Wednesday, February 18, 2009

एमाले प्रतिनिधिहरूका नाउँमा

खगेन्द्र संग्रौला

छतमा उभिएर हाते फोनबाट नम्बर डायल गरेँ । बटौलीबाट एकजना जबजमार्गी मित्रले ठूलो स्वरमा भने- 'हेलो दाइ !' हौसिएर तिनका भुइँमा खुट्टा थिएनन् । फुरुङ्ग पर्दै तिनले फर्माए- 'दाइ ! मुलुकै उल्टिएर बटौली आ'छ । सेरोफेरोमा खुट्टा हाल्ने ठाउँ कतै छैन । मान्छे कमिलाको गोलोसरी स्याउँस्याउँती छन् । म खचाखच सडकमा निसासिँदै उभिएको छु । बटौलीमा सात लाखजति जन जुटेका छन् ।'

सोचेँ, अन्ध-आस्थाका आँखाले हेर्दा यस्ता भेलाको हरेक मानिस रावणझैँ दसटाउके देखिँदो हो । यसरी एक बराबर दसको गन्ती गर्दा बटौलीमा सात लाख जन देखिए हुनन् । जे होस्, यथार्थमा सौ-पचास हजार जन त पक्कै होलान् नै । त्यो लर्तरो संख्या होइन । ती त्यहाँ झुम्मिएका मालिक खोज्न होला कि जीवन संघर्षमा साथ दिने र जीवनको दिशा पहिल्याउने विचारधारा र नेता रोज्न ? कि फगत राजनीतिक कुम्भमेलाको लक्ष्यहीन, दिशाहीन र अर्थहीन राम-रमिता निःशुल्क नजर गर्न ?

प्रतिनिधि जबज कणहरू,

एउटा सत्य कथा भन्छु । कथा मेरो गृहनगरी चाबेल भेगको हो । रैथाने एमाले कणहरूले समावेशी पाराले प्रतिनिधि रोज्ने नीति बनाएछन् । रोजाइ समावेशी हुन एउटा दलित त चाहियो नै । रोज्ने अख्तियार पाएका मझौला नेताहरू दलित प्रतिनिधि खोज्न र रोज्न चारै दिशाबाट एक घना बस्तीमा पसेछन् । दुर्भाग्यवश, त्यत्रो ठूलो बस्तीभरि एमाले दलित एउटा पनि फेला परेनछ । सारा दलित एमाले पार्टीबाट अन्तै बसाइँ सरिसकेछन् । बल्लतल्ल एक मध्यपन्थी दलित फेला परेछन् । र, भगवान् श्री पशुपतिनाथका कृपाले दलित प्रतिनिधिको गर्जो टरेछ ।

जगत् जान्दछ, एमाले पार्टीको हकमा यो एक प्रतिनिधिमूलक उदाहरण हो । जबजको जायजन्म केवल वेस्टमिनिस्टर मोडेलको संसदीय राज्यव्यवस्थाका औपचारिक अलंकारहरू स्वीकार गर्ने कृत्यका रूपमा भएको थियो । जब प्रेमपूर्वक जबजको झन्डा बोकियो, माओ विचारधारालाई घृणापूर्वक परित्याग गरियो । जबजको झन्डासँगै एमालेले नवउदारवादको जनमारा झन्डा पनि सभक्ति बोक्यो । अब भने एमालेमा व्यक्ति-स्वार्थ र गुट-स्वार्थ हाबी भयो । देश-दुनियाँको हित-भलो यिनै दुईथरी स्वार्थका क्रूर पाइलामुनि किचियो । अनि एमाले नेतृत्वको नित्य कर्म ज-जसको कृपा र आशीर्वादबाट हुन्छ सत्तामा उक्लिनु, उक्लेर जे-जे हात लाग्छ, त्यो ज्युनार गर्नु, जसरी हुन्छ धनसञ्चय गर्नु र जति सकिन्छ, इहलोकको सुख-भोग गर्नु भयो ।

यसरी जबजमार्गी एमाले श्रमबाट पूरापूर विमुख भयो र पुँजीको अनन्य भक्त बन्यो । उसले श्रमिकलाई भुसुक्कै बिस्र्यो र पुँजीपतिलाई स-सम्मान शिरोेपर गर्‍यो । उसले गाउँलाई चटक्कै बिस्र्यो र सहरको ऐश-आराममा ऊ लिप्त भयो । उसको पेटमा बोसो र दिमागमा खिया लाग्यो । र, ऊ जनजनका धड्कन सुनेर यथार्थको आँकलन गर्न सर्वथा असमर्थ भयो । तैपनि मनचिन्ते काइदाले उसले सोचिरह्यो- मुलुकभरिका जनता मेरै सेवामा समर्पित छन् । संविधानसभाको चुनावको त्रासद नतिजापछि एमाले नेतृत्वलाई बल्ल ज्ञान भयो- दलित र गरिब, उत्पीडित र सीमान्तीकृत, भोका र नाङ्गा सकल जनले उसलाई उपियाँले मरेको मुसोलाई त्यागेझैँ त्यागिसकेका रहेछन् । गरिखाने यो सामाजिक शक्ति एमालेको जग थियो । जग डिपिसीसहित रित्तो भएछ । अहिले जगविनाको एमाले शून्य आकाशमा तुन्दु्रंग झुन्डिएको छ । एमाले प्रतिनिधि कणहरू ! बटौली भेलामा यो रित्तो जग भरेर त्रिशंकु एमालेलाई ठोस धरातलमा उभ्याउने जादु छ कि क्यै ?

प्रतिनिधि जबज कणहरू,

जबज नाउँको अमूर्त, छलकारी र पाखण्डयुक्त झन्डा बोकेपछि संसदीय वृत्तमा एमाले कसै न कसैको पुच्छर बनिरह्यो । अल्पमतको नौमहिने शासन किञ्चित् मात्रामा यस तथ्यको अपवाद होला । नत्र पुच्छरपथ सदैव जबजको पर्याय बनेको तथ्य लोकसामु छर्लंग छ । पुच्छरपथप्रति नित्य प्रतिबद्ध एमाले कहिले कांग्रेसको पुच्छर बन्यो, कहिले चन्दरूपी महापञ्चको र कहिले तानाशाह ज्ञानेन्द्र शाहको । उसको आपmनो अलग विचारधारा, अलग वर्ग-आधार, अलग लक्ष्य र अलग आचरण रहेन । उसो त उसको पृथक् अस्तित्व, पृथक् आदर्श र पृथक् पहिचान पनि कहिल्यै गोचर भएन । एमाले प्रतिनिधि कणहरू ! बटौली मेलामा पुच्छरपथ त्यागेर एमालेले आपmनो अलग विचारधारा, पृथक् अस्तित्व र पृथक् पहिचान निर्माण गर्ने उपाय केही होला ?
एमाले नेतृत्वमा जबजको सच्चा उत्तराधिकारी कहलिने होडबाजी बडो विचित्रको छ । मेरो विचारमा जबज छिनेको त्यस्तो हल्लुँड हो जसलाई विचारको जुवामा झुन्ड्याएर राजनीतिको खेत जोत्न किमार्थ मिल्दैन । तैपनि यही व्यर्थको हल्लुँडका लागि एमालेमा हास्यास्पद तानातान र हानाहान चलिरहेछ । एकथरी पात्र जबजलाई चण्डीको तोत्र सम्झेर यसमा गाजल लाउनु नहुने जिद्दी गरिरहेछन् । अर्काथरी पात्र यसो केही टालटोल गरेर यसमा भ्रान्तिकारी रङ लेपन गर्ने तर्क गरिरहेछन् । जेको कुनै अर्थ, प्रासंगिकता र उपयोगिता छैन, त्यसलाई टालटोल गर्नुको न कुनै तुक छ, न त औचित्य नै छ ।

प्रतिनिधि जबज कणहरू !


बटौली भेलामा अर्थ न बर्थको यो हल्लुँड बिसाइन्छ कि यसलाई घाँडोसरह घाँटीमा भिरेरै छाडिन्छ ?
यता-उति केही संरचनागत हेरफेर, प्राविधिक टालटोल, खत्र्याक-खुत्रुक समावेशी र पाखण्डी अभिनय गरेर मृतवत् एमालेमा प्राण सञ्चार हुन असम्भव छ ? मूल कुरा जिउँदो र अर्थपूर्ण विचारधाराको हो । मूल कुरा त्यो विचारधाराको झन्डा बोक्ने गतिशील, आवेगशील र स्पन्दनशील नेतृत्वको हो । मूल कुरा पार्टीको वर्ग-आधारको हो । पुँजीमार्गी जबजकै भजन गाउनु छ, नवउदारवादकै उपासना गर्नु छ र कसै न कसैको पुच्छर भइरहेर राजनीतिको व्यापार गर्नु छ भने त माक्र्सवाद-लेनिनवादको सट्टा हाक्काहाक्की खाओवादको झन्डा बोक्नु इमानको कुरा हो । एमाले प्रतिनिधि कणहरू ! जो जे हो, त्यसले आफूलाई त्यै भन्नुमा लोकको हित निहित छ ।

म सुन्छु, बटौली भेलामा केही अनिष्ट हुने खतरा चर्को चर्कै छ । सुलसुले भन्छ, यो अनिष्ट नेतृत्व चयनसित गाँसिएको छ । भेलारूपी मेलामा सरकारको वाम समीकरणलाई भत्काएर प्रधानमन्त्री बन्न कसैले खुट्टो उचालेको छ । कटु सत्य भनूँ, यो प्रधानमन्त्री अगाडिबाट हेर्दा कांग्रेसको प्रधानमन्त्री हुनेछ र पछाडिबाट हेर्दा सेनाको प्रधानमन्त्री हुनेछ । एमाले प्रतिनिधि कणहरू ! कसैको पुच्छर प्रधानमन्त्री बनेर शान्तिप्रक्रियाको घाँटी निमोठ्दै युद्धलाई निम्त्याउन खोज्ने खलपात्र यो को हो ?
आयो अब नेतृत्व रोज्ने कुरा । नेतृत्व चयनमा एमालेलाई विचारशून्य यो भड्खारोमा जाक्नेहरूको स्थान र मान के कस्तो होला ? बद्नाम पजेरो संस्कृतिको सिर्जनामा दह्रो योगदान गर्ने नेतृत्वको स्थान र मान कस्तो होला ? सत्ताको नशामा लठि्ठएर महापञ्च चन्द बाबुसाहेबलाई शिरमाथि बोक्ने नेतृत्वको स्थान र मान कस्तो होला ? बल्खु मुख्यालयको भित्तोबाट कार्ल माक्र्सको तस्बिर झिकेर अमेरिकी राजदूत मालिनोभस्कीका चरणमा चढाउने नेतृत्वको स्थान र मान कस्तो होला ? नागरिक हक हरण गर्न र जनताका छोराछोरीलाई मार्न आतङ्ककारी विधेयकमा ल्याप्चे ठोक्ने र सङ्कटकाल लगाउन सहमत हुने नेतृत्वको स्थान र मान कस्तो होला ? ज्ञानेन्द्र शाहको तानाशाही आधा सच्चियो भन्दै शाही तबेलामा दानापानी ग्रहण गर्न जाने नेतृत्वको स्थान र मान कस्तो होला ? यी सबै विचलनकारी कृत्यहरूको योगफलको रूपमा एमालेलाई खुइल्याएर यो महासङ्कटको विन्दुमा पुर्‍याउने नेतृत्वको स्थान र मान कस्तो होला ?

एमाले प्रतिनिधि कणहरू !

जबजको दृष्टिमा कति ठाउँमा कति पटक हारेपछि नेतृत्वको कुनै पात्र हरुवामा दरिने हो ? अनि कति ठाउँमा कति पटक हारेपछि ऊ नेतृत्वकारी आसनमा विराजमान हुन नालायक ठहरिने हो ? एमाले कणहरू हो ! के यो रहस्यमय जबजका दृष्टिमा जीत र हार, लोकपि्रयता र अलोकपि्रयता, लायक र नालायक, गतिशील र जडबीच कुनै भेद हुँदैन ? के एमाले प्रतिनिधि कणहरूको नियति हरुवाहरूलाई धुलाबाट उठाएर सधैँ काँधमा बोक्नुमात्र हो ?

अनि नेतृत्व चयनमा एमालेको नेतृत्व तहका तुक्काजीवी बतासे र चटके पात्रहरूको स्थान र हैसियत के हुने हो ? जनआन्दोलनकालमा जो कालो धनले बनाएको कैलाशकुट भवनको छतमा उभिएर नीलो आकाश हेर्दै हाइ काड्दै थियो, उसको स्थान र हैसियत के हुने हो ? जो रिपोर्टर्स क्लबमा क्यामेरालाई आपmनो करिबन राजावादी अनुहार देखाएर जीवन-मरणको मोर्चामा डटेका गणतन्त्रवादी युवाहरूलाई गिज्याउँदै थियो, निजको स्थान र हैसियत कस्तो हुने हो ? जो रायमाझी आयोगको प्रतिवेदन पढेर 'राजालाई कारबाही गर्नु नपर्ने' राय दिँदै थियो, निजको स्थान र हैसियत के हुने हो ? जो विषयगत ज्ञानको दरिद्रताको क्षतिपूर्ति गर्न टुच्चवाणीको अविरल सिर्जना गर्न माहिर छ, निजको स्थान र हैसियत के हुने हो ? एमाले प्रतिनिधि कणहरू ! अनि बेल्जियमको सिसा र सिङ्गापुरको सिङ्गमर्मर जडान गरी हवेली खडा गर्ने विलासवीर भनिने पात्रको चित्त र चरित्रको शुद्धि चाइने कसरी गरिने हो ?

बटौली भेलामा बडो उदारतासाथ युवाहरूलाई नेतृत्वमा स्थान दिइने कुरा म सुन्दै छु । मार्गदर्शक सिद्धान्त उही अर्थहीन जबज, नेतृत्वको सिरानमा इतिहासको परीक्षामा असफल भएका उनै हरूवा अनुहारहरू, पात्र उही, प्रवृत्ति उही, आचरण उही, संस्कार उही । यो उच्चाटलाग्दो नाटकमा केही युवा अभिनयकर्ता थपिएर आखिर के फरक पर्ला ? म त भन्छु, सढेगलेका पात्रहरूलाई नेतृत्वबाट खसालेर किनारा लगाउन जोखिन नउठाउने र तीसँग आँखा जुधाउन आँट नगर्ने पात्रहरू युवा नै होइनन् । लु सुनका शब्दमा ती त तरुण कुममाथि बूढा टाउका भएका शुष्क जीव हुन् ।
एमाले युवा प्रतिनिधिहरू ! तपाईँहरूका काँध इतिहासका शवहरू बोक्नका लागि मात्र हुन् र ?

No comments: