Tuesday, February 22, 2011

'पढो लिखो नकाम, माटो खेलाए कामै काम'


'कुमाल Kumals' जातिलाई पेशागत आधारमा 'कुमाले' पनि भन्ने गरिन्छ । 'कुमाले' शब्दको उत्पति कुम्भकार, कुम्हाँर, कुमाल हुँदै बनेको पाइन्छ । कुमाल जातिहरु बिभिन्न ठाउँअनुसार बिभिन्न प्रकारका छन् तर तिनीहरुको साझा कार्य भनेकै माटामा खेल्नु हो । अर्थात माटाका भाडाकुडाँहरु बनाउने हो । हालसम्म पहाडी कुमाल, नेवार कुमाल र थारु कुमाल गरि ३ प्रकारका कुमालहरु बसोबास गर्दै आएका छन् । मध्यमाञ्चल विकास क्षेत्रका कुमालहरु अर्थात भक्तपुर आसपासका कुमालहरु आफुलाई 'नेवार कुमाल' भन्ने गर्दछन् । नवलपरासी, चितवन, धादिङ्ग, प्युठान, पाल्पा, सल्यानटार लगायतका जिल्लाहरुका कुमालहरु आफुलाई 'पहडी कुमाल' भन्न रुचाउँछन् । त्यसैगरि दाङ देउखुरी लगायतका ठाउँहरुमा बासोबास गर्ने कुमालहरु आफुलाई 'थारु कुमाल' भन्न रुचाउँछन् ।

तीनै थरिका कुमालहरुले माटाका भाँडाकुडा बनाउने परम्परागत पेसालाई अझैपनि त्याग्न सकेका छैनन् । कुमाल जातिहरुको यो पेशा इसापूर्व ७ औं शताब्दीतिर लुम्बिनी र कपिलबस्तुमा 'मृत्तिका कला'का रुपमा विकसित हुदैं आएको विज्ञहरुको ठम्याई छ । कुमालहरुका विषयमा अध्ययन र अनुसान्धान गर्न अहिले एकदमै गार्‍हो भएको छ । मृत्तिका कलाका आधारमा भन्ने हो भने यिनीहरुलाई 'प्राचीन आदिबासी' पनि भन्न सकिन्छ । यसबाहेक यिनीहरुका बारेमा कुनै त्यस्तो प्रमाणिक इतिहासहरुका बारेमा कहिँपनि उल्लेख गरिएको छैन । विं.सं. २०४८ सालको जनगणनाअनुसार कुमाल जातिहरुको जनसंख्या ३७ हजार ५ सय पुरुष र ३९ हजार ७६ गरी जम्मा ७६ हजार ६ सय ३५ रहेको छ । त्यसैगरी वि.सं. २०५८ सालको जनगणनाअनुसार यिनीहरुको जनसंख्या ९९ हजार २ सय ८९ रहेको तथ्यांकमा उल्लेख छ ।

कुमालहरुका थरहरुका सम्बन्धमा भन्नुपर्दा बिभिन्न ठाउँका आधारमा थरहरु राखिएको अनुमान गर्न सकिन्छ । जस्तै दाङ देउखुरीका कुमालहरु ठाउँअनुसार श्रीगहने, खैराने, महताने, दैतहाने र पचहाने थर लेख्ने गर्दछन् । त्यसैगरि अन्य थरहरुमा पाल्पाली, बगाले, चुदेँली, खत्री, अर्घाली, स्रि्रेली, प्युठानी, ठिगाने, पोख्रेली, लाहुखत्री, राजपुत, चाप्कोटे, मस्वे, मसुके, अठभया, पर्वतै, नयाँचिउतार राना लगायतका रहेका छन् । कुमाल जातिहरुको भाषा पनि ठाउँअनुसार फरक-फरक पाइएको छ । दाङ देउखुरीका कुमालहरु थारु भाषा बोल्ने गर्दछन्, पहाडी कुमालहरु नेपाली भाषा बोल्ने गर्दछन्, त्यसैगरि नेवारी कुमालहरु नेवारी भाषा बोल्ने गर्दछन् ।

कुमाल जातिको भेषभूषामा पनि स्थानअनुसार भिन्नता पाइन्छ । थारु कुमालहरु थारुकै पहिरनहरु लगाउने गर्दछन् । उनिहरु कम्मरमुनि ती रंगको लहँगा लगाउँछन् त्यो कुर्कुच्चासम्म लामो हुन्छ । कम्मरमाथि चाहिँ चोलिया भनिने घाँटीसम्मको कपडा लगाउने गर्दछन् । पहाडी कुमालहरु कम्मरमुति धोती र कम्मरमाथि कमिज, सर्ट र कम्मरमुनि कछाड वा हापपेन्ट लगाउने गर्दछन् । त्यसैगरी नेवार कुमालहरु महिलाहरुले कम्मरमुनि धोती र कम्मरमाथि चोलो लगाउँछन् र कम्मरमा मटुका बाँध्छन् । पुरुषहरुले इच्छाअनुसार सर्टपेन्ट, इष्टकोट र सुरुवाल लगाउने गर्दछन् ।

कुमालहरुको घरको बनावट पनि फरक-फरक छ । दाङका कुमालहरुको बस्ती गुचमुच परेको हुने गर्दछ । त्यसको कारण कसैलाई पनि थाहा छैन । यिनीहरुका घरका घरहरु कतै फुसको छानो, फुसकै भित्ता, कच्ची गारो लगाइएको हुन्छ । आधुनिकीकरण प्रभाव जहाँतहीँ परेको बेला यिनीहरुलाई त्यो प्रभाव परेको छैन । कारण यिनीहरुका घरका बनावटहरु अहिलेसम्म परिवर्तन भएको छैन । यिनीहरुको घरमा एकमात्र ढोका रहने गर्दछ जो पूर्वतर्फहुने गर्दछ । यिनीहरुको पेशा माटाका भाँडा बनाउने भएको हुँदा आँगन भने प्रशस्तै राखेका हुन्छन् । उनिहरुले त्यहाँ भाँडाका भाँडाकुडाँहरु बनाउने गर्दछन् । यिनीहरुको आम्दानीको ठूलो स्रोत भनैकै माटाका भाँडाकुडाँहरु हुन् । पहाडी कुमालहरुका घरका बनावट अलिक आधुनिक शैलीको छ । यिनीहरुले लहरै घर बनाएका हुन्छन् । यिनीहरुको घर कच्ची भएपनि तला भएको हुने गर्दछ । यिनीहरु घर रातो माटोले लिप्ने गर्दछन् जबकि दाङ देउखुरीका कुमालहरु घर लिप्ने गर्दैनन् ।

शिक्षा आर्जन गर्ने काममा कुमालहरु पछाडि परेको अनुमान लगाउन सकिन्छ । शिक्षा क्षेत्रमा थारु, पहाडी र नेवारी सबै कुमालहरु पछाडि परेका छन् । त्यसैले उनिहरु सधैं "पढो लिखो नकाम, माटो खेलाए कामै काम" भन्ने उखान दाहोर्‍याई रहेका हुन्छन् । कुमाल जातिहरुको समाज पितृसत्तात्मक छ । कुमाल युवतिहरु यौवन अवस्थामा प्रवेश गरेपछि आफुलाई मनपर्ने केटा खोजी बिवाह गर्न स्वतन्त्र छन् । यिनीहरुमा जारी बिवाह, प्रेम बिवाह, बालबिवाह, विधवा बिवाह रहिआएको छ ।

यिनीहरुको खानपिनमा भात, तरकार र माछामासु सधैंजसो रहने गर्दछ । यिनीहरु सुँगुर र बँगुरको मासु बढि खान रुचाउँछन् । पाहुना आएका बेला, चार्डपर्वका बेला र कुल देवता पूजा गर्ने बेलामा यिनीहरुलाई माछा मासु र जाँडरक्सी नभई हुँदैन । थारु, नेवार र पहाडी जे भएपनि यिनीहरुको खापिनमा समानता रहेको छ । यिनीहरुमा बिरामी हुँदा धामी, झाँक्री र झारफुक गर्ने प्रचलन ब्याप्त छ । यिनीहरु धामी झाँक्रीमा विश्वास राख्ने हुँनाले सुँगुर र राँगाका बलि दिने गर्दछन् । कुमालहरु प्रायजसो हिन्दू र बौद्ध धर्म मान्ने गर्दछन् । चाडपर्वमा थारु कुमालहरु अष्टमी, माघी, दशैं, अत्वारी, गुरिया र होली मनाउने गर्दछन् । पहाडी कुमालहरु दशैंतिहार, माघेसंक्रान्ति, शिवरात्री, तिज जस्ता चाडपर्वहरु मनाउने गर्दछन् । त्यसैगरी नेवारी कुमालहरु नेवारकै संस्कार अर्न्तगत नेवारहरुकै चाडपर्व मान्ने गर्दछन् ।

कुमालहरु मृत्यु संस्कार गर्दा थारु कुमालहरुले लासलाई उत्तानो पारेर गाड्ने गर्दछन् र घरमा आएर दालभात, रक्सी, मासु खान्छन भने पहाडे कुमालहरुले गाड्ने वा खोलामा बगाउने दुवै गर्छन् । आजभोलि पर्वते समाजको प्रभावमा आएर जलाउने पनि गर्न थालेका छन् । यिनीहरु किरिया बस्दा १३ दिनसम्म बस्ने गर्दछन् ।

No comments: