Sunday, February 22, 2015

रोल्पा एक्सप्रेस
'अदालत उही। सिंहदरबार उही। उही बालुवाटार। उही अनुहार भद्रकालीको,' गाडीभित्र र बाहिर झरेका बोलीको भोलुम क्रमशः बढ्दैथियो, 'सबै रंगका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी। चल्छ, आँधी। फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला।'
...
३१ वर्षीय रोल्पाली लालधन रोका मगर उर्फ कमरेड हुरी घाइते हुन्। घोराही आक्रमणको बेला टाउकोमा छर्रा लागेर पहिलोपालि घाइते भएका थिए। त्यसपछि दोस्रोचोटिको खारा लडाइँमा दाया खुटामा एट्टीवनको छर्रा लाग्यो। मृत्युको मुखबाट बल्लबल्ल फर्केका उनी त्यस दिनदेखि पाइला फाल्दा ढिकी कुटेजस्तो हुन्छ।
उनका जेठा दाजु बलबहादुरलाई सुरक्षाफौजले स्कुलबाट भारी बोकाएर लगेपछि घर फर्केनन्। सुरक्षाफौजले नै घरमा पनि बनमा पनि बस्न नदिएपछि उनको सपरिवार नै कमरेड भयो। माहिला दाजु किर्सनधन सात पढ्दापढ्दै कमरेड ज्वाला भए र उनी कमरेड हुरी। उनका माहिला दाजु, दिदी र बहिनीले पार्टीमै बिहे गरे। बिहे भएको तीन महिनापछि नै उनले कमरेड जेनीलाई म्याग्दी सदरमुकाम बेनी आक्रमणमा गुमाए। सहिदपति भएको दुई बर्षपछि सहिदपत्नी कमरेड नमूनासित उनले बिहे गरे।
एक दिन त कसो नफर्केला भनी बलबहादुरलाई बाटो हेरेर उनको परिवारले अहिलेसम्म काजकिरिया गरेको छैन। आशैआशमा उनकी आमा दिलपुरा पोहोर हिउँदमा माथि गइन्।
सग्लो जिउका उनका धेरै कमरेड जनयुद्धमा उब्रेको उमेर बोकेर साउदी अरब र मलेसिया उडे। बाँकी कमरेड उनीजस्तै न गरी खाने न मरी जानेकै बीचमा भौतारिइरहेका छन्। केही कमरेड ससाना पेशामा अल्झने कोशिस गरेका छन्। केही थान कमरेडचाहिँ माओवादीले नै शोषक र सामन्त पदवी दिएकाका ठाउँमा उपरखुट्टी लाएर बसेका छन्। र, तिनले पार्टी हेडक्वाटरको 'नेपालमा राजनीतिक क्रान्ति सकियो' भन्ने मन्त्र जप्दै कहिले सदरमुकाम लिबाङ त कहिले काठमाडौं धाएका छन्।्
कमरेड हुरी अलमलमा छन्। उनको हेडक्वाटरले नै पूरा भयो भनेको राजनीतिक क्रान्ति रोल्पा नपुगी कहाँ अलमलियो?
खसोखास आफ्नै आँखाले हेर्न उनी काठमाडौं पुगेका छन्।
...
कलंकीबाट रत्नपार्क गुडेको गाडी पाँच मिनेटपछि जाममा फस्यो। हेर्दाहेर्दै सडकवारिपारि सेना र पुलिसले भरिए।
'राजाको सवारीजामजस्तो छ त?'
यात्रु एकापसमा मुखामुख गरे।
थाहा भयोः राष्टपतिको सवारी। राजाको मन्दिर धाउने परम्परा धान्न राष्टपतिको सवारी चलेको रहेछ। बसमा यात्रुले भने कि बिहानचाहिँ प्रधानमन्त्रीको सवारी जाम थियो।
झण्डै तीन घण्टा लामो जामपछि साइरनसहित पिलिक्कपिलिक्क बत्ती बाल्दै गाडीको लस्कर लाग्यो। र, सवारी घन्केपछि बल्ल बाटो खुल्यो।
राजा हुनु र नहुनु'मा सर्वसाधारणका दैनिक जीवनमा आएको तलमाथि भेट्न खोजे। नभेटेपछि कमरेड हुरी हलाक् भए।
जाम खुलेपछि गुड्दैजाँदा भद्रकालीअगाडि गाडी अर्को जाममा फस्यो। योचाहिँ सवारी जाम थिएन। जाममा परेको बेला उनको आँखा भद्रकालीमा अल्भि्कयो। यसअघिको मन्दिरमात्र देखे। मन्दिर, गुम्बा, मस्जिद, चर्च जाने सबै नेपालीको साझा हुनुपर्ने भद्रकालीमा मन्दिर मात्र देखेर उनको मन झस्कियो।
'होइन के फेर्रियो त,' मनमनै आफूलाई सोधे। झ्वाट्ट अर्को मनले भन्यो, 'सिंहदरबार फेरियो कि?'
हेर्नलाई उनका आँखा खसखसाए। बाँकी कुरा केही पनि सोचेनन्। बस्, उनलाई हेर्नु थियो, छिटो भन्दा छिटो राजनीतिक परिवर्तनपछिको सिंहदरबार।
...
थानकोट इँटाभटामा काम गर्न आएका छिमेकीकहाँ रात बिताएर भोलिपल्ट सिंहदरबार पुग्दा यस्तै सवा ११ बज्दैथियो। उनले भेटे, सेनापुलिसले घेरिएको पुरानै सिंहदरबार। सम्हाल्न कोशिस गरे, 'ठूलो राजनीतिक परिवर्तनपछि अलिकति तलमाथि त कसो नभएको होला र?'
को मु... भोटे हो?'
उनको मंगोल अनुहारलाई हेपेको चर्को स्वर उनको कानमा बज्यो। उनलाई भारतको शिमलामा 'गोर्खे बाँदर' भनेर गरेको अपमानजत्तिकै चर्को थियो त्यो स्वर। आफ्नै मुलुकमा गरिएको अपमानप्रति किन हो कुन्नि? गहिरोगरी बिझ्यो। मुश्किलले रिसलाई पैतलामुनि अचेट्दै भने, 'ङा कम्रेट हुरी। ङा रोल्पा ला।'
आफ्नै मातृभाषा खाम (अठार मगरातको मगर भाषा) मा रोल्पाको कमरेड हुरी भनेको सिंहदरबारले बुझेन।
'मु...मा..भोटेले के भन्छ,' एकजना बूढेले यसअघिको 'मु..' मा 'मा...' पनि थपेर भने। र, एकै गाँस पार्लान्जसरी झपराइको मात्रा बढाए।
'सिंहदरबार भनेर हेर्न आया हम् ब,' उनले नेपाली भाषाकै रोल्पाली लवजमा भने। रोल्पाली लवजको नेपाली भाषा बुझ्ने पनि भेटेनन्।
'ऐ तेर्रिमा...मु..हाम्रो नेपाली भाषामा बोल् न,' हप्काइको पारो अक्कासियो।
उनले जानेको मगर भाषा र रोल्पाली लवजको नेपाली भाषा मात्र थियो। यताउता हेरे, उनको भाषा बुझ्ने र उनीजस्ता गरिब खलकका कोही देखेनन्।
सिंहदरबार पस्न उनीसित पास थिएन। सिंहदरबारभित्रबाट आफ्नो मान्छेले पास पठाइदिनुपर्ने प्रावधान उनले थाहा पाए। उनको कोही भए पो पास पाउनु।
'हाम्जस्ता गौले र गरिप्गुर्बा भित्र छिर्न सक्तैनम्?'
रोल्पाली लवजमा सोधेको कसैले नबुझेपछि हातको इशाराले फेरि सोधे। उनको अनुहार र उनको गरिब बर्गको जीवनशैली झल्काउने लगाएको लुगा हेरेर हातकै इशाराले जबाफ पाए, 'भित्र पस्न पाइन्न।'
अध्यक्ष प्रचण्ड रोल्पामा रहँदासम्म अध्यक्षको सुरक्षामा खटिएको जनमुक्ति सेनाको टोलीमा थिए, कमरेड हुरी। शिविरमा बसेपछि पार्टीले उनलाई पार्टीमा काम गर्न पठायो। माओवादीमा लागेपछि दुईचार कुरा भए पनि बोल्न जानेका कमरेड हुरी छक्कापन्जा गर्नतिर कहिल्यै लागेनन्। त्यसैले केही भइहाल्छ कि भनेर पर्खी बसे। र, आखिरीमा सोधे, 'कोस्को हो तो यो सिंहदरबार?'
रोल्पाली लवजमा सोधेको कसैले नबुझेपछि फेरि हातकै इशाराले सिंहदरबार कसको हो भनी सोधे। कोही बोलेनन्।
गाडीमा सिंहदरबारभित्र र बाहिर गरिरहेका थिए, रामप्रसाद कोइराला, चुडामणि पौडेल, कृष्णहरि खनाल, भानुभक्त उपाध्याय, रामप्रसाद दाहाल, प्रद्युम्नशमसेर जबरा, कृष्णकिशोर नेपाल र प्रसन्नविक्रम शाह। सिंहदरबारको माथिल्लो तलाको नीति बनाउने कुर्सीमा सिंहदरबारमा बर्षौंदेखि गुड लाएर बसेकाका खलक मात्र थिए।
सिंहदरबार गेटअगाडि भित्रबाहिर गर्नेलाई हेरिरहेको बेला केही थान पत्रकार पुगे।
'रिरुमा सीएम कम्रेटले रास्नीतिक करान्ति सक्क्योे भनी फुक्या थे। हामी गरिप्को नि दिन आइगिछ भन्कन खुबई रमाइम्। तर, रोल्पाको हाम्रो गौमा अझै पुगेन। कहाँ अलमल परो भनिकन निजो खबर बुझ्न आहम् ब,' पत्रकारले सोधेपछि उनले रोल्पाली लवजमा भने, 'दोर्सो खारा मोर्चामा लागेको एट्टीवनको छर्रामध्ये चारवटा अझै झिकेको छैन। हेर्नुस् तो, दाइने खुट्टाले नाम्ररी टेक्न मान्दैन।'
कमरेड हुरीको बोली नसकिदै एउटा गाडी सिंहदरबार गेटमा पुग्यो। पत्रकारले गाडीमा सवार कमरेड अशोक (काठमाडौंमा आएपछि नारायणप्रसाद उपाध्याय) लाई देखाउँदै भने, 'तपाईंका कमरेड त भित्र छिरे।'
'अझ्झी हो र?'
झस्केर छिटोछिटो नजर लगाए, गाडीको शिशाबाहिरबाट। उनका कमरेड 'सर' भइसकेका थिए। आफ्नै कमरेडलाई चिन्न नसकेकोमा चुकचुकाए।
ठीक त्यसैबेला उनलाई पत्रकारले सुनाए, अहिलेका घरमुली सुशील कोइरालासहित मोहनशमशेर, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराईका नाउँ। त्यसपछि उनलाई सोधे, 'यीमध्ये कोहीसित नाता लाग्छ?'
'सीएम कम्रेटसत ता बर्गीय नाता छ। रोल्पामा बस्दा गरिप्को वर्गको हुँ भन्थे ब सीएमले,' आफ्नो अध्यक्ष प्रचण्ड आफूहरुजस्तै गरिब र दुखी बर्गको उनले फ्याट्ट भने। कमरेड हुरीको जबाफ सुनेर पत्रकारले खित्का छाडे। किन खित्का छाडे भनेर उनी एकपालि फेरि गम खाए। त्यसपछि उनले जानेका र चिनेका नाउँ सम्भि्कएः लाममति पुन, जैसरा रोका, फौदबहादुर दमाई, जोखबहादुर घर्ती, लालबहादुर मेचे, पहरु थारु, जुक्तबहादुर चेपाङ, दोर्जे तामाङ, सुकधन राई, लोकवीर तुम्बापो, छिमी लामा, धनवीर ठगुन्ना, भक्त पासवान आदि।
उनका मनमा आएका उनीजस्तै गरिब कोही पनि सिंहदरबारमा नदेखेपछि यसअघिको सिंहदरबारजस्तै बिरानो लाग्यो। त्यसपछि उनका पाइला अनायास सिंहदरबारसित जोडिएको अदालततिर सोझिए। एक मनले भन्यो, 'अदालत त कसो नफेरिएको होला र?'
...
सर्वोच्च अदालत पुग्नेबित्तिकै देखे उही मुलुकी ऐन। र, अदालतभित्रबाहिर गरिरहेका राजा महेन्द्रसित आएका वर्णशंकर अनुहार। राजनीतिक परिवर्तनपछि पनि सबै ठाउँमा शाह, राणा र तिनका पुरेतखलकसहित हुनेखानेका मात्र बिर्ता देखेर हलाक् परे। उनको भाषा र मन बुझ्ने कोही भेटेनन्।
कहाँनेर टेक्ने हो? पाइला राख्ने ठाउँ खोजे। भेटेनन्। उभिएर हाँस्ने, खेल्ने र बोल्ने त परै छ।
एकछिन टोलाए, सर्वोच्च अदालतसित जोडिएको पुरातत्व विभागनेर। त्यसपछि बर्खामासको माडीखोला भन्दा मुश्किलले सडक तरेर कृषि बिकास बैंकनेर उभिए। अनि घरी हेरे पुरातत्व विभागलाई घरी सर्वोच्च अदालतलाई।
हेर्दाहेर्दै उनले झ्वाट्ट सम्भि्कए, आफ्नो तीनपुस्ते भविष्यसहित जिन्दगीका सम्पूर्ण सिरिखुरी धरेको माओवादी पार्टी अनि त्यसको हेडक्वाटरलाई।
जाने मन पलायो। लागे माओवादी हेडक्वाटर निवासतिर।
...
'सिएम कम्रेटको निवासअग्गेड छु त म? उभिएको हाम्रो हेडक्वाटर हो?'
उनका आँखा तिर्मिराए। आफूलाई चिमुटे। र, सामान्य अवस्थामा ल्याउने प्रयास गरे।
'रोल्पाबट आया हम् ब, सिएम कम्रेटलाई एकफेरा भेटम् भन्कन,' रोल्पाली लवजमा यति भन्दै घर वरपर नजर डुलाए।
'रोल्पा नपुगी करान्ति काँ अलमल भो,' कसैले नसोधिकनै आफैले भने। यताउति हेरिरहेको बेला कहाँ देखेजस्तो एकजना खाइलाग्दा मान्छे निक्लिए। सलाम सीएम कम्रेट भनी अनायास उठेको उनको दाया हात माथि नपुग्दै देखेजस्तो लाग्दालाग्दै ती मान्छे मिलिक्क भए। उनका अघिपछि सेनापुलिस थिए।
'सीएम कमरेड कार्यक्रममा जानुभयो त,' एकजनाले भने।
'अझ्झि, हो र?' उनी झसंग भए।
बाहिरिने ती मान्छे उनलाई घरी आफ्नै सिएम हुन्जस्तो लाग्यो घरी होइनन्जस्तो पनि। साँच्ची अलमलमा परे। उनले आफूलाई सोधे, 'मलई यो आँखाले धोका दियो कि पार्टी हेडक्वाटरले?'
उनले जति प्रयास गरे पनि छुट्याउन सकेनन्। उनको आँखाले आफ्नै सीएम कमरेडलाई घरी केपी ओली देख्यो घरी सुशील कोइराला।
त्यसपछि उनलाई भोक लागेजस्तो न प्यास लागेजस्तो भयो। छटपटी भयो। आफूलाई थाम्न नसकेपछि उनी थचक्क बसे। एकछिन आँखा चिम्लिए। त्यसैबेला उनका आँखामा जुलुस आयो, सहिद, बेपत्ता, घाइते र जनयुद्धमा सिरीखुरी धरेका अबोध कार्यकर्ता र तिनका अलपत्र परिवारका। अनि क्रमशः पुराना याम आए जुन याममा भोलि झुल्ने घाम सम्झी झरीमा उनीजस्तै धेरैजना भिजेका थिए। नेतालाई घरको बैकलमा लुकाएर सेन्टरी बसेका रात आए। आफूहरुले मासुभात खान दसैतिहार कुरे पनि 'देश खोजी बगाल रोजी' गदिरे भालेसित भात खुवाएका याम आए। मकै खाजा चपाउँदा पनि दुश्मनले सुन्ला भनी सुस्तरी चपाउँदै पार्टी नेतृत्वलाई चाहिँ गहुँको रोटी खुवाएका विगत आए। नेतृत्व बँचे न क्रान्ति हुन्छ अनि देशको मुहारसित गरिबका पनि मुहार फेरिन्छ आफू लुगलुग काँप्दै नेतालाई सिरक खपाइदिएका रात आए।
'सीएम कम्रेटले काटमुन्नु फेर्छु भन्थे। बड्डालई काटमुन्नुले फेरेछ। तेसै बड्डाले भन्यारैन्छन्, नेपाल्मा रास्नीतिक करान्ती सक्क्यो,' आफूलाई भन्दा भरोसा गरेको पार्टी हेडक्वाटर अनचिनार लागेपछि उनको मनले भन्यो, 'मूल नै धमिलिएछ र पो तल धमिलो बगेछ।'
के सम्झेर कुन्नि? उनी जुरुक्क उठे। हेडक्वाटरलाई एकपालि फरक्क फर्की हेरी छिटोछिटो बाटो लागे।
....
साइनबोर्डमात्र फेरिएको भेटे। उनीजस्ता गरिब, दुखी र इमान्दारका जिन्दगीमा कुनै मौसम फेरिएको भेटेनन्। उनको अनुहार र बर्गले अपनत्वबोध गरेर पाइला राख्ने ठाउँ काठमाडौंमा कहीँ भेटेनन्।
सडकमा जति पाइला फाले उति आए उनका आँखामाः गरिबको रहर एकबार कसो नफुल्ला भनी जिन्दगीका सिरीखुरी धरेका बेदाग अनुहार। अरबको खाडीमा भेडा चराइरहेका र भारतका गल्लीमा चौकीदारी गरिरहेका अबोध आँखा आए। उनका बेपत्ता दाजु, उनका सहिदपत्नी जेनीसहित धेरै तन्नेरी आए।
'मेर्दाजु र मेर्जोईले करान्तीमा बगाएको खुन कुकुरको मूत भो त?'
आफ्नो दाजु र श्रीमतीले बगाएको रगतको मूल्य सम्झेर उनी झस्किए। लेखिएको थियो, गणतन्त्र र धर्मनिरपेक्ष नेपाल। हो, त नेपाल गणतन्त्र भयो। धर्मनिरपेक्ष भयो।
अनि आफूजस्तै गरिब र सीमान्तकृत अनुहारलाई। उनै दुईचारबाहेक बाँकीका जीवनशैलीमा तात्विक फरक भेटेनन्।
'आब काँ जाने तो?'
उनको जिउ सर्सरायो। एकतमासले आङ तातेजस्तो भयो। त्यसपछि हिंडे। हिंड्दाहिंड्दै उनका बाले भनेको सम्भि्कए, 'कि आँटले खायो कि ढाँटले।'
ढिकी कुटेजसरी भए पनि दगुरे। रोल्पा लेखेको एउटा गाडी मात्र देखे। सबै रंगका अनुहार र गरिखाने मान्छे पनि आफूखुसी हाँस्न र रुन पाउने रंगीन नेपाल बनाउन गुडेको उक्त गाडी कमरेड हुरीका केही थान नेतालाई बालुवाटार र सिहदरवार पुयाएपछि अलपत्र छाडिएको थियो।
'रोल्पा' देख्नेबित्तिकै अनायास उनका आँखा हतारहतारमा बसमा चढेका र चढ्न लागेका अनुहारमा बल्झिए।
देखे, उनका जस्तै चिसा आँखा। देखे, कोही आमा गुमाएका त कोही दाजु गुमाएका त कोही शरीरको अंग गुमाएका त कोही काठमाडौंका इँटाभट्टाबाट फर्केका त कोही भारत, साउदी अरब, मलेसियाबाट। कतिखेर गुड्ला भनी पर्खिरहेका आतुर अनुहार।

No comments: