Tuesday, February 22, 2011

आइमाईलाई मार्‍यो भने बोक्सी हुन्छन् भन्ने किसान

तपाईलाई किसान जाति को हुन् थाहा छ ? बिभिन्न पत्रपत्रिका, वेबसाइटहरुमा उल्लेख भए अनुसार नेपालका अल्पसंख्यक जातिहरु मध्ये किसान जातिलाई पनि एक मानिन्छ । किसान जातिहरुको मूलथलो भारतको उडिसा र बिहार प्रान्त भएर त्यहीँबाटै उब्जाउ जमिनको खोजीमा नेपाल छिरेको आधार मानिएको छ । नेपालको झापा जिल्लाको धाइजन र धुलाबारी गाबिसहरुमा किसान जातिहरुको बसोबास रहेको छ । भारतको उरावँ जातिसँग समानता रहेका किसाहरु जमिनको खोजीमा नेपाल छिरेका कारण भूमिहीन रहेका छन् ।


नेपालमा किसान जातिहरुको जनसंख्या तुलनात्मक रुपमा कमि रहेको छ । २०४८ सालको जनगणनाअनुसार किसानहरुको जनसंख्या २ हजार ५ सय र २०५८ सालको जनगणनाअनुसार २ हजार ८ सय ७६ जना रहको तथ्यांक छ । जनसंख्याको दृष्टिकोणलाई आधार मन्दा किसानहरु लोपोन्मुख जाति हुन् भन्न सकिन्छ ।

किसान जाति शिक्षा क्षेत्रमा निकै पछि परेको छ । शिक्षाको चेतना आएको छैन र गरिबीका कारण पनि आफ्ना नानीहरुलाई यिनीहरु स्कुल पठाउन अर्समर्थ रहेका छन् । स्कुल जानेहरुको संख्या अत्यन्तै थोरै छ । स्कुल गएपनि २/४ कक्षाभन्दा बढी पढेको पाइँदैन् । शिक्षाप्रतिको चेतनामा कमी भएका कारण यिनीहरुको घरछेऊमै स्कूल भएपनि यिनीहरु स्कुल जान तयार हुँदैनन्


किसान जातिभित्र ग्वाला, कँवर, तुरी, रौतिया, नागसिया लगायतका थरहरु रहेका छन् । किसानहरुमा एउटा रोचक प्रथा के छ भने आफूहरु भूमिहीन भएर अरुको मोहीका रुपमा जग्गा कमाए पनि किसानका 'राजा' भन्ने पद्वी दिइने गरेको पाइन्छ । राजाका एकजना मन्त्री र सिपाही पनि हुन्छ । यस परम्पराबाट के प्रष्ट हुन्छ भने यिनीहरु शासकिय रुपमा रहन चाहन्छन् । तर यिनीहरुको शासकिय इतिहास कहिँ पनि रहेको छैन ।


किसान जातिमा केटा र केटीले एकअर्कालाई मन पराए भने सँगै घुम्न जाने, मेलापात, जात्रा जाने, हाँसखेल गर्ने र सँगसँगै सुतेर रात बिताउने समेत गर्दछन् । त्यसलाई गलत दृष्टिले हेरिदैन् । यदि केटीले पेट बोकीहाली भने पनि बिवाह गरे भइहाल्छ । त्यसलाई गलत दृष्टिले हेरिदैन तर बिवाह गर्न आनाकानी गरेमा राजाले दण्ड दिने गरिन्छ । यस जातिमा मागी बिवाहभन्दा प्रेमबिवाह बढी प्रचलनमा छ । यिनीहरुमा छोरी बिवाह गर्ने र दाजुका मृत्यूपछि भाउजू स्याहार्ने प्रथा पनि रहेको छ ।


किसान जातिको मुख्य खाद्यान्नमा मकै, कादोको आँटो, ढिँडो, फापरको रोटी र कन्दमूल नै हो । तर्राई भेकमा बसोबास गर्ने हुँदा भात पनि खान्छन् । यिनीहरु माछामासु, जाँडरक्सी निकै खान्छन् र रमाइलो पनि निकै गर्नुपर्छ । जंगली कन्दमूल पनि खोजेर खाने गर्दछन् । किसानहरु भूमिहीन भएका कारण जीविकोपार्जनका लागि अरुको जमिनमा अधिँया, बटैयामा जमिन जोत्ने र अरुको मजदुरी गर्ने गर्दछन् । त्यसबाहेक बनजंगलबाट दाउरा काटेर ल्याई बिक्री गरी जिविका चलाउँछन् ।


किसानहरुले बोल्ने भाषा द्रविड हो । यिनीहरुको आफ्नै लिपि छ, जसलाई उराँव भनिन्छ । यिनीहरुको परम्परागत नाम कुन्तम हो भने कोल, कुडा, कोरा, मर्ेधा, मोर्भा, बिर्हर र नगेसिया पनि भनेको पाइन्छ । आखिर सबै अन्त्यमा मर्नै पर्ने हुन्छ । किसानहरुका मानिस मर्दा लासलाई गाड्ने र जलाउने दुवै गरिन्छ । गाड्न वा जलाउनका लागि अलग्गै चिहानको व्यवस्था गरिएको हुँदैन । खोलाका किनार खोल्साखोल्सी हेरेर गाड्ने अथवा जलाउने गरिन्छ । किसानहरुमा एउटा अन्धविश्वास के पनि छ भने उनीहरुका आइमाईलाई मार्‍यो भने ती बोक्सी हुन्छ ।


No comments: