Monday, February 2, 2009

पारित भयो माओवादीको विधान

एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) को संविधानसभा दलको विधान पारित भएको छ । पार्टी एकतापछि माओवादी संसदीय विभागले संशोधनसहित प्रस्ताव गरेको दलको विधान पारित भएको हो ।

सोमबार सिंहदरबारस्थित माओवादी संविधानसभा दलको कार्यालयमा बसेको बैठकले पारित गरेको दलको विधानमा दलका नेता, उपनेताको काम कर्तव्य र अधिकार, मुख्य सचेतक, सचेतकको काम, कर्तव्य र अधिकार तथा पार्टीका सभासद्हरूले पालना गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषय उल्लेख गरिएको छ ।

बैठकले दलको सचिव र कोषाध्यक्ष चयन गर्ने जिम्मा प्रमुख सचेतक र सचेतकलाई दिएको छ ।

यसैगरी बैठकमा एकीकृत नेकपा -माओवादी)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आआˆनो मन्त्रालयमा भइरहेको कार्यप्रगतिका बारेमा बैठकमा समीक्षा गर्नुभएको थियो ।

सम्बन्धित मन्त्रालयबाट गर्ने कामकारबाहीमा पार्टीको नीति र योजनालाई कार्यान्वयन गर्दै जनतालाई उन्नत र नयाँ अनुभूति गराउन तयार पारिएका योजना तथा नीतिका विषयमा मन्त्रीहरूले बि्रफिङ गर्नुभएको थियो ।

अर्थमन्त्री तथा वरिष्ठ माओवादी नेता डा. बाबुराम भट्टाराईले आˆनो मन्त्रालय सम्बन्धमा बि्रफिङ गर्नुभएको थियो । उहाँले सरकार, सदन, बजेट विनियोजन विषयमा मन्तव्य दिनुभएको थियो ।

कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देव गुरुङले विधानको विषयमा बोल्नुभएको थियो ।

शान्तिमन्त्री जनार्दन शर्मा र सामान्य प्रशासनमन्त्री पम्फा भुसालले मन्तव्य दिनुभएको थियो ।

संविधानसभा दलको सोमबारकै बैठकले पारित गर्ने भनिएको सभासद्हरूका लागि तयार पारिएको आचारसंहिताका विषयमा भने अर्को बैठकमा छलफल गरिने प्रवक्ता शर्माले बताउनुभयो ।

सोमबार बसेको बैठकले संसद् कसरी सञ्चालन गर्ने, त्यसको कार्यविधि, सदस्य सभासद्हरूको जिम्मेवारी, काम, कर्तव्य विषयमा छलफल भएको युवा सभासद् राजकाजी महर्जनले बताउनुभयो ।

उहाँका अनुसार एकीकरणपछि बनेको पार्टीको नामलाई विधानमा उल्लेख गरेको कुरा बताउनुहँुदै माओवाद/माओविचारधारा र प्रचण्डपथलाई राष्ट्रिय सम्मेलनमा अन्तिम निष्कर्षमा पुर्‍याउने कुरा बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्ड अनुपस्थित हुनुहुन्थ्यो । बैठकमा माओवादीका मुख्य सचेतक पोष्टबहादुर बोगटी, चन्द्रप्रकाश गजुरेल, अमिक शेरचनलगायतको उपस्थिति थियो ।

No comments: