Monday, April 25, 2011

फुर्सदमा उपयोगी साइट

फुर्सदमा उपयोगी साइट


कुनै-कुनै साइट यस्ता छन्, जसको प्रयोग गर्दा ज्ञान बढ्नुका साथै मनोरञ्जन पनि हुन्छ।

एसएलसी परीक्षा सकियो। पुस्तकबाट केही समयका लागि छुट्कारा मिलेको छ। अब छुट्टी अन र टेन्सन अफ भएको छ। फुर्सदको समयमा  अनलाइनमा झुम्मिनु अहिले सबै विद्यार्थीका लागि सामान्य भैसकेको छ। त्यो फुर्सदको अनलाइन बसाइलाई पनि प्रभावकारी बनाउन सकिन्छ।

आफ्ना विभिन्न रुचि पूरा गर्न विभिन्न स्थानमा पुग्नुपर्छ। त्यसका लागि खर्च पनि धेरै लाग्छ, तर यो फुर्सदमा ती रुचिसँग सम्बन्धित  जानकारी अनलाइनमार्फत नै प्राप्त गर्न सकिन्छ। अनलाइनमार्फत जानकारी दिने धेरै साइट उपलब्ध छन्। तीमध्ये फरक फरक रुचि पूरा गर्न  उपलब्ध साइटसम्बन्धी केही जानकारीः

guitarplayerworld.com

गितार सिक्न चाहनेहरूले नियमित रूपमा कक्षा लिनु आवश्यक छैन। यसका लागि यो साइटमार्फत अनलाइन पनि सिक्न सकिन्छ। यसमा  सिलसिलेवार रूपमा गितार बजाउने विधि सिक्न सकिन्छ। यसमा गितारसँग सम्बन्धित विभिन्न टेक्निक, जस्तै— गितार ट्याब्स, गितार प्रो फाइल्स, एमपीथ्री फाइल्स, सफ्टवेयर आदिका बारेमा समेत जानकारी उपलब्ध छ। यसको सफ्टवेयर आफ्नो कम्प्युटरमा डाउनलोड पनि  गर्न सकिन्छ।

sketchup.google.com

चित्र वा स्केच बनाउन सिक्नेहरूका लागि यो साइट एकदमै उपयोगी छ। युवापुस्ताका बीच यो साइट लोकप्रिय पनि छ। यसले थ्रीडी मोडल  क्रिएट गर्न पनि सिकाउँछ। यो साइटको सहयोगमा विभिन्न टुल्स प्रयोग गरी आफूलाई मन पर्ने स्केच बनाउन सकिन्छ।

cartoonster.com

यो साइटले अनलाइन एनिमेसन ट्युटोरियल उपलब्ध गराउँछ। यसको मदतले एनिमेसन टुल्स तयार गर्न सकिन्छ। यसमा विभिन्न च्याप्टर  छन्, जसले विभिन्न क्यारेक्टरको चित्र बनाउन र त्यसलाई एनिमेट गर्न सिकाउँछ। यसका लागि प्रयोगकर्ताले एउटा आइडी र पासवर्ड छनोट  गर्नुपर्छ।

teensforplanetearth.org

वातावरण जोगाउने नारा अहिले निकै लोकप्रिय छ। यो साइटको सहयोगले हामी पनि उक्त अभियानमा सामेल हुन सक्छौ। पृथ्वीलाई  प्रदूषणबाट बचाउन कुनै पनि  प्रोजेक्ट छनोट गरी त्यसमा सामेल हुन सकिन्छ।

ज्ञान र मनोरञ्जन एकसाथ

कुनै-कुनै साइट यस्ता छन्, जसको प्रयोग गर्दा ज्ञान बढ्नुका साथै मनोरञ्जन पनि हुन्छ। यी साइटमा भएका विभिन्न प्रकारका खेल वा प्रो ग्रामलाई कम्प्युटरमा डाउनलोड गरी फुर्सदमा उपयोग गर्न सकिन्छ, जसमा पजल, थ्रीडी वा सुटिङ गेम आदि हुन  सक्छन्।

इन्टरनेट अहिले मानिसका लागि अभिन्न अंग भैसकेको छ। यसको सहयोगले धेरै काम गर्न सकिन्छ, संसार बुझ्न सकिन्छ। साथीभाइहरूसँग  विभिन्न अनावश्यक विषयमा गफ गरी समय खेर फाल्नुभन्दा यस्ता महत्त्वपूर्ण साइट अध्ययन गरे केही न केही फाइदा अवश्य हुन्छ।  इन्टरनेटमा खोजी गर्दा यस्ता विभिन्न साइट भेटिन्छन्। खोजीका लागि गुगललगायतका विभिन्न सर्च इन्जिन प्रयोग गर्न सकिन्छ। त्यसमा  आफूलाई मन लागेको विषय टाइप गरे यस्ता हजारौ साइट भेटिन्छन्। आफ्नो रुचिको विषय कुन हो र कुन साइट आफ्ना लागि उपयोगी छ  भन्ने थाहा पाउनु नै महत्त्वपुर्ण कुरा हो। त्यसैले यो लामो फुर्सदमा यस्ता साइट खोजी गरी रुचीकर विषयमा जानकारी लिए भविष्यमा फाइदा  नै हुन्छ।

No comments: