Tuesday, February 22, 2011

बच्चालाई ठूलीआमाको दुध खुवाउने चेपाङहरु



चेपाङ जातिलाई प्रजा पनि भनिने गरिन्छ । चेपाङहरु को हुन्, यिनीहरु कहाँबाट आए, यिनीहरुको मूल थलो कहाँ हो ? भन्ने प्रश्नहरु अनुत्तरित हुने गर्दछ । विज्ञहरुको आ–आफ्नै परिभाषा छ । चेपाङहरुको मुख्य बसोबास भएको जिल्लाहरुमा मकवानपुर, धादिङ, गोरखा, लमजुङ, बारा, पर्सा र चितवन हुन् । यिनीहरु प्रायः पहाडका अत्यन्तै अप्ठ्यारा र भिराला पाखाहरुमा बसोबास गर्न रुचाउँछन् ।
चेपाङका किम्वदन्ती :

चेपाङहरुका विम्वदन्ती बढो रोचक रहेको छ । चेपाङहरु ‘चेवन’ ऋषिका ठिमाहा सन्तान हुन् रे । चेवनका सन्तान भएकोले चेवन–चोवन–चेवाङ हुँदै चेपाङ भएका हुन् रे । अर्को किम्वदन्ती अनुसार एउटी अविवाहित केटीले अपरिचित व्यक्तिबाट अनैतिक यौन सम्बन्ध स्थापित गरी एक सन्तान जन्माइन् र आफू त्यो दोषबाट बच्नका लागि उक्त बच्चालाई जंगलमा फाली ढुङ्गाले छोपी छोडेर गइछन् तर उक्त बच्चा संयोगवश बचेर ठूलो भयो र पछि त्यसको नाम च्यापिएको ठाउँबाट निकालेको भनि ‘चेपाङ’ राखियो ।

चेपाङहरु मंगोलियन आकृतिका हुन्छन् । चेपाङ र तामाङहरु छुट्याउनै गाह्रो हुन्छ । मझौला कद, नाक थेप्चो परेको र सानो ठूलो अनुहार गहुँगोरो वर्ण, फूर्तिलो शरीर यहि नै यिनीहरुको शारिरीक बनावट हो । चेपाङ जातिमा कछारे र पुकुन्थली गरी दुई थर छन् । कछारेहरुले आफूलाई सुन प्रजा भन्न मन पराउँछन् भने पुकुन्थलीहरुमा जारंगे, बरे, साउने, रुपाकोटे, भारा, प्रोसो, रुम वाङरागे, पोद, बांगे, नाइके, जुङरागे, ग्यामरांगे, रिवांगे आदि थरहरु छन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार ५२ हजार २ सय ३७ सरकारी तथ्यांक रहेका यिनीहरु खेतिपातीको सहारामा भन्दा जंगलका तरुल, गिठा, भ्याकुर, सिस्नोको साग, टाँकीको साग, च्याउजस्ता कन्दमूल आदिको सहारामा बाँच्न विवश छन् । कन्दमूलका साथसाथै यिनीहरुले मृग, बँदेल, घोरलजस्ता जस्ता जनावरको शिकार गरेर पेट पाल्दछन् । यी पनि पाउन छाडियो भने यिनीहरु भोकमरीको चपेटामा पर्दछन् र स्कुल पढ्न जाने केटाकेटी पनि स्कुल छाडी जंगलतिर कन्दमूलको खोजी हिँड्दछन् ।

यस्ता समस्याले केटाकेटीलाई स्कुलै छुटाउनु पर्ने स्थिति पनि खडा हुन्छ । जंगली कन्दमूल बाहेक यिनीहरुको खानाको मूख्य परिकार कोदो, मकै, जौ, फापर आदिको ढिँडो हो । जाँड यिनीहरु अत्याधिक मात्रामा खान्छन् । यो बालबाललिका, वृद्धवृद्धा, युवायुवति सबैले एकनाससँग खान्छन् । जाँडबाहेक मासु पनि प्रशस्त खान्छन् । घरपालुवा जनावरमध्ये भैँसी, बाख्रा, सँुगुर, कुखुरा आदिल खान्छन् । खाना खाँदा साना–ठूला सबैको बराबर भाग लगाइन्छ ।

चेपाङहरुको पहिरनमा भोटो, कछाड, मजेत्रो, लङौटी, चाँदीका बाला, फुली, बुलाकी, चुरापोते पर्ने गर्दछ । यिनीहरु पहिरनका दृष्टिले एक किसिमले अर्धनग्न देखिन्छन् । चेपाङहरुका घरहरु प्रायःजसो ढुँगा, माटो, काठ, बाँसद्वारा निर्मित छाप्रा र कटेरा हुन्छन् । घरको छानो फुसले छाएको हुन्छ । कसैका घरमा झ्याल राखिएका हुँदैनन् त्यसैले यिनीहरुका घरहरु अँध्यारा र धुवाले गर्दा ध्वाँसे परेका हुन्छन् । हरेकका घरमा पिँढी हुन्छन् । पाहुनाहरुलाई गर्मीका दिनमा त्यहि सुताइन्छन् ।

चेपाङहरुले हिन्दूहरुले मान्ने केही चाडपर्वहरु मनाउने हुँदा यिनीहरु हिन्दू धर्मावलम्बीझैँ पनि लाग्दछन् तर यिनीहरु पूर्ण रुपमा हिन्दू नै हुन् भनी ठोकुवा गर्न सकिदैन । यिनीहरु अलौकिक शक्तिमा निकै विश्वास राख्छन् । चेपाङहरुले पाँडेलाई बोलाउँछन् र पांडेले ढ्याङ्ग्रो ठोकेर रातभरि देवीदेवताको नाम उच्चारण गर्दछ र उफ्रिन्छ । बोक्सी, पिचास वा देवीदेवता रिसाएमा मात्र विरामी परिन्छ, अनिष्ट हुन्छ, देवी शक्ति खुसी भएमा सबै ठिकठाक हुन्छ भन्ने अन्धविश्वास पालेर बसेका हुन्छन् । यिनीहरु देवीदेवतालाई बाख्रा, सुँगुर, कुखुराको बलि दिन्छन् । चेपाङहरुले पुज्ने देवीदेवतामा कुलपूजा, सिकारी, देवता, भूमिपूजा र पशुदेवताको पूजा हो । कूलपूजा हरेक पाँच वर्षमा गर्छन् । यो पूजामा बाख्रा, सुँगुर, कुखुराको बलि चढाउँछन् । कुलपूजा गरेमा पूर्खाको आत्माले शान्ति पाउँछ भन्ने विश्वास छ । त्यसैगरि सिकारी देवताको पूजा गरेमा ती देवता खुसी भई सिकारमा सफलता पाइने विश्वास गर्छन् । सिकार जाँदा कुखुराको बलि चढाउने र कुनै जनावर मार्न सके त्यसको रगत चढाउने गर्दछन् । त्यो पूजा गर्दा राँगाको बलि चढाउँछन् र जाँडरक्सी खान्छन् । चेपाङहरुले पशुरक्षाका लागि पशुदेवताको पूजा गर्दछन् । यसलाई ‘गैँडु पूजा’ भन्दछन्, कुखुराको बलि दिन्छन् र पशूहरुको सुख र समृद्धिको कामना गर्छन ।

चेपाङहरुमा गर्भधारण गरेकी महिला र उसको लोग्नेले मरेको मान्छेलाई छुन नहुने, कुनै पनि प्राणीलाई मार्न नहुने परम्परा बोकेका हुन्छन् । बच्चा जन्म्यो भने आमाको दुधभन्दा पहिले ठूलीआमा वा धाईआमाको दुध खुवाउँछन् । ७ दिन १० दिन या २० दिनसम्म सुत्केरी बार्छन् । बच्ची जन्मेकोमा ६ वा ७ दिनमा र बच्चा जन्मेमा ८ दिनमा न्वारन गर्छन् । नाम राख्दा जुन बारमा जन्मेको छ त्यसैका नामबाट राखिन्छ । चेपाङले बच्चा जन्मेको ५ महिनामा अन्नप्रासन गराउँछन् । अन्नप्रासनका दिनमा मामाले जाँड मासु लिएर जान्छन । छेवर भनेको केश मुण्डन हो । केटाको पहिलोपटक कपाल उसका मामाले काटन् चलन छ । यसका लागि खासै विधि भएको पाइँदैन ।

चेपाङ जातिमा मामाचेली फुपुचेलाका बिचमा बिवाह गर्ने चलन छ । यिनीहरुमा मागी बिवाहलाई मान्यता दिएको पाइन्छ । केटाका तर्फबाट केटीका तर्फ बिवाह प्रस्ताव लिएर जाँदा एक बोतल रक्सी लिएर जानुपर्दछ । त्यसलाई चेपाङहरु ‘सोधनी पुङ’ भन्दछन् र प्रस्तावमाथि केटापक्षबाट स्वीकृति दिइयो भने पुनः केटाका पक्षबाट एक बोतल रक्सी लिएर जानुपर्दछ । त्यसलाई ‘ठेगान पुङ’ भनिन्छ । चेपाङहरुमा बिवाह गर्दा शुक्रबार र मंगलबारलाई राम्रो बार ठान्दछन् । मागी बिवाहका अतिरिक्त यो समुदायमा भाउजु बिवाह, साली बिवाह, विधवा बिवाह पनि प्रचलनमा छन् । चेपाङहरुले मृतकलाई दाहसंस्कार नगरी गाड्ने गर्दछन् । किरिया सम्बन्धमा एउटै नियम छैन । कसैले ७ दिन त कसैले १३ दिनमा किरिया बस्छन् । किरिया अवधिभर भोजभतेर वर्जित हुन्छ । किरिया सकिदा दिनमा भने भोजभतेर गर्ने चलन छ । भोजमा जाँडरक्सी र मासु खान्छन् । पाँडेले ढ्याग्रो ठोक्दै मृतात्माको शान्तिको कामना गद शुद्ध गर्दछ ।

चेपाङलाई रकम बाँडफाँड :
आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानबाट प्रजा विकास कार्यक्रमका लागि चालु आवमा प्राप्त रु. ४५ लाख रकम चेपाङ बसोबास क्षेत्रमा बाँडफाँड गरिएको छ । नेपाल चेपाङ सङ्घका महासचिव सन्तबहादुर चेपाङले सम्बन्धित जिल्ला विकास समितिले बनाएको बजेट योजनाअनुसार वितरण गरिएको सो रकम चेपाङ बसोबास क्षेत्र चितवनमा रु. दस लाख ५० हजार, मकवानपुरमा रु. १५ लाख ५० हजार, धादिङमा रु. आठ लाख, गोरखामा रु. सात लाख ५० हजार, तनहुँमा रु. दुईलाख २५ हजार र लमजुङमा रु. एकलाख २५ हजार रहेको बताउनुभयो ।

वनतरुल मासिदा चेपाङ चिन्तामा :
लोपोन्मुख चेपाङ जातिको जीवन निर्वाहका लागि आवश्यक कन्दमूलमध्ये एक वनतरुल मासिँदै गएकोमा चेपाङहरू चिन्तित हुन थालेका छन् । चेपाङहरू आफ्नो जीवन निर्वाहका लागि जङ्गली कन्दमूल गिठ्ठा, वनतरुल, भ्याकुर, सिस्नोलगायतका चीजहरू प्रयोग गर्ने गर्दछन् । ती कन्दमूलहरूमध्ये वनतरुल अहिले जङ्गलमा पाउन छाडिएको चितवन जिल्लाको उत्तरी भेग केराक तिङसराका केशव चेपाङले बताउनुभयो ।
जङ्गली परिकारमध्ये सबैभन्दा मीठो परिकारको रूपमा खानामा वनतरुललाई लिने गरिन्छ । त्यो नै मासिन लागेपछि चेपाङमा चिन्ता छाएको पनि उहाँले बताउनुभयो । वनतरुल मासिनुमा आफ्नै कमजोरी ठात्रुहुन्छ नेपाल चेपाङ सङ्का केन्द्रीय सदस्य जीतेन्द्र चेपाङ । उहाँका अनुसार खाद्यात्र अभावका कारण अधिकांँश चेपाङहरू जङ्गली कन्दमूलमध्ये तरुल नै बढी खनेर खानाले वनतरुल मासिन थालेकाले यो समस्या आएको हो । वनतरुल जगेर्ना गरेर पनि यसको उपयोग गर्न सकिने चेपाङ सहजकर्ता दिलबहादुर चेपाङ बताउनुहुन्छ । तरुल खत्रेक्रममा तरुलको बोटबाट तल खत्रे र तरुल मात्र निकाल्ने र बाँकीलाई पुरेर जस्ताको तस्तै राख्ने हो भने यो समस्याबाट उन्मुक्ति पाउन सकिने उहाँले बताउनुभयो ।

चेपाङ स्वायत्त प्रदेश :
चेपाङ राष्ट्रिय मुक्ती मोर्चा नेपाल गोरखा जिल्ला समितिले गोरखामा आज पत्रकार सम्मेलन गरी चेपाङहरुको बसोवास रहेको क्षेत्र गोरखा, चितवन, धादिङ, मकवानपुर जिल्लाका ४२ वटा गाविस समेटेर चेपाङ स्वायत्त प्रदेश बनाउनुपर्ने माग गरेका छन् । । चेपाङको घना बस्ती रहेको २९ गाविस समेटेर चेपाङ प्रदेश र प्रत्येक जिल्लामा चेपाङ आधारइलाका निर्माण गर्नुपर्ने उनीहरुको माग छ । चेपाङहरुको बाहुल्यता भएको क्षेत्रको जल, जमिन, जङ्‍गल, जडिबुटी र खानीमा पूर्ण स्वामित्व हुनुपर्ने, चेपाङहरु बसेको इलाकालाई चेपाङ आधार इलाका बनाउनुपर्ने, प्राथमिक तहको शिक्षा चेपाङ भाषामा हुनुपर्ने तर्क उनीहरुको छ ।

No comments: