कार्तिकको पहिलो हप्ता तिर एक विहानी सोझै रसुवागढी नाकातिर बढेका पाइलालाई पछयाउदै हामी चार पांच जना सोझै स्याफ्रुवेसीबाट हुइकियौ । चिनियां सरकारले रसुवागढी-स्याफ्रुवेसी सडक निर्माण २८ महिनाभित्र पुरा गरिसक्ने योजना अर्न्तर्गत रसुवागढीबाट लगभग ५०० मीटर बाटो नेपालतिर खनिसकेको हेर्ने हाम्रो चाहना पनि संगै थपिएको थियो । यसै मेसोमा हामी नेपाल चीन सीमाना क्षेत्र बाटो नबनेको अहिलेको अवस्थामा ट्रेक रुटबाट १६ किलोमीटरको दुरी एकैदिनमा पुग्न पनि हामी सहरियाहरुलाई साहसै चाहिन्थ्यो ।
स्याफ्रुवेसीबाट वाङ्गगेल हुदै लिगलिग पुगेपछि थकाईको अनुभव हुदा विहानको खाना खाने समय भैसकेको थियो । अनि त्यहा उसिनेको आलु खाएर हामी सोझै टिमुरेमा खाना खान पुग्ने योजनामा हिडयौ । तर गत्लाङको आलु खानीबाट त्यहा बोकेर ल्याउनुपर्ने झन्झट अनि टुरिष्टको चापका कारण हामीले धित मार्ने गरि आलु खाएनौ । त्यसपछि त सोझो सोझो बाटो भोटेकोशी खोलाको किनारै किनार हिडनुको रमाइलो नदीको सुस्केरा र हाम्रो थकाई एकअर्काका साथी भैरहेका थिए । हिडदा गल्ती भो भने सयौं मीटर तल खोलामा पुग्ने डरले पनि सुस्त गतिले पनि होसियारी बढेको भान दिन्थ्यो ।
आधुनिक सहर बजार भन्दा पर थकित मुद्रामा लोलाइरहेको टिमुरे गाविसको सानो पर्यटकीय बजारमा प्रवेश गरेपछि टिमुरे गेष्ट हाउसमा बस्ने हाम्रो प्रवन्ध स्याफ्रुका साथी लाक्पा सोनामले पहिल्यै सिडीएमए फोनबाट गरिसकेको रहेछन । परिवर्तन जसमा हामी विस्वास गर्छौं भन्ने नारा लिएर अमेरिकाका राष्ट्रपतिको रुपमा अघि बढिरहेका ओबामा जितेको संझिदै गर्दा ठ्याक्कै सोझो चीन भारत विचको द्रुतमार्ग खुल्ने प्रक्रियाले पनि टिमुरे अब ढुङ्गे युगबाट एक्काइसौ शताब्दीमा प्रवेश गर्ने मनस्थितिको तयारीमा रहेको देखियो परिवर्तनको संघारमा ।
दिउसोको नास्ता खाने बेला चाइनिज साग सहितको खाना खाएर हामी अब सोझै रसुवागढी सोझियौ । टिमुरेमा रहेको आर्मी पोष्टका प्रमुखले पनि नाका पारि प्रवेश सहज भएको बताए तर परिचय पत्र बोक्नु जरुरी रहेको उनको सल्लाह थियो ।
एकाध बर्षअघि रसुवागढी पुग्नु भनेको खोलामा रहेको झोलुङ्गे पुल कसैलाई नसोधी तर्नु र चीन तर्फको क्षेत्रमा रहेको एउटा लामो घरबाट र्टचलाइट, जुत्ताचप्पल, खुद्रा चाइनिज सामान र ब्लाङ्केट किनी बोकेर फर्किनु हुन्थ्यो । अनि नेपाल तर्फभने रसुवागढीको पुरानो किल्ला छेउ रहेका टिनले छाएको भन्सार कार्यालयमा ठूलो भोटेताल्चा लाएको हेर्दै नागरिक बडापत्र पढेर फर्किनु सिवाय केही हुदैनथ्यो । भन्सार भने स्याफ्रुवेसीमै सीमित थियो त्यतिखेर । अनि दशैमा नेपालबाट गाइगोरु केरुङ, तिव्यतमा र त्यहाबाट भेडा च्याङ्ग्रा नेपाल भित्रयाउनु बराबर हुन्थ्यो ।
अब भने हामी टिमुरेबाट अलि माथि घट्टे खोला पार भैसकेका थियौ । माइक्रोहाइड्रोले यस क्षेत्र र टिमुरेलाई अलिकति भएपनि विजुली दिइरहेको थियो । बेलुकाको घाम अस्ताउनु अघि पुन टिमुरे फर्किएर बस्नुपर्ने हुंदा हाम्रा पाइला थप जागरिला भैरहेका थिए भने हामी पुग्ने गन्तव्य रसुवागढी आउन फेरि केरुङ्ग खोला र लेन्दे खोला मिसिएको दोभान पुग्नु पर्ने थियो । यता १४५० मीटरको उचाइमा लाङटाङ र भोटेकोशीको दोभान स्याफ्रुवेसीबाट हामी उकालिएका थियौ, रसुवागढीको १८५० मीटरको अग्लाई तर्फको अर्को दोभानमा । यो उचाईको फरकमा भोटेकाशी खोलाबाट ८० मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको लाइसेन्स चिलिमे जलविद्युत कम्पनीले लिई र्सर्भे प्रक्रिया अघि बढेको खबरले पनि स्थानिय टिमुरेका जनताहरु उत्साहित थिए ।
रसुवागढी पुग्नु केही समय अघि नै देखियो कि सीमा क्षेत्रभन्दा लगभग ५०० मीटर वर नेपाली भुभाग तर्फबाटो आइपुगेको छ । सीमामा पर्ने भोटेकाशी खोलामा बेलीब्रीज हुदै चाइनिज माइक्रोबस नेपाली भूभागमा सडक खन्ने प्रयोगको लागि राखिएको रहेछ । जहाबाट अब अरनिको राजमार्गको विकल्पमा यो एकमात्र यातायात साधन हैन, बाटो बनिसकेपछि हजारौ गाडी यो रुटमा ओहोरदोहोर गर्नेछन । लासा पुग्न झण्डै ८०० किलोमीटर लाग्ने यो बाटोले सोझै भारतको रक्सौललाई विरगंज हुदै जोडनेछ। रसुवागढीबाट गाडीमा एक घन्टाको दुरीमा पुगिने केरुङ्ग बजार तीब्र गतिमा विकसित भैरहेको छ । लिन्क रोडको रुपमा खुल्ने नेपालको दोस्रो चीन पुग्ने सहज मार्गको रुपमा रसुवागढी काठमाण्डौबाट १५० किलोमिटर उत्तरमा पर्छ भने रसुवागढी-गल्छीको दुरी एक सय छ किलोमिटर हो । गल्छी रसुवागढी कालोपत्रे गर्नलाई पनि एडिबी लगायतका सहयोगमा विभिन्न चरणमा टेण्डर भैसकेको छ ।
रसुवागढी पुग्नु अघि नै नेपाली क्षेत्रमा बाटो खन्ने चिनिया टोलीहरुको टेन्ट गाडिएको छ । अनि डिजेल कम्प्रेसर चलाएर ५। ७ जना चाइनिजहरु ढुङ्गा खोपी रहेका थिए । अनि अग्ला अक्करे भीर जस्ता चटान फुटाउन बारुद आइसकेको रहेछ । पदयात्राका बाटाभरि सर्भे गरेको बासका किलाहरु गाडिएका छन । अब कुनैै अवरोध आउला जस्तो देखिदैन । विगतमा भारतले यो मार्ग खोल्न अवरोध गरेको गाइगुइ सुनिएको थियो ।
नेपालको सीमामा भने नया भन्सार बनाउन पुरानो भन्सार कार्यालय भत्काइरहेको दृष्य, अनि भन्सारका पुराना कागजात जलिरहेको बेला पुगिएको क्षण मात्र होइन पुर्खाले लडेको रसुवागढी संरक्षणको लागि पुग्दो तयारीको अभावका साथै नेपाली सीमामा सीमा तैनाथको लागि पुग्दो सुरक्षा सतर्कताको कमी लगायतका दृष्यले भने हामीलाई नमिठो पार्यो नै । उता चीन प्रवेश गर्ने झोलुङ्गे पुलमा २ वटा फलामे ढोका सहितको कर्डाई मात्र होइन चिनिया प्रहरीहरु खोला पारी पहरा दिइरहेका थिए । पहिले पहिले एक दुइ जना दोकानका मान्छे मात्र देखिने चीनको क्षेत्रमा अहिले भने सुरक्षा बढेको पाइयो । पक्कै पनि फ्री तिब्यत आन्दोलनको असरले पनि हुनसक्छ चीन क्षेत्र प्रवेश गर्नको लागि परिचय पत्र देखाउन पुग्दा त्यहाका सुरक्षाकर्मीहरु ल्यापटप कम्प्युटरमा गीत सुन्दै अनि हाम्रो अनुहार पटक पटक हेर्दै अंगे्रजीमा सोधिरहे- कता बाट ? हामीले छेउको गाउ स्याफ्रुको नाम भनेपछि सहज भो बातावरण चीन प्रवेश गर्न र त्यहास्थित पसलमा सामान किनमेल गर्न ।
रसुवा सदरमुकाम पुग्ने बाटो विचैमा मुलखर्क, राम्चेमा पहिरो गएकोले सयौ दिनसम्म अवरुद्द भएर भर्खर खुलेकोले पनि चाइनिज ठेकेदारले स्याफ्रुवेसी रसुवागढी सडक शुरु गर्न स्याफ्रुवेसीबाट सकेको थिएन । जसले केही समय ढिलो भएको थियो । अब बल्ल एक्स्क्याभेटर, लोडर, कम्प्रेसर लगायतका रोड खन्ने उपकरणहरु चाइनिज ठेकेदारले स्याफ्रुवेसी ल्याइपुर्याएको हुदा कातिक मसान्त अघि नै स्याफ्रुवेसीबाट पनि बाटो खन्न शुरु हुने जानकारी स्याफ्रुवेसीको ल्हासा होटलमा रहेका चिनीया ठेकेदारका दोभाषे जामालाले दिए । तर मुआब्जाको दर नमिलेको हुदा स्याफ्रुवेसीबाट तत्काल बाटो खोल्ने कार्यमा अवरोध आइरहेको उनको गुनासो छ ।
अबका अठाइस महिना भित्रमा चीन नेपाल सडक यातायातले जोडिने रसुवागढी दोस्रो मार्ग मात्र हुनेछैन । बरु, चीन भारतविचको सम्बन्ध मार्गको रुपमा अरनिको राजमार्ग भन्दा पनि विरगंज पुग्नको लागि झण्डै तीस किलोमीटर भन्दा कम दुरी हुनेछ । त्यो चीनको प्रगति र नीति अनि चिनिया जनताको कामप्रतिको तीब्र लगावले पनि भन्छ, उनीहरु संसार जित्ने युद्धमा अघि बढिरहेका छन् । जसको सोझो फाइदा नेपाललाई यस अर्थमा पनि हुन सक्छ कि उनीहरुको बजार विशाल भारत हो । जसको लागि नेपाल एउटा द्रुत आर्थिक राजमार्ग बन्न सक्छ कि ।
No comments:
Post a Comment