पेट्रोल, डिजेलको अभावले आजित भइरहेको बेला यो वर्ष जैविक तेलको चर्चाले निकै महत्त्व पाएको छ । यसै वर्ष पाल्पाका किसानले सजिवनको तेलबाट ट्रयाक्टर कुदाइएको एउटा समाचारले नेपाली जनमानसमा ठूलो आशाको लहर पैदा गरेको छ । सजिवनलाई पूर्वाञ्चलको पहाडी भेग -मेची, कोशीको पहाडी भेगमा ) मा सानो कदम, सरुवा, राङ्गखेला, सर्लाहीतिर अरण्डी, बघण्डी भन्ने गरिन्छ । तर मध्य नेपालदेखि पश्चिमतिर मात्र यसलाई सजिवन, बतिवाल, हातिकाने भनिन्छ । यसैगरी पश्चिम नेपालमा यसलाई रतनज्वर नामले पनि चिनिन्छ । तर पूर्वाञ्चलमा सजिवन भनेको लामो आकारको एक प्रकारको तरकारी खाने फल भएकोले स्थानीय मानिस भ्रममा परेका छन् । ठाउँ, क्षेत्र अनुसार यसको फरक-फरक नाम हुने भएकोले यसको अन्तर्राष्ट्रिय नामबाट परिचय गराउँदा सजिलो होला कि ।
अन्तर्राष्ट्रिय नाम "जेट्रोफा" हो । जेट्रोफा ज्यादै गुणकारी बिरुवा हो । यो हिउँ जम्ने ठाउँ र पानीको धाप क्षेत्रमा बाहेक अन्य जुनसुकै सुख्खा ठाउँमा हुर्कने भएकोले यो नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म पाइन्छ । जेट्रोफाको नौ प्रजाति छन् । तीमध्ये केही प्रजाति नेपालमा पाइन्छन् भने 'डिजल' उत्पादन गर्न सबैभन्दा राम्रो प्रजाति "जेट्रोफा कर्कस" हो । यसको बीउको तेलले डिजलको काम गर्छ । यसलाई जैविक डिजल भनिन्छ । यो पेट्रोल डिजलभन्दा धेरै गुणस्तरीय हुन्छ । यसमा चिल्लोपना गुण पेट्रोल डिजलको भन्दा बढी हुने भएकोले इञ्जिनको कार्यक्षमता बढाउँछ । साथै यसको धूवाँमा सल्फल र अन्य गन्धयुक्त पदार्थ नहुने भएकोले वातावरण प्रदूषण प्रतिकूल नहुने प्रयोगबाट सिद्ध भएको छ । यो डिजलबाट पम्पसेट, जेनेरेटर, गाडी, ट्रयाक्टर, इञ्जिन रेल, हवाइजहाज मजाले चलाउन सकिन्छ ।
नेपालमा जेट्रोफाको प्रयोग
यो सजिलै सर्ने, गाईवस्तुले नखाने, एकपटक रोपेपछि ५० वर्षसम्म पनि नमर्ने भएकोले गाउँघरमा यसलाई बारीको कान्ला बारबेरको रूपमा लगाउने गरिन्छ । त्यसो त ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग धेरै अघिदेखि घरेलु इन्धन र औषधिको रूपमा गरेको पाइन्छ । तराई क्षेत्रमा रैथाने कदमको बीउ पेलेर निकालेको तेल गाईगोरुको शरीरमा दलेर जुम्रा-कीर्ना मार्ने, हाँगा भाँचेर दाँत माझ्ने गरिन्छ । पहाडी भेगमा यसको बीउ तारमा उनेर मैनबत्तीको रूपमा बाल्ने गरिन्छ । तेल पेलेर दियो बालिन्छ । कतैकतै त तरकारी पकाएर खान पनि प्रयोग गरेको पाइन्छ । यसरी हाम्रो देशमा कदमको दानालाई जानी नजानी विभिन्न काममा प्रयोग गरिंदै आए तापनि यसबाट डिजल उत्पादन गर्न ठूलो परिणाममा व्यावसायिक रूपले खेती गर्न भने सकिएको छैन । यद्यपि विगत २/३ वर्षदेखि कपिलवस्तु, सिराहा, सर्लाही, मकवानपुर, झापा, सुनसरी र पाल्पाका किसानहरूले भारतबाट विकासे बीउ ल्याएर खेती सुरु गर्नथालेका छन् ।
नेपालमा कदम खेतीको सम्भावनाबारे बेलायत सरकारको सहयोगमा त्रिभुवन विश्वविद्यालयले सन् १९१९मा करिब ५ करोडको लागतमा खैरेनीटार र पोखरामा पाइलोट फार्मिङ गरियो । दुवै ठाउँको खेती असफल भई कार्यक्रम बन्द गरियो र त्यो कुरा प्रकाशमा पनि आएन । त्यसपछि सिराहाको सुखीपुर गाउँमा बसेर बोटानिकलमा एम.एस्सी. गरेका शिक्षक तेजनारायण यादवले २०६० देखि आफ्नो संस्था गोपाल च्यारेटी ट्रष्ट मार्फत जेट्रोफाको अध्ययन अनुसन्धान प्रारम्भ गरी २०६३ साल भदौ २४ गते घरेलु तरिकाले प्रशोधन गरी विभिन्न किसिमका इञ्जिन चलाएर प्रदर्शन गरेको थियो । यादवले स्थानीय किसान र पत्रकार भेला गरी सुरु गरेका प्रचारात्मक प्रदर्शन सिराहा, सप्तरी, धरान र काठमाडौंमा गरिएपछि कदम खेतीबारे सरकारी तथा गैरसरकारी स्तरमा अझ बढी चासोको विषय बन्नथालेको थियो । गोपाल च्यारेटी ट्रष्टकै बायोडिजल समूहले ०६४ सालमा विभिन्न मन्त्रालयका सचिव, सांसद, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार भेला गराई नेपालमा कदम खेतीको सम्भावना बारे नेपाल वातावरण पत्रकार समूहको सभाकक्षमा पहिलो पटक प्रदर्शनात्मक गोष्ठीको आयोजना गरेपछि सरकारी निकायभित्र पनि यो चासोको विषय बन्नथालेको छ । पहिलो चरमा प्रचारात्मक अभियान सम्पन्न गरिसकेको ट्रष्टले अहिले भने कदम खेती गरी देशलाई वैकल्पिक इन्धनको विकल्प बनाउन सरकारले राष्ट्रिय नीति बनाएर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने सुझाउ दिंदै आएको छ ।
वरदान हुनसक्छ जेट्रोफा
इन्धन अब खाडीको होइन, झाडीको प्रयोग गरौं भन्ने नाराको साथ भारतमा सुरु भएको कदम खेती अहिले लाखौं हेक्टर जमिनमा फैलिसकेको छ । यसैगरी अमेरिका, उगाण्डा, अष्टे्रलिया, घाना, जर्मनी जस्ता देशहरूले राष्ट्रिय अभियानकै रूपमा यसको खेती गर्न थालेका छन् । भारतले मात्र महाराष्ट्र, आन्ध्रप्रदेश, विहार राज्यमा २० लाख हेक्टर जमिनमा कदम खेती गर्न थालेको छ । निजी स्तरमा पनि खेती गर्न कृषकहरूलाई बिना धितो निब्र्याजी रूपमा दीर्घकालीन ऋण उपलब्ध गराउँदै आएको छ । ग्रामीण रोजगार प्रवर्द्धन जेट्रोफा खेती सहायकसिद्ध हुने भएकोले भारतले ७ डिसेम्बर २००५ देखि "राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी स्किम" नामको योजना अघि सारेको छ ।
सन् २००५/०६ मा नेपालले तीन लाख १० हजार ५ सय ३५ किलोलिटर डिजल आयात गरेको तथ्याङ्कले देखाउँछ । त्यस अनुसार शतप्रतिशत पूर्तिका लागि नेपालले दुई लाख ६५ हजार हेक्टर जमिनमा जेट्रोफाको खेती गर्नुपर्दछ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रति बिरुवाबाट औसत चार किलोग्राम र तेल निस्काशन ३० प्रतिशतले हुन्छ । तर प्रति बिरुवा दुई किलो र तेल निस्काशन २४ प्रतिशतले पनि २० लाख हेक्टर खाली जमिनमध्ये १० देखि १३ प्रतिशत मात्र जमिनमा जेट्रोफा लगाइयो भने देश डिजलमा आत्मनिर्भर हुनसक्छ । नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख हेक्टर छ । १५ प्रतिशतले हुने जग्गा २२ लाख ५ हजार हेक्टर हुन्छ । त्यसमध्ये ५० प्रतिशत अर्थात् ११ लाख हेक्टरमा मात्र जेट्रोफा ल्याउन सकियो भने अन्य रोजगारसहित २२ लाख परिवारको गरिबी निवारण हुनसक्ने तथ्याङ्कले बताउँछ । एकपटक रोपेपछि ५० वर्षसम्म निरन्तर फल दिने कदम वातावरणीय सुधारको पनि सच्चा मित्र हो । एउटा कदमको बिरुवाले वाषिर्क ८ किलोग्राम कार्बनडाइअक्साइड ग्यास वायुमण्डलबाट शोषण गर्ने भएको हिसाबले ११ लाख हेक्टर जमिनमा लगाइएको कदमको बिरुवाले दुई करोड २० लाख टन कार्बनडाइअक्साइड ग्याँस वायुमण्डलमा शोषण गर्छ । क्योटो महासन्धि अनुसार कार्बनको व्यापारमा मात्र प्रतिटन ८ डलरको दरले वाषिर्क १७ करोड ६० लाख डलर, नेपाली मुद्रामा १२ अर्ब ३२ करोड राष्ट्रले वाषिर्क थप आय आर्जन गर्नसक्छ ।
सरकारी चासो
नेपालमा जेट्रोफा खेतीको थालनी २०६१ सालदेखि नै हुन थाले पनि सरकारी तवरबाट यो खेतीको प्रवर्द्धनबारे कुनै योजना बनाउन सकेको थिएन । तर यो वर्ष सरकारले नयाँ बजेट भाषणमा जेट्रोफा खेतीलाई प्रोत्साहन गर्न देशमा खाली रहेका जग्गाहरू जस्तै नदीनाला छेउछाउ, सामुदायिक वनपाखा, बिजुलीको तारमुनिको जग्गालाई निःशुल्क लिजमा दिने भनिएको छ । साथै यसको विकास, विस्तार अनुसन्धान र प्रचार प्रसारका लागि ५ करोड रुपियाँ पनि छुट्याइएको छ । यो ज्यादै सकारात्मक कदम हो तर केही गैरसरकारी संस्थाका मानिसहरू बाहेक सरकारी कर्मचारीहरूलाई जेट्रोफा खेती बारे खासै ज्ञान नभएको कारण यो वर्ष प्राप्त बजेट सदुपयोग गर्न सरकारलाई हम्मे हम्मे पर्न गएको छ । त्यसैले बजेट सक्न खेती नै नगरी तेल पेल्ने ठूला मेसिन खरिद हुनसक्ने सम्भावना पनि रहेको छ । यसतर्फ सरकार सजग रहनु वाञ्छनीय छ ।
यो नौलो खेती भएकाले किसानलाई यसबारे जानकारी गराउनु सरकारको पहिलो कर्तव्य हुनजान्छ । उन्नत जातको बीउ सङ्कलन गर्नेदेखि लिएर बजारको पनि भरपर्दो व्यवस्था गर्न सक्नुपर्छ । यसको खेती सामूहिक रूपमा ठूलो क्षेत्रफलमा गर्नसके मात्र लगानीकर्ता र किसानले राम्रो फाइदा लिन सक्छन् । प्राविधिक ज्ञानविना गरिएको खेतीबाट किसानले राम्रो फाइदा उठाउन सक्दैनन् । हाल नेपालका किसानले भारतबाट महँगो दाम हालेर जेट्रोफाको हाइबि्रड बीउ ल्याउने गरेका छन् । तर सरकारले देशको पाँच विकासक्षेत्रमा जेट्रोफासम्बन्धी अनुसन्धान केन्द्र नमुना खेतीको स्थापना गरी बीउबिजन, उत्पादन प्रक्रिया र बजारको बारेमा जानकारी दिनुपर्दछ । जेट्रोफा खेतीको प्रवर्द्धन गर्न सरकारले एउटा राष्ट्रिय समिति नै बनाउनु पर्छ । जसमा कृषि वैज्ञानिक, कदम खेतीका विज्ञहरू सम्मिलित हुनुपर्छ । सरकारले जेट्रोफा रोप्न खाली जग्गा मात्र उपलब्ध गराएर हुँदैन । रोपेको दुई वर्षपछि मात्र आम्दानी दिन थाल्ने भएकोले निब्र्याजीरूपमा दीर्घकालीन ऋण उपलब्ध गराउनु पर्दछ । जसरी चिया, अलैंची खेतीलाई ऋण सुविधा प्रदान गरिंदै आएको छ । हरेक जिल्ला र गाविसले आफ्नो क्षेत्रभित्र रहेका खाली, बञ्जर जमिनमा दलित, गरिब सुकुम्बासी, आदिवासीहरूको समूह बनाई जेट्रोफा रोप्न प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ । यसबाहेक नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र अन्य दातृ निकायहरूलाई जेट्रोफा कार्यक्रमतिर आकर्षण गराउन सके आगामी पाँच वर्षभित्रै देशमा नवीकरणीय ऊर्जाको विकास गरी इन्धनमा आत्मनिर्भर बन्न सकिन्छ । अनि त्यतिबेला हाम्रो पनि नारा हुनेछ- "डिजेल अब खाडीको होइन, नेपाली झाडीको प्रयोग गरौं ।"
No comments:
Post a Comment