Tuesday, February 22, 2011

‘चुङ्ना’द्वारा बिवाह गर्ने सतारहरु


सतार जातिलाई भारतमा ‘सन्थाल’ पनि भन्ने गरिन्छ । सुनसरी, मोरङ्ग, मोरङ्ग, झापा यिनीहरुको मुख्य बसोबास भएको जिलाहरु हुन् । जसमा सबैभन्दा बढी यिनीहरु झापा जिल्लामा बसोबास गर्ने गर्दछन् । सतारहरु खासगरी कालो वर्णका, कपाल घुम्रेका र होचो कद र पुष्ट शरीर भएका हुने गर्दछन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार यिनिहरुको जनसंख्या ४२ हजार ६ सय ९८ रहेको छ । वि.सं. ०४८ सालको जनगणनामा यिनीहरुको जनसंख्या ३३ हजार ३ सय ३१ मा रहेको थियो यसरी यिनीहरुको जनसंख्या विश्लेषण गर्दा यिनीहरुको जन्मदर अत्याधिक बढेको अनुमान गर्न सकिन्छ ।

मुर्मु, हेम्ब्रुम, किस्कु, मष्डी, ढुडु, बाँस्के, हास्दा, बेसरा, चोडे, पौरिया, वेद्या, छपरा, गोपडुबा लगायतका थरहरु भएका सतारहरुको भेषभूषा सा¥है सरल हुने गर्दछ । सतार पुरुषहरु पातलो कडा, धोती र लङगौटी अनि माथिपट्टि गन्जी लगाउँछन् । सतार महिलाहरु भने सारी र ब्लाउज लगाउने गर्दछन् । यिनीहरुको पारम्पारिक पहिरनलाई ‘पालाहान्द’ र ‘पन्ची’ भनिन्छ । त्यस्तै महिला सताहरु खुट्टामा कल्ली, पाउजेव, हातमा औँठी, चुरा, कानमा मुन्द्राजस्ता गहनाहरु पनि लगाउने गर्दछन् ।

सतारहरु हिन्दु र ईसाई धर्म मान्ने गर्दछन् । अन्य जातिहरु जस्तै यिनिहरु पनि अन्धविश्वास राख्दछन् । विकट भेगमा बस्ने सतारहरु अझै पनि धामी, झाँकी, तन्त्रमन्त्रमा विश्वास राख्ने गर्दछन् । वर्षभरि अनेक देवीदेवताको पूजा गर्ने गर्दछन् । खासगरी देवता रोगव्याधि निको पार्ने देवता र पितृ देवताको पूजा गर्दछन् । अझ यिनिहरु पूजा नगरी जंगल पस्नु हुँदैन भन्ने सोच राख्छन् अनि आफ्नो देवताको पूजा गरेर आर्शिवाद लिएपछि मात्र जंगल पस्ने गर्दछन् ।

सतार जातिहरुको मुखियालाई ‘माजिहडाम’ भन्ने गरिन्छ । माजिहडामका लागि सहयोगी चाहिए ‘परानी’ भनिने एक सहयोगी पनि राखिन्छ । माजिहडामले सतार समुदाय तथा गाउँको झै–झगडा मिलाउने, जन्म, बिवाह र मृत्यू लगायतका कार्यहरुमा सहभागी हुने, गाउँलाई विकास निर्माण गराउने लगायतका काम गर्ने गर्दछ । माजिहडाम सतारको पुस्त्यौली हक हो यदि माजिहडामले बेकम्बा काम गरेमा उसलाई हटाएर अर्को माजिहडाम पनि राख्ने गर्दछन् ।

सतारजातिहरुको मुख्य पेशा भनेको कृषि तथा मजदुरी हो । मजदुरी र खेति किसानीबाट नै आफ्नो र आफ्नो परिवारको गर्जो टार्ने गर्दछन् । यिनीहरुलाई शिकारी जातिका रुपमा हेरिने गरिन्छ । फुर्सद पाउनासाथ शिकार गर्न निस्कने गर्दछन् । शिकार प्रायोजनमा यिनीहरु धनुषवाण नै प्रयोग गर्दछन् ।

अन्य जातिहरुझैँ यिनीहरुको चाडपर्व पनि विशेष हुने गर्दछ । महत्वपूर्ण चाडपर्वमा फागुपूर्णिमा, दशैं, सोहराई, बाहा, एरोक, बिसुवा, साकरात हुन् । दशैं पर्व मनाए पनि टीका भने लगाउने गर्दैनन् । दशैँलाई यिनीहरु ‘छाता पोरब’ भन्ने गर्दछन् । त्यस्तै सतार जातिमा ‘हरियाड’ भन्ने अर्को पर्व हुन्छ । जसमा धामी, झाँकी गर्ने काम सिकाउने गरिन्छ आफ्ना सन्ततिहरुलाई । यो पर्व भदौ पूर्णिमाबाट सुरु भई दशैं टीकाको भोलिपल्ट समाप्त हुने बताइन्छ ।


सतार समुदायमा बिवाह परम्परा निकै रोचक रहेको छ । बिवाह गर्दा केटा र केटीको पुत्ला बनाई बाँसमा ‘पेन्चु बूढा’ ‘पेन्चू बूढी’को नामले झुण्ड्याईं साक्षी राखिन्छ । ‘मन्जिथान’ भन्ने थानमा जाँड र बेसार चढाउने गर्दछन् । गाउँमा प्रकोप नओस् भनी मन्जिथानमा परेवा, सिन्दूर, चिनी, केरा आदि चढाइन्छ । त्यसैगरि सतारहरुमा मागी बिवाह, जारी बिवाह, साटी बिवाह, भाउजु बेहोर्ने बिवाह, बहुबिवाह, बिधुवा बिवाह, घरज्वाइँ राख्ने बिवाह, गर्भवति केटीलाई अर्को केटा खोजी गरिने बिवाह, केटी लगेर जबरजस्ती गर्ने बिवाह, केटालाई जबरजस्ती गर्ने बिवाह लगायतका १२ किसिमका बिवाह प्रथा कायम रहेको पाइन्छ ।

सतार जातिमा छोरी जन्मदा त्यति खुशी हुँदैनन् जति छोरा जन्मिदाको हुन्छ, कारण छोरीका बुबाआमाले छोरीको बिवाहमा ज्वाइँतर्फबाट ‘चुङ्ना’ भनिने दुई घ्याम्पा जाँड र मासु पाउने गर्छन् यदि बिवाहको चुङ्ना पाएपछि छोरी अन्य केटासँग पोइला गएमा माइती पक्षले दुई गुणा बढी चुङ्ना फिर्ता गर्नुपर्ने हुन्छ । केटा र केटीको मन पराएर पनि जबरजस्ती तानेको बयान केटीले माजिहडामलाई दिएमा केटीलाई केटाले सात रुपैयाँ लिएर इज्जतसाथ माइत पुर्यानुपर्छ ।

सतारहरुको अन्तिम संस्कार झनै रोचक छ । यिनीहरु मृतकको शरीर जलाउने र गाड्ने दुवै गर्दछन् । लासलाई जलाउनु र गाड्नुअघि त्यसमा सतार महिलाहरुले तेल लगाईदिने गर्दछन् अनि सिन्दुरको टीका लगाईदिने गर्दछन् । मानिस मरेको भोलिपल्ट ‘तेल नहान’ कार्य हुन्छ । त्यसपछि मात्र मृतकका परिवार र गाउँले शुद्ध भएको मानिन्छ ।

No comments: