Sunday, February 1, 2009

नयाँ नेपालको नक्सा कोर्दै डा.बाबुराम भट्टराई


डा.बाबुराम भट्टराई : नयाँ नेपालको नक्सा कोर्दै
गोरखाको खोप्लाङ गा.वि.स.मा जन्मेको एउटा साधारण गाउँले केटो आज मुलुकको चर्चित राजनीतिज्ञको रुपमा कहलिएको छ । डा. बाबुराम भट्टराईलाई नचिन्ने कोही छैन । घर-स्कुल गर्न हरेक दिन दुई घण्टा लाग्ने यी मेधावी विद्यार्थी बाबुरामले सन् १९७० मा ७७ प्रतिशत अंक ल्याएर एसएलसीमा बोर्ड फस्ट भएका थिए । अमृत साइन्स क्याम्पसबाट आइएस्सीमा पनि राष्ट्रिय स्तरमै प्रथम भएपछि उनी कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत आर्किटेक्चर पढ्न भारतको चण्डीगढ गए । उनले सन् १९८६ मा दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट "क्षेत्रीय विकास आयोजना" विषयमा विद्यावारिधि गरे । विद्यार्थी जीवनका हरेक तहमा उनी उत्तिकै तीक्ष्ण र प्रतिभाशाली थिए । बाहिरबाट झट्ट हेर्दा अत्यन्तै चलाख, कठोर र विवादास्पद जस्तो लाग्ने यी नेता भित्री रुपमा उत्तिकै सरल, नरम र धैर्यवान छन् ।

वर्तमान अर्थमन्त्री बाबुरामको सक्रिय राजनीतिक जीवन आजभन्दा १८ वर्षअघि सन् १९९० बाट शुरु भयो । उनी त्यतिबेलै नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का प्रमुख नेता र तत्कालीन संयुक्त राष्ट्रिय जनआन्दोलनका प्रवक्ता थिए । उनी सन् १९९४ मा ने.क.पा. माओवादीमा प्रवेश गरी त्यसको दुई वर्षमै उक्त पार्टीलाई जनयुद्धतर्फ डोर्‍याउने प्रमुख नेताका रुपमा स्थापित भइसकेका थिए । त्यसपछि आजसम्म पनि मुलुकबाट सामन्तवाद अन्त्य गर्ने अभियानमा उनको सशक्त योगदान रहिआएको छ ।

मेरालागि सङ्गीतः

सङ्गीत एउटा यस्तो माध्यम हो जसले व्यक्तिमा सौन्दर्यानुभूति पैदा गर्दछ । सङ्गीतले मलाई अन्तरात्मासँग सम्बन्ध स्थापित गराउँछ ।

मन पर्ने सङ्गीतः

सामाजिक परिवर्तनका सन्देश भएको प्रगतिवादी गीत-सङ्गीततर्फ मेरो झुकाव छ । म राष्ट्रवादी भावनाले सजिएका गीत सुन्न रुचाउँछु ।

एउटा मन छुने गीत :

बलिदान चलचित्रको "गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ....." गीत ।

मनपर्ने बाजा :

भारतमा छँदा तवला मन पराउँथे तर मैले बजाइनँ । गाउँ फर्केपछि पन्चेबाजाको धुनमा रमाउन पाएको थिएँ । त्यसले मलाई बाल्यकालमा जस्तै आकषिर्त गर्‍यो र अहिले पनि मलाई यो बाजा मन पर्छ ।

सङ्गीतिक प्रेरणा :

मेरी पत्नी हिसिला यमी । म कलेजका दिनहरुमा बढी वैरागी पाराको थिएँ । हिसिला भने बहिर्मुखी र हाँसो-ठट्टा मन पराउने स्वभावकी थिइन् । उनी गीत-सङ्गीतकी पारखी हुन् । म उनीसँगै सङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुन्थेँ। त्यसै क्रममा मभित्र पनि सङ्गीतिक अभिरुचि बढेको हो ।

नयाँ नेपालको मेरो परिभाषा :

नयाँ नेपाल हरेक आयाममा सबल र गतिशील हुनुपर्छ । नयाँ नेपालका नागरिक सचेत र स्वाधीन हुनुपर्छ । उनीहरु सामाजिक रुपान्तरण, आर्थिक प्रगति र सेवामुखी राज्यप्रणालीमा समाहित हुन सक्नुपर्छ । उपेक्षित र सीमान्तीकृत जनताका आवाज सुनिनु पर्छ । शिक्षा र सामाजिक जानरणबाट परिवर्तन आउनुपर्छ । सरकारको नेतृत्वमा स्पष्ट दृष्टिकोणयुक्त व्यक्त हुनुपर्छ जसले मुलुकलाई अग्रगति दिन सकोस् । सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक विकास हुनुपर्छ किनभने यो नै सबै क्षेत्रको विकासको मूल आधार हो ।

सङ्गीतको शक्ति :

सङ्गीत यस अर्थमा पनि महत्वपूर्ण छ कि यसले आम सर्वसाधारणमा ठूलो प्रभाव पार्छ । यसले जनतामा उत्प्रेरणा पैदा गर्छ र यो सन्देश-प्रवाहको सशक्त माध्यम पनि हो । सङ्गीतले हाम्रो जनयुद्धलाई अघि बढाउन ठूलो भूमिका निर्वाह गरेको छ खासगरी हामीलाई बुलेटदेखि ब्यालेटसम्म आइपुग्न । अन्याय र असमानताका विरुद्ध लड्न पनि सङ्गीतले ठूलो बल पुर्‍याएको छ ।

नयाँ नेपालका लागि गीतहरु :

हाम्रो क्रान्ति सकिएको छैन । हामी अझै संरचनागत परिवर्तन र सामाजिक-आर्थिक रुपान्तरणकै बाटामा छौं । त्यसैले नयाँ नेपालका लागि पनि मेरो छनौटको गीत-सङ्गीत क्रान्तिकारी नै हुनेछ । अहिलेको अवस्थामा "एक जुगमा एक दिन एक चोटि आउँछ, उलट-पुलट उथल-पुथल हेरफेर ल्याउँछ ...." जस्ता गीतहरु उपयुक्त छन् । यस्ता क्रान्ति पटक-पटक भइरहँदैनन् । राजतन्त्र अन्त्य हुन २ सय ४० वर्ष लाग्यो र बल अब हामी नेपाली जनताको हातमा छ । त्यसैले मुलुकलाई समृद्ध बनाउने जिम्मा पनि हाम्रै हो ।

अहिलेको राष्ट्रिय गीत :

सङ्गीत र लयका दृष्टिले अझ सशक्त हुन सकेको भए झन् राम्रो हुने थियो ।

राजनीतिबाहेक :

म किताबहरु पढ्न मन पराउँछु । म माक्र्सवादको विद्यार्थी भएकाले कार्ल माक्र्सका किताबहरु पढ्न रुचाउँछु । विज्ञान, ज्योतिषशास्त्र र कस्मो-फिजिक्सका पुस्तक पनि मन पराउँछु, आख्यानहरु

हैन ।

सफलताको सूत्रः

विचारको शुद्धता, उद्देश्यको ज्ञान र परिश्रम ।

म :-

इमान्दार, तर्कसम्मत र स्पष्ट दृष्टिकोणयुक्त ।

No comments: