Tuesday, February 22, 2011

महिलाले नाङ्गै भएर हलो जोत्नाले पानी पर्छ भन्ने 'थारु'

नेपालका ‘थारु Tharus’ जातिहरुहरुको बसोबास पश्चिम महाकालीदेखि पुर्व मेचीसम्म रहेको छ । थारुहरुको मूल थलोका बारेमा बिभिन्न मतभिन्नता पाइन्छ । कसैले यिनीहरुलाई सिन्ध प्रदेशको 'थर' भन्ने ठाउँबाट आएका हुन् भनेका छन् भने कसैले मुसलमानी आक्रमणबाट बच्न भारतको चित्तौडबाट पहाडी भू-भागतर्फआएका जाति हो भनेका छन् । कसैकसैले थारु जातिहरुलाई शाक्य वंशसँग आपसी सम्बन्ध टुटेर थारु जाति भएको दाबी गरेका छन् । यसरी थारु जातिहरुका सम्बन्धमा विभिन्न विज्ञहरुसँग विभिन्न मत रहेको पाइन्छ । जे भएपनि थारु जातिहरु हाम्रा लागि अन्जान जाति होइनन् । बि.सं. २०४८ सालको जनगणनाअनुसार थारु जातिहरुको जनसंख्या ११ लाख ९४ हजार २ सय ४४ र बि.सं. २०५८ सालको जनगणनाअनुसार १५ लाख ३३ हजार ८ सय ७९ रहेको छ ।थारु जातिहरु केही मात्रामा गहुँगोरो भएपनि अधिकांस काला हुन्छन् । नेप्टो नाक, बाक्लो ओठ, मझौलो कद, श्रमजीवी भएका हुँदा कस्सिएको शरीर र दाह्री जुँगा कम भएको शारिरीक बनावट भएका हुन्छन् । थारुहरु गर्मी ठाउँमा बस्ने हुँदा ज्यादाजस्तो आधा शरीर ढाकिने कपडा लगाउने गर्दछन् । कपडामा कम्मरमुनि लङौटी या कट्टु, कम्मरमाथि भोटो, टाउँकामा टोपी, पाउमा काठमा खराउ या खाली खुट्टा हिड्छन् । थारु जातिहरुका स्वास्नी मानिसहरु दुई थरिका वस्त्रहरु लगाउने गर्दछन् । जसमा कम्मरमुनि घुँडासम्मको गुन्यु लगाउँछन् जसका मुजा अघिल्तिर हुन्छन् र कम्मरमाथि आधा बाउले चोली लगाउँछन् जसको पछाडि तुना बान्ने हुन्छ र पछाडिकोबीचमा चिरिएको हुन्छ । अबिवाहितहरुले पछिल्तिर तुना बान्ने चोलो लगाउँछन् भने बिवाहितले अघिल्तिर तुना बान्ने चोली लगाउँछन् । माहिलाहरुले लाउने अर्को थरिको पहिरन हो लहंगा र चोलिया । लहँगा कम्मरदेखि कुर्कुचासम्मको हुन्छ । यसका मुजाजति सबै पछिल्तिर । यो तीन रंगको हुन्छ । कम्मर कालो, बिचमा बुट्टे र पुछारको रातो हुन्छ । यस्तो पहिरन दाङ देउखुरीका थारु महिलामा पाइन्छ । थारु महिलाहरु गहना लगाउन आसाध्यै मन पराउँछन् । यिनीहरुले लगाउने गहनामा हातका पाखुरा र कुहिनामा चुरा र बाजु, घाँटीमा हंसुली सिक्काका माला, कानमा कर्णफूल, औलामा औंठी, कम्मरमा कम्मरपेटी, गोडामा पाउजेव, गोडाका औंलामा औठीजस्तै बिछीया, शिरमा शिरबन्दी, निधारमा टिकुली, नाकमा नत्थे लगाउँछन् । यी सबै गहना चाँदीकै हुन्छन् । सुन देख्नमा पाइँदैन । थारु महिलाहरुमा हात गोडामा गोदना गोदाउने प्रचलन ब्यापकरुपमा पाइन्छ । जनजातिहरुमा सबैभन्दा बढी गहना लगाउने जाति थारु नै हो । यिनीहरुले सात किलोसम्मका गरगहना लगाइएको पनि भेटिएको छ ।

थारुहरुको थरहरु तथ्यांकमा कहि पनि उल्लेख छैन् । हालसम्म चौधरी, मोरङीया, खवास, दनुवार, दंगौरा, कठरिया, कनकट्टा, कोचिला, खस, खरल, खाँ, खुनाहा, खौसिया, गच्छदार, जोगी, चित्तौनिया, डंगरीया, तवदार, थन्दार, दनुवार, दंगौरा, दाबदिया, परिहार, बर्दिया, बहन्थ, बाँढ, बाँतर, बोक्सा, बोट, भगत, महाउतो, माझी, रझठीया, राजघरिया, राजहातिया, राना, राजी, रौतार, लम्पुछिया, लालपुरिया, विश्वास, हेमलजिया, सरदार, सुनाहा, सोलरिया लगायतका थरुहरुलाई थारु जाति मानिन्छ । थारुहरुका केही जातिले हिन्दू धर्म मान्ने र ब्राहृमण पुरोहितद्वारा धार्मिक कृत्य सम्पन्न गराउने र गरे तापनि प्रायः जसोसबै थारुहरुले आफ्ना धार्मिक कृत्य 'भान्जा'बाटै गराउँछन् । भान्जाको अभावमा गुरुवा, भर्रा सोखाबाट धार्मिक काण्डहरु गराउने गर्दछन् । थारुजातिहरुका गाउँका ग्रामदेवतालाई 'बरमथान' भनिन्छ । थारुजातिहरुमा पनि छूवाछुत प्रथा कायम रहेको पाइन्छ । यिनीहरुमा 'राना' थारुलाई उपल्लो दर्जाको कुलीन र 'बाँतर' थारुहरुलाई सार्‍है निच मान्ने गरिन्छ ।

थारु समुदायमा बिवाह सानै उमेरमा गरिदिने प्रचलन छ । त्यसमा पनि अनमेल बिवाह प्रमुख रुपमा रहेको हुन्छ । अहिलेपनि घरायसी बिभिन्न कामहरु गर्नका लागि ८/१० वर्षे बालक केटाका लागि १७/१८ वर्षी वयस्क केटी खोजेर बिवाह गरिदिने चलन यथावतै रहेको छ । थारु समुदायमा मागी बिवाह, चोरी बिवाह र जारी बिवाह प्रचलनमा रहेको छ । थारु जातिमा बिवाह गर्दा केटापक्षले केटीपक्षलाई दिइने पैसालाई 'झंगा' भन्ने गरिन्छ । थारु समुदायमा बिवाह गर्दा रोचक पक्ष के छ भने दुलहीको डोलीभित्र एउटा बत्ती र विषको प्याला माइतीतर्फाट राख्ने गरिन्छ । जसबाट बाटामा कुनै शत्रुले आक्रमण गरेर अपहरण गर्ने प्रयास गरेमा त्यहि बत्ती लिएर भाग्ने र भाग्न नसके आफ्नो अस्मिता रक्षार्थ विषपान गरी आत्महत्या गर्न सकियोस् । थारुजातिमा दाजु मरेमा भाइले भाउजु स्याहार्ने चलन पनि विद्यमान छ । भाइ नभए केटीका सासुससुराले अन्यत्रैबाट केटो खोजीदिएर घरमा ल्याई बुहारीसँग बिवाह गरिदिने प्रथा पनि विद्यमान छ, जसलाई थारु समुदायमा 'भ्वाँर पैंठना' भनिन्छ । थारु समुदायमा बिवाहका सबै विधि पूर्वका र पश्चिमका थारुहरुमा फरकफरक हुन्छ । थारु समुदायमा जन्म संस्कार चाहिँ बालक जन्मेको सात, नौ या दस दिनमा नामाकरण गरिदिएर सुत्केरी चोख्याइन्छ । सुत्केरीको सालनाल नझरेसम्म भुइँमै सुताइन्छ । सालनाल झरेपछि मात्र खाट, पलङमा सुत्न दिइन्छ । नामाकरणलाई थारुहरुले 'घटना करैन' भन्ने गर्छन् ।

थारु जातिलाई अन्धविश्वासले गाँजेको छ । थारुहरु बढि भूतप्रेतमा विश्वास गर्ने गर्दछन् । उनिरुको सामाजिक जीवन नै भूतको भावनामा अडेको हुन्छ । प्रत्येक थारु गाउँमा 'बरमथान' बनाइएको हुन्छ जसलाई ग्राम देवता भनिन्छ । प्रत्येक थारुका घरघरका गृहदेवता हुन्छन् जसलाई 'गन' भनिन्छ । हलोको टाउको गाडेर 'यक्षिणी' र कोलको मुढो गाडेर 'श्मशान'को पूजा गर्दछन् । थारु बस्तीमा भूतप्रेत भन्ने चलन असाध्यै छ । पहाडी र मधेसी समुदायले थारुहरुमा भूतप्रेत असाध्यै हुने हुँदा थारुको तन्त्रमन्त्रबाट डराउँछन् ।

अझैपनि वर्षाममा पानी परेन भने थारु समुदायका महिलाहरुले रातिको समयमा नाङ्गै भएर खेतमा हलो जोत्ने गर्दछन् । त्यसो गर्नाले वर्षा हुन्छ भन्ने अन्धविश्वास रहेको छ कञ्चनपुर जिल्लाका दैजी गाबिसका थारुहरु वर्षायाममा पानी नपरेर सुख्खा पर्‍यो भने सोही गाबिसका मुख्य अध्यक्ष वा गाउँको मुखियालाई रुखमा बाँधेर पिट्दै इन्द्रदेवसँग वर्षाको आहृवान गर्ने गर्दछन् । मुखियालाई यसरी पिटेमा वर्षा हुन्छ भन्ने विश्वास रहिआएको छ । पिर्टाई खाने मुखियालाई छुटाउन अर्कोपक्षले ठुलै संघर्ष गर्नुपर्ने हुन्छ । हार्ने पक्षले दण्ड जरिवाना तिर्नुपर्ने हुन्छ र भोज भत्तेर पनि गर्नुपर्छ । कञ्चनपुर जिल्लाकै बगुन भन्ने ठाउँमा पानी पार्नका लागि भ्यागुताको जोडी खोजेर ल्याई बिवाहको विधिअनुसार कर्मकाण्ड गरी धुमधामसँग बिवाह गरिदिने गर्दछन् । यहि अन्धविश्वास नेपालका झापा, मोरङ्ग आदि पूर्वी जिल्लाका थारु लगायत बिभिन्न जातिहरुमा पनि पाइन्छ ।

थारु समुदायमा मृत्यू हुँदा लासलाई जलाउने र गाड्ने दुवै गर्ने गरिन्छ । पूर्व थारुहरुले मृतकलाई नदी किनारामा लगेर दाहसंस्कार गर्ने गरिन्छ र पश्चिमतिरका थारुहरुले गाड्ने गर्दछन् । उमेर पुगेको, बिवाह गरेको र सम्पन्न परिवारको भएमा जलाउने गर्छन् । गाड्दा पुरुषलाई घोप्टो र महिलालाई उत्तानो पारेर गाड्छन् । जलाउनेहरुले पनि पुरुषलाई घोप्टो र महिलालाई उत्तानो पारेर जलाउँछन् । कतैकतैका थारुहरुले बालकलाई गाड्ने र पौढलाई दाहसंस्कार गर्ने गर्दछन् । किरिया बस्दा जालभित्र बस्दछन् । जाँडरक्सी भने नभई हुँदैन् । किरिया १३ बस्ने गरिन्छ । ११ औं दिनमा महादान गर्ने गरिन्छ । महादान बाहुनलाई नै दिन्छन् । थारुहरुमा आफ्नो वर्गको बाहेक ब्राहृमण पुरोहित पनि राख्ने चलन छ । आफ्नो वर्गको पुरोहित राख्नेले दाहसंस्कारको काम सकेपछि काजक्रिया पनि सक्दछन् र भोज खुवाएर चोखिन्छन् भने ब्राहृमण परोहित राख्नेहरु तेह्र दिनसम्म जुठो बार्छन् र १३ औं दिनमा चोखिन्छन् । चोखिँदा दिनमा रक्सी र मासुका साथ भोज गराउँदै मृत्यू संस्कार समापन गरिन्छ ।

No comments: