Tuesday, February 22, 2011

रातो कमिला भुटेर खाने वनकरियाहरु

त्यन्तै लोपोन्मुख जाति तथा चरम गरिबीको शिकार भएका वनकरियाहरु मकवानपुर जिल्लाको हाँडीखोला गाबिस लगायतका क्षेत्रहरुमा बासोवास गर्दछन् । वनकरिया जातिको कूल जनसंख्या कहि पनि आधिकारिक रुपमा प्राप्त गर्न सकिन्न यसो हुनुका विविध कारणहरु छन् जसलाई यही पोष्टबाट प्रष्टाइने छ । प्रायः यिनिहरु वनजङ्गल क्षेत्रमा बसोबास गर्ने भएकोले गिठा, भ्याकुर, वनतरुल, फूलफूल लगायतका कन्दमूलहरु खाने गर्दछन् । त्यसैले यिनिहरु वनमा आश्रीत भएको हुनाले वनकरिया भनिएको भनाई छ तर यसलाई आधिकारिक मान्ने आधार चाहिँ कहिँ पनि उल्लेखित छैन । वनकरियाहरु समय परिस्थिति अनुसार आफूहरुलाई निकै परिमार्जित गर्दै लगेको विश्लेषण गर्न सकिन्छ । पहिले–पहिले यिनिहरु ६ महिना जंगलक्षेत्रमा र ६ महिना बाहिरका क्षेत्रमा बसोबास गर्ने गर्थे आजकल अग्ला–अग्ला डाँडामा बसोबास गर्दछन् ।

वनकरियाहरुको खानपानमा निकै विविधता पाइन्छ । जंगल आसपास बसोबास गर्ने हुनाले यिनिहरु जंगली कन्दमूल (गिठ्ठा, भ्याकुर, कुरिलो, तरुल) प्रायः मन पराउँछन् यसका अतिरिक्त ढिडो, भात, कोदोको रोटी, जुनेलो र मकैको रोटी, मकैको ढिडो पनि खानपिन गर्दछन् । रोकक के छ भने ! यिनिहरु जंगलमा पाइने रातो जंगली कमिला भुटेर खान निकै रुचाउँछन् तर यसबारे पर्याप्त जानकारी कहिँ पनि उपलब्ध छैन् । यिनिहरुको भेषभूषा प्रायः न्यूनस्तरको हुने गर्दछ । पुरुषहरु कम्मरमा कछाड, भोटो, इष्टकोट, टोपी पहिरहन्छन् त्यस्तै महिलाहरु गुन्यू, चेली, पटुका, मजेँत्रो पहिरन्छन् । यिनिहरु चप्पल, जुत्ता कहिल्यै लगाउँदैनन् । प्रायः खाली खुट्टा हिँड्न मन पराउँछन् । वनकरियाहरुमा सामाजिक समानता भएको विश्लेषण गर्न सकिन्छ । कारण महिला र पुरुष बराबरी ठानिन्छन् । रोचक के छ भने यिनिहरुको जातिमा पुरुष भन्दा महिलामा सामाजिक सचेतना आएको प्रष्टै देख्न सकिन्छ । अर्थात घरव्यवहार तथा सामाजिक कृयाकलापहरुमा पुरुषभन्दा महिला नै अग्रपंक्तिमा हुन्छन् । सम्पूर्ण व्यवहारहरु महिलाहरुले नै सम्हाल्ने गर्दछन् । यिनिहरुमा पुरुषभन्दा महिला सचेत एवं विश्वसनीय मानिने बताइन्छ ।

वनकरिया जातिको आर्थिक स्थिति निकै कमजोर छ । यिनिहरु चरम गरिबीको मारमा परेका छन् । आम्दानीका स्रोतहरु पर्याप्त छैनन् । यिनिहरु कृषि उत्पादनमा ध्यान दिँदैनन् । यिनिहरु पशुपालन पनि गर्दैनन् । कारण पशुपालन गर्न धेरै खर्च लाग्ने गरेको र खर्चको अभावमा सो कार्य नगरेको बताउँछन् । यिनिहरु प्रायः बाँस तथा नर्कटका डोको, नाङ्लो, थुन्चे, कोक्रो बनाई बेचबिखन गर्दछन् त्यसबाट नै आफ्नो गर्जो टार्ने गर्दछन् त्यस्तै यिनिहरु जंगली कन्दमूलहरु पनि बेचबिखन गरी अर्थ संकलन गर्दछन् । वनकरिया जातिको आफ्नै भाषा भएको बताइन्छ । वनकरिया र चेपाङहरुले बोल्ने भाषा एउटै भएको बताइन्छ । यिनिहरु आफ्नो भाषामा रुखलाई सिं, सुँगुरलाई प्याक, गाईलाईस्या, भातलाई आम, घरलाई किम, पानीलाई टी, मानिसलाई मान्था, केरालाई माइसाई, केटाकेटीलाईठिटाठिटी, चामललाई चुई भन्दछन् ।

वनकरियाहरु आफ्नो संस्कार विधि विधान एकदमै कम अवलम्बन गर्दछन् । यिनिहरु जन्म संस्कार, छेवर, विवाह र मृत्यू संस्कार मात्र विधिवत् रुपमा पालना गर्दछन् । यिनिहरुकोमा छोरा जन्मे ११ दिनमा र छोरी जन्मे १३ दिनमा न्वारन गर्ने प्रचलन छ । न्वारनमा यिनिहरु झाँक्रीलाई आमन्त्रण गर्दछन्, उसैले नवजात शिशुको नामकरण गर्ने गर्दछ । त्यस्तै यिनिहरुको छेवर(केशमुण्डन) गर्दा बालक ७ वर्षको पुग्नुपर्छ । केशमुण्डन गर्दा मामाको हातबाट सुरुवात गरिन्छ । केशमुण्डनमा यिनिहरु भोज, भत्तेर खुवाउने गर्दछन् ।

वनकरियाहरुमा मागी विवाह सर्वोपरी छ । केही–कोहीहरुको जंगलमा कन्दमूल खोज्न जाँदा माया–प्रेम बसे प्रेम विवाह गर्दछन् । यिनिहरुमा जंगलमै गएर श्रीमति साटासाट गर्ने अचम्मको परम्परा पनि रहेको बताइन्छ । मागी विवाहमा केटी माग्न जादाँ केटापक्षले रक्सीको भाँडो लिएर जाने गर्दछ । विशेषतः यिनिहरु विवाह गर्दा चेपाङ्ग जातिसँग मात्र गर्दछन् ।

वनकरियाहरुमा कोही मान्छेको मृत्यू भए गाड्ने र जलाउने दुवै गर्दछन् । लासलाई गाड्दा सालको बोक्रामा ओछ्याई त्यसैमाथि लासलाई राखिन्छ त्यसपछि माटोले पुर्ने गरिन्छ । यसो गर्नाले लास लामो समयसम्म सड्दैन भन्ने भनाई छ । यिनिहरु १३ औँ दिनसम्म जुठो बार्ने गर्दछन् ।

No comments: