Tuesday, February 22, 2011

‘ला कछाड लगा’ भन्दै पारपाचुके गर्ने दुराहरु


‘दुराहरु(Duras)’ कस्ता शारिरीक बनोट हुन्छन भनी थाहा पाउन मगर र गुरुङहरुलाई हेरे पुग्छ । होचो कद, गहुँगोरो अनुहार, चेप्टो छोटो नाक भएका दुराहरु मंगोल वर्णका हुन्छन् । लमजुङ जिल्लाको दक्षिणी भेग लगायत हाँडी खोला, सिँदुरे, लुर्लङकोट, रवजे गाउँ, ठूला स्वारा, भोर्लेटार, सिमौल चौर, चिसकु, आम डाँडा, सीसाघाट, धर्मपानी, रामथुंकी, तनहुँसुर आदि प्रमुख ठाउँहरुमा यिनिरुको मुख्या बसोबास रहेको छ । लगाई र खुवाईमा मगर र गुरुङ जातिको सिको गरेका दुरा समुदायका पुरुषहरु कछाड, कमिज, टोपी, भोटो, कोट, पेन्ट कमिज, स्वीटर ज्याकेट आदिहरु मनोमानी ढंगले लगाउँछन् । त्यस्तै महिलाहरु पनि साडी, चोलो, लुङ्गी लगाउँछन् ।

एकै ठाउँ गुचमुच्च भई जोडाएर घर बनाउन मन पराउने दुराहरु अन्य जाति(विशेष गरी मगर, गुरुङ, लिम्बु)जस्तै गरी सेनामा जागिर खान मनपराउँछन् । नेपाली सेना, भारतीय सेना, ब्रिटिस सेना यिनिहरुको रोजाईमा पर्ने गर्दछ । यिनिहरुको प्रत्येक घरबाट एकजना भए पनि सेनामा भर्ति हुने गरेको बताइन्छ । यिनिहरु घरमा गाई, भैंसी पालेर दुध खाने गर्दछन् । त्यस्तै कुखुरा, खसी र भैंसी पालेर मासु खाने गर्दंछन् । अन्य मतुवाली जाति जस्तै यिनिहरु पनि जाँडरक्सी असाध्यै खान्छन् ।

दुरा समुदायको आफ्नै जातीय संस्कार, पहिचान, संस्कृति भए पनि यतिखेर विभिन्न कारणले ओझेलमा पर्दै गरेको बताइन्छ । आधुनिक शैली र पश्चिमेली सँस्कृतिको कारण युवा पिढीहरु दुरा संस्कृति र परम्परा विस्तारै विर्सदै गएको बताइन्छ । दुरा समुदायको सति र बाह्रमासे घाटु नाच एकदम प्रचलित रहेको छ । सति घाटु नाच्दा रजस्वला नभएका दुई कन्याबाट सुरु गरिन्छ । नाच सिकाउनका लागि पारङ्गत भएका एकजना गुरु पनि सँगै राख्ने गरिन्छ । घाटु नाचको अन्तिम नाच हेर्न जानेहरुलाई भोजका रुपमा जाँडरक्सी, मासु खुवाइन्छ । यस्तो भोजलाई ‘खोइ खाने’ भनिन्छ । बाह्रमासे घाटु नाच चाहिँ बाह्रै काल नचाइने गरिन्छ ।

दुराहरु हिन्दु धर्म र बौद्ध धर्म मान्ने गर्दछन् । हिन्दु धर्म मान्नेरु ब्रत बस्ने, रामायण पढ्ने, स्वस्थानी पूजा गर्ने, दशै तिहार मनाउने गर्दछन् । त्यस्तै बौद्ध धर्म मान्नेहरु लामा ‘घ्याप्रिङ’(कर्मकाण्ड गर्ने पुरोहित) बोलाई वर्षमा पितृ पूजा गर्दछन । कात्तिक र चैत महिनामा कुलपूजा गर्दछन् । यिनिहरु पनि धामी झाँक्रीमा असाध्यै विश्वास राख्छन् । हरेक कुरामा भाकल गर्ने, बली चढाउने गर्दछन् ।

दुरा समुदायमा बच्च जन्मेको तीन दिनको दिनमा न्वारन गरिदिने चलन छ । पहिलो चोटी जेठो छोरो जन्मे ‘पुटपुटे’ भन्ने गरिदिइन्छ । बच्चाको पुटपुटे गरिदा बच्चाका मावली र गाउँलेहरुलाई आमन्त्रण गरिन्छ । सबैले बच्चालाई आर्शिवाद र उपहार दिने गर्दछन् । आमन्त्रित पाहुनाहरुलाई सम्मान स्वरुप दुई सय, एक पाथी रक्सी, छानेको जाँड, मकै पिँडालुको अचार दिने गर्दछन् ।

दुरा समुदायको बिवाह संस्कार रोचक रहेको छ । बिवाह गर्दा एउटै थरबट गर्ने गरिदैन । मागी बिवाह गर्दा केटा र केटीको स्वीकृति विना नै गरिदिने गरिन्छ । विवाहको कुरा मिलेपछि साइपाटामा लगेको भाले र केटीपक्षबाट एउटा पोथी ल्याई काटिने गरिन्छ । त्यसपछि कलेजो बाहेकको भागलाई पकाई कलेजोद्वारा जोखना हेर्ने गरिन्छ । यस्तो प्रचलन गुरुङहरुमा पनि कायम रहेको छ, यसलाई पढ्न यहाँ क्लिक गर्नुहोस् ।

दुरा समुदायको पारपाचुके(सम्बन्धविच्छेद) प्रसङ्ग अत्यन्तै रोचक रहेको छ । जसरी नेवारी महिलाहरु बेल फुटाएर पारपाचुके घोषणा गर्दछन्, मुस्लिमहरु तीन चोटी ‘तलाख’ भनेर पारपाचुके गर्छन त्यसरी नै यिनीहरु पनि पारपाचुके गर्दा लोग्नेले ‘ला गुनियो लगा’ भन्ने गर्दछ र स्वास्नीले लोग्नेलाई पारपाचुके गर्दा ‘ला कछाड लगा’ भनेर पारपाचुके गर्ने गर्दछे । यसरी यिनिहरुको पारपाचुके हुने गर्दछ ।

दुरा समुदायमा अन्तिम संस्कार गर्दा ‘घ्याप्रिङ’ बोलाइने गरिन्छ । घ्याप्रिङले पूजाका बाजा बजाउन थाल्दछ । सो बाजा सुनेपछि सबैले हातहातमा रक्सी लिएर बाटैमा गएर घ्याप्रिङलाई रक्सी खुवाउने गर्दछन् । घ्याप्रिङले डाँडाकाँडा, हिमाल, खोच चारैतीर देविदेवताका नाम पुर्कादै ढ्याङ्गो बजाउने गर्दछ । मृत्तकलाई सेतो कात्रो ओढाइने गरिन्छ । घ्याप्रिङले लासलाई लात लगाई घुँडाले हिर्काउने गर्दछ । लासलाई ‘धिकुटही’ भनिने काठको बाकसमा राखी गाडिने गरिन्छ । कसैकसैले जलाउने पनि गरेको बताइन्छ ।

No comments: