भाग्न सजिलो हुने भएकाले बसपार्क वरिपरि गतिविधि
सांकेतिक नाम राखेर हतियार बिक्री गर्ने गिरोह राजधानीमा सक्रिय भएको प्रहरीले फेला पारेको छ । बागबजार, रत्नपार्क, बालाजु, गोंगबु, कलंकी, सुनधारा, जमल र ठमेलको बसपार्कमा यी गिरोहका एजेन्टहरू परिचय लुकाएर सक्रिय रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अपहरण, हत्या, लुटपाट र चोरी अपराधमा पक्राउ परेका समूहहरूले दिएको बयानको आधारमा महानगरीय प्रहरीले त्यस्ता समूह पत्ता लगाएको हो । एक प्रहरी अधिकृतका अनुसार सामान्य गल्लीका डन र चोरीमा संलग्नबाट कटुवा र चाइनिज पेस्तोल बरामद हुन थालेपछि दुई महिनाअघि छुट्टै अनुसन्धान टोली गठन गरेको थियो ।
'यी गिरोहले अग्रिम भुक्तानी लिएर हरेक प्रकारको हतियार र गोली उपलब्ध गराएको देखिएको छ,' एक अनुसन्धान अधिकृतले भने । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, नौ महिनामा मात्र काठमाडौंमा १९ पेस्तोल र ३५ राउन्ड गोली, ललितपुरमा ३ पेस्तोल र २४ राउन्ड गोली तथा भक्तपुरमा एक पेस्तोल र ७ राउन्ड गोली अपराधी समूहरूबाट बरामद गरेको छ ।
मुलुकभरि यो अवधिमा २९ भरुवा बन्दुक र ८ गोली, १५ नलकटुवा बन्दुक र २९ गोली, एक १२ भोरको बन्दुक र १६ गोली, नौ राउन्ड एसएलआरको गोली, २२ राउन्ड थ्रीनट थ्रीको गोली र १३ राउन्ड सट गनको गोली बरामद भएको छ । उनीहरूले चाइनिज रिभल्वरलाई 'आइसक्रिम' भरुवा बन्दुकलाई 'पाइनापल', कटुवा पेस्तोललाई 'ललिपोप' र राइफललाई 'डंकी हेड' अर्थात 'गधाको टाउको,' सांकेतिक नाम राखेर बसपार्क क्षेत्रहरूमा यसको कारोबार गरिरहेको देखिएको छ ।
गिरोहले 'रेड हरर,' 'गि्रन सिग्नल' र 'अफ्रिकन टाइगर' जस्तो नाम राखेर यसको धन्दा गर्दै आएको सुरक्षा स्रोतले जनाएको छ । समूहका सदस्यहरूले वास्तविक नामभन्दा 'अब्बु,' 'आलिसे,' ' लोसे,' ' भेजी,' र ' पाङ्ग्रे' जस्तो नाम राखेर हतियार बेच्छन् । राजधानीका अधिकांश यस्ता गिरोहले भारतको विहार र तराईमा अपराधमा संलग्नको सहयोगमा हतियार उपलब्ध गराइरहेको अनुसन्धान अधिकृतहरूले बताए ।
'सुरुमा भुक्तानी गर्नुपर्छ, गोप्य स्थलमा हतियार राखिदिन्छौं, फरक पर्दैन,' बालाजुमा आइतबार एक समूहका सदस्यले भने, 'यो विश्वासको काम हो, त्यही भएर मेरो सम्पर्क नम्बर र परिचय नमाग्नुस् ।' सुईको पाएर प्रहरीले आएर कारबाही गरिहालेमा पनि भाग्न सजिलो हुने भएकाले बसपार्क जस्तो खुल्ला क्षेत्रलाई कारोबारका लागि रोजेको उनले बताए । नौ महिनाको अवधिमा हतियार बेचबिखन र लुटमा संलग्न १६ भन्दा बढी समूहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
No comments:
Post a Comment