Tuesday, February 22, 2011

कलेजो हेरेर शकुन–अपशकुन छुट्याउने गुरुङहरु



छोटा–मोटा पिडौला, नयन, नङ्ग नसा केही भित्रै गएका, गला केही उठेका, गर्धन पिठ्युँ, छाती चेप्टो भएका गुरुङहरुलाई ‘तमु’ पनि भनिन्छ । अन्नपूर्ण, मनास्लु पर्वतको दक्षिणी भू–भाग र गण्डकी प्रदेशमा मुख्य बसोबास क्षेत्र भएका गुरुङहरु आफुलाई ‘तमु’ भनेको रुचाउँछन् । यिनिहरुको मौलिक भाषामा ‘तमु’ भनेको ‘फलामको हतियार अथवा बन्चरो धारण गर्ने लडाका’ भन्ने हुन्छ । यिनिहरुको अनुहार मगर र थकालीहरुसँग मिल्ने गर्दछ । यिनिहरुको भाषा तिब्बतबर्मेली हो । ‘गुरुङ भाषा’ तामाङ भाषा र थकाली भाषाको बीचमा अति नजिकको सम्बन्ध रहेको बताइन्छ । गुरुङहरुको आफ्नो भाषामा केही समस्या पर्यो भने त्यसको समाधानका लागि सहोदर तामाङ भाषाको साहारा लिने गर्छन् र त्यसबाट पनि समस्या सुल्झिएन भने तिब्बती भाषाको सहयोग लिने गर्छन् ।


वि.सं. २०५८ सालको जनगणनाअनुसार ५ लाख ४३ हजार ५ सय ७१ जनसंख्यामा रहेका गुरुङ महिलाहरु मखमलको चोलो, जामा, मुगाको माला र सुनका गहना लगाउँछन् त्यस्तै पुरुषहरु शीरमा कालो टोपी, गादो पारेको कछाड, इस्टकोट लगाउँछन् । आजकल पश्चिमेली संस्कृति र बढ्दो आधुनिकताको प्रभावले गुरुङ युवायुवतिहरु आफ्नो जातिय पोशाक(भेषभूषा)लगाउन चासो नदिएकोमा गुरुङ सँस्कृति र पहिचान संरक्षणमा लागेकाहरु दुःखेसो व्यक्त गर्ने गर्छन् । गुरुङ समुदायमा चार जाते(घले, घोदाने, लामा, लामिछाने) र सोह्र जाते(घ्याब्रे, क्यावछे, कुरुमछे, जिंग्रे, धोर्जे, दोर्जाली, रिमाली, फोज, चोर्मी, पोम, थि, भिगी, पैजी, खत्रा, योज, खोलाली) हुन्छन् भनिएपनि आफुहरुमा ‘सानो र ठूलो जात’ भन्ने नरहेको बताउँछन् । सानो जात र ठूलो जातको खोल ओढाएर हिन्दुशासकहरुले आफुहरुलाई टकराव पैदा गराउनका लागि र नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि निराधार र कु–नियतवश फैलाएका कुराहरु मात्रै भएको पुष्टी गर्छन् ।
यिनिहरुले हालका दिनमा सैन्य सेवालाई प्रमुख पेशा बनाएता पनि यिनिहरुको मुख्य पेशा कृषि र पशुपालन नै हो । हाल यिनिहरु नेपाली सेना, भारतीय सेना, र ब्रिटिस सेनामा बढ्दो संख्याले भर्ती भईराखेका छन् । यिनिहरु सैन्य सेवाबाट आर्जित रकमले जग्गा जमिन खरीद गर्ने गर्छन् र त्यसमा खेतीपानी गर्ने गर्छन् । खेतीमा धान, मकै, कोदो, जौ, आलु यिनिहरुको मुख्य अन्नबाली हुने गर्दछ । यिनिहरु राडी, काम्लो पनि बुन्ने गर्छन् । पहाडी तथा हिमाली भेगका गुरुङहरु ऊन उत्पादन र मासुका लागि ठूलो संख्यामा भेडा पाल्ने गर्दछन् र भेडा चराउन वर्षातको समयमा हिमालीक्षेत्रतर्फ र हिउँदोको समयमा न्यानो ठाउँतर्फ लैजान्छन् । चैत लागेपछि मात्र फर्किन सुरु गर्छन् । वैशाख र असोज महिनामा भेडाका भुत्ला काटेर ऊन उत्पादन गर्छन् । घाटु, सोंरठी र रोदी नाचसँगै यिनिहरु ल्होछार चाड पनि धुमधामसँग मनाउने गर्छन् । ल्होछार भनेको ‘नयाँ वर्ष’ हो । यो प्रत्येक वर्षको पौष १५ गते मनाउने गर्छन्, यतिखेर वर्षभरिको लामो दिन हुने गर्दछ । यिनिहरु ल्होछारलाई १२ वटा जीवजन्तुमा विभक्त पारेर मनाउने गर्छन् । प्रत्येक वर्षमा एउटा जनावर ल्होछारको प्रतिक हुने गर्दछ । जसमा तो–ल्हो(बाघ वर्ग), हि–ल्हो(बिरालो वर्ग), मुप्रि–ल्हो(गरुड वर्ग), सप्रि–ल्हो(सर्प वर्ग), त–ल्हो(घोडा वर्ग), ल्हु–ल्हो(भेडा वर्ग), प्र–ल्हो(बाँदर वर्ग), च्ह्या–ल्हो(चरा वर्ग), खि–ल्हो(कुकुर वर्ग), फो–ल्हो(मृग वर्ग), च्यु–ल्हो(मुसा वर्ग), ल्वो–ल्हो(गाई वर्ग) पर्दछन् । यिनिहरु तिहारमा देउसी–भैलो खेलेर सँगालेको धान, चामल, पैसाले स्योकैं(सहभोज) खाएर ल्होछार बनाउने गर्छन् । यदि तिहारमा देउँसी भैलो खेलेको छैन भने चेलीबेटीले आ–आफ्नो घरबाट चामल र रक्सी उठाउने र माईतीले घ्यू, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासुभात खाई ल्होछार चाड मनाउने गर्छन् तर स्योकैं खाएर मात्र ल्होछारको सार्थकता रहँदैन । विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपर्युक्त अगुवाई र ज्योतिषीले शुभमुहूर्त विचार गरी पुरोहितहरुले स्वस्तिशान्तिको कर्म गर्न अत्यन्त आवश्यक हुन्छ । गुरुङ समाजले ‘पज्यु’, ‘ल्हयेवृँ’, ‘लम’ गरी तीन वर्गका पुरोहितलाई विभिन्न कर्मकाण्ड गर्न मान्यता दिएको छ । पज्यु अथवा झाँक्रीबाट ‘था क्यारव’ कर्म गरेर भूत, प्रेत र दोख–दोखालो मन्साउने काम, ‘ल्हयेबृँ’ अथवा घ्याबृँबाट ‘थासोँ’ फालेर साँज वा साँदु पूजा गरेर स्वस्तिशान्ति गर्ने काम, ‘लम’ अथवा लामाबाट आयु साधन गरी सह बटुलेर धन ऐश्वर्य वृद्धि गराउने काम गरी ल्होछारको दिनमा सबैले आ–आफ्नो ग्रहशान्ति र कुशल–मंगल प्राप्तीका लागि घ्यूको बत्ती बालेर चोखोपानी, अक्षता र अन्य चोखो खानेकुरा चढाई धूपीको धुप बालेर सिमे–भूमे, मातृ–पितृ र कुलदेवताको पूजाआजा गर्ने गर्छन त्यसपछि आफ्ना मान्यजनहरुलाई मानमतिनो र ढोगभेट गर्ने गर्छन् । मान्यजनहरुले पुरुषहरुलाई बेसारमा मलेको नौसरा, नौ गाँठो र महिलाहरुलाई सातसरा, साता गाँठोको ‘प्हैव’अर्थात ‘रुपको डोरो’ लगाईदिएर शुभआशिष र आँशिमलाँ(शुभकामना) दिने गर्छन् ।

यिनिहरुमा पाएसम्म चारजातेले चारजातेभित्रै र सोह्रजातेले सोह्रजातेभित्रै विवाह गर्ने चलन रहेको छ । यदि आफ्नै जातकी दुलाहा–दुलही नभेटिए विधि–विधानअनुसार नियम पुर्याई अन्यत्रबाट पनि गर्न पाउँछन् । यिनिहरुको मामा–चेली र फुपू–चेलीमा पनि बिवाह हुन्छ । यदि नगरेमा ३० रुपैयाँ जरिवाना गरिने बताइएको छ । बिवाह भएको केहीदिनपछि दुलही माईत जान्छे । छोराछोरी भएमा मात्र स्थायी रुपले घरमा बस्छे । सन्तान भएको १÷२ वर्ष यिनिहरु एक उत्सव गर्छन् र भोज खान्छन् । यिनिहरुले परम्परादेखि सिल्दोनाल्दो अर्थात् सिमेभुमेलाई आफ्नो रुक्षकका रुपमा मान्दै आएका छन् । यिनिहरु वरिपरि डाँडाकाँडा, नदिनाला आदि प्राकृतिक स्रोतलाई पनि रक्षकका रुपमा मान्दै मासु र रगत चढाएर पूजा गर्ने गर्छन् तर मन्दीरमा गएर पशुबलि भने गर्दैनन् । देवतालाई बलि दिएको पशुको कलेजो हेरेर यिनिहरुले शकुन–अपशकुन छुट्याउने गर्छन् भनिन्छ । यो यिनिहरुको अत्यन्तै चाखलाग्दो परम्परा मानिन्छ । तर यो कहाँसम्म सत्य हो सो कहीँ पनि खुलस्त रुपमा भनिएको छैन । यिनिहरु मृत्तकको अन्तिम संस्कार गर्दा ग्रहनक्षत्र हेरेर मात्र गर्छन् र त्यसैअनुसार मुर्दालाई जाड्ने वा जलाउने निश्चित हुने गर्दछ । यिनिहरुले मुर्दा गाड्नलाई साझा चिहान छुट्याएका हुन्छन् । यिनिहरुमा पनि १३ औं दिनसम्म जुठो बार्ने गरिन्छ ।

No comments: