्रेतमा विश्वास गर्छन् । राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन् । यो भूत चूल्हो, अगेँनो र राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन् । सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन् । त्यसैले कपाल दुख्न थाल्यो भने राईहरु कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन् । यस्तो कार्यलाई राई भाषामा 'टाङ ची' भनिन्छ । वान्ता भयो भने यसले हैजाको रुप पनि लिनसक्ने विश्वास गर्दछन् । राईहरुमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन् ।

राईको मृत्यू भएपछि बन्दुक पड्काउने चलन छ । बन्दुक पड्काउनाको कारण मलामी बोलाउनु हो । बन्दुकको आवाजले मानिसहरु जम्मा हुन्छन् भन्ने धारणा छ । मानिस मरेपछि मृतकलाई कतै जलाउने कतै गाड्ने गरिन्छ । मलामी जाँदा हातमा खुँडा, खुकुरी, बन्दुक, तरबार बोकेर हाहा...हुहु... गदै लैजाने चलन छ । जलाउने र गाड्ने काम सकिएपछि जाँड चढाउने चलन छ । गाडेको लासको मुखमा बाँसको नली राखिएको हुन्छ जसबाट दिनहुँ सात दिनसम्म बाहिरबाट जाँड हाल्ने चलन छ । यिनीहरु ३, ५, ७, १० दिनमा मरेको कर्मकाण्ड सक्ने गर्दछन् ।

No comments: