Tuesday, February 22, 2011

बेहुँली बेपत्ता पारेर बिवाह गर्ने झाँगड


सुनसरी, मोरङ्ग, सर्लाही, पर्सा लगायतका क्षेत्रहरुमा सानो-सानो संख्यामा बसोबास गर्दै आएका 'झाँगड Jhangads' समुदायलाई प्रकृतिपूजक भनिने गरिएको छ । कसैकसैले यिनीहरुलाई नेपालमा विद्यमान द्रविडमूलका जाति मान्दै आएका छन् । यिनीहरु हजारौं वर्षेखि नेपालको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्दै आएको विज्ञहरु बताउँछन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार ४१ हजार ७ सय ६४ जनसंख्या रहेको यिनीहरुको भाषालाई 'कुरुखमुन्दरी' भन्ने गरिन्छ । झाँगड समुदायको भाषालाई अधिकांश विज्ञहरुले द्रविण मूलको भएको बताएका छन् । झाँगडहरु हाम्रो छिमेकी मुलुक भारतको मध्यप्रदेशमा पनि रहेका छन् तर तिनीहरु र यिनीहरुबीच केही पनि समानता छैन ।
झाँगड समुदाय तराई देहात क्षेत्रमा बसोबास गर्ने भएकोले यिनीहरु घर फुसले छाउने गर्दछन् । टाँटीहरु चित्राले बेरेर गोबरको माटोले लिप्ने गर्दछन् । त्यसैगरी भुँइबाट चिसो नआओस् भनेर पराल ओछ्याएर लिप्ने गर्दछन् । प्रत्येक घरहरुमा हावा, घामका लागि दलान छुट्याएका हुन्छन् । दलानमा गर्मीका बेला पुरुषहरु आराम गर्ने गर्दछन् ।

प्रायः झाँगड समुदायहरु कृषि र मजदुरीलाई आफ्नो प्रमुख पेशा बनाउँदै आएका छन् । कोही-कोही तरकार खेती पनि गर्ने गर्दछन् । त्यसैगरी कोही चोयाको टोकरी, भकारी, मान्द्रो, थुन्से आदि बनाएर बिक्री गरी अतिरिक्त आयआर्जन गर्ने गर्दछन् । यिनीहरु पशुपालनमा पनि विशेष चासो राख्छन् । गाई, भैसी, कुखुरा, खसी, सुँगुर लगायतका घरपालुवा जनावरहरु पाल्ने गर्दछन् । विशेषगरी सुँगर पालनमा यिनीहरु चासो राख्ने गर्दछन् ।

शैक्षिक क्षेत्रमा झाँगडहरु अत्यन्तै पछाडि परेका छन् । दिनभरी आफ्नो इलममा व्यस्त हुने हुँदा अर्थात मजदुरी गरी आयआर्यजन गर्ने हुँदा यिनीहरुले शैक्षिक प्रगति गर्न सकेका छैनन् त्यसैले गर्दा यिनीहरु सरकारी जागिरमा नगण्य मात्रामा प्रवेश गरका छन् । बि.सं. २०५६ सालको आम निर्वाचनमा झाँगड समुदायबाट ४ जना उम्मेद्वार भएदेखि अहिलेसम्म यिनीहरु राजनीतिक क्षेत्रमा लागेका छैनन् ।

झाँगड समुदायको बैवाहिक विधि झनै रोचक छ । यिनीहरु बैवाहिक बन्धनमा बाँधिनका लागि लमीको निकै ठूलो भूमिका रहने गर्दछ । लमीले बेहुँला-बेहुँली ठिक पारेपछि हेर्ने हेराउने काम हुन्छ । बेहुँली मन परेमा बेहुँलाका बाबुले पैसा तिरेर कुरा छिन्ने गर्दछन् । बेहुँलीका घरमा जन्ती जानुभन्दा पहिले बेहुँला अरुकै घरमा केही समय बस्ने गर्दछ त्यतिञ्जेलसम्म बेहुँली भागेर बेपत्ता भएकी हुन्छे । त्यसपश्चात बेहुँलीका साथीभाइहरुले बेहुँली खोजेर ल्याउँछन् अनि बेहुँला र जन्तीलाई बोलाउन पठाउने गर्दछन् । बिवाह सुरु हुने गर्दछ । यिनीहरुको मौलिक परम्पराअनुसार बेहुँलाबेहुँलीबीच बिवाहमा सिन्दुर साटासाट गर्ने चलन छ त्यसश्चात सम्पूर्ण बैवाहिक कार्यक्रम सम्पन्न हुने गर्दछ ।

झाँगड समुदाय प्रमुख रुपमा फागुन महिनामा दूर्गा पूजा, भदौ महिनामा कर्मधर्म पूजा, असोज महिनामा च्याँ चामल चढाएर कालीपूजा, फागुपूणिर्मामा होली, असोजमा दशैँ, प्रत्येक १२ वर्षा दूर्गाको बलि पूजा लगायतका चार्डपर्वहरु धुमधामका साथ मनाउने गर्दछन् । यिनीहरु आफ्नो कर्मकाण्ड सम्पन्न गर्नका लागि आफ्नै पुरोहित डाक्ने गर्दछन् । अन्य जातका पुरोहितबाट कर्मकाण्ड गराउँदैनन् । यिनीहरुको पुरोहितलाई 'धामी' भन्ने गरिन्छ । झाँगड समुदायहरुको अन्तिम संस्कार जलाएर र गाडेर गर्ने गरिन्छ । यिनीहरु १३ दिनमा जुठो बार्ने र शुद्धिकरण गर्ने गर्दछन् ।

No comments: