स्व.वि.यू. निर्वाचन परिणामपछि केही “सचेत” पत्रकार, लेखक, विश्लेषक, नेता र नागरिकले “सचेत” वर्ग र समुदायका विषयमा खुब लेख्यो, खुब बोल्यो र हल्ला गर्यो। पत्रपत्रिका, भाषण र वक्तव्य मार्फत् पनि। त्यहीँ शृखंला अन्तर्गत् हिमालखबर, कान्तिपुर र दैनिकी लगायतका दैनिक, साप्ताहिक पत्रपत्रिकाहरू र अनलाइन पोर्टलमा पनि लेख, विश्लेषण र आफ्ना भनाइहरू प्रकाशित भए। धेरै लेखको एउटै आशय छ, “सचेत” मतदाता रहेका क्याम्पसहरूको परिणामले माओवादीको अस्तित्वलाई चुनौति दियो। संविधान सभाको चुनाव धाँधलीपूर्ण थियो, त्यहाँ “अचेत”, अबुझ, गाउँले, अशिक्षित मान्छेहरूले भोट हालेका थिए। उनीहरूले बुझेका थिएनन्। उनीहरू अशिक्षित थिए, चेतना थिएन। लोभि थिए; पैसामा बिके र डर धम्कीका कारणले उनीहरूले माओवादीलाई भोट हालेका कारण माओवादीले चुनाव जित्यो। तर, स्ववियू निर्वाचन मार्फत् माओवादीका कृयाकलापका विरूद्धमा “सचेत” वर्गले आफ्नो अभिमत जाहेर गर्यो, आदि इत्यादि। सबैजसो “सचेत”, शिक्षित, पढैया, काठमाडौं वा शहर केन्द्रित लेखक, विश्लेषक वा पत्रकारहरूद्वारा लिखित लेखको आशय यहीँ हो, मनशाय यहीँ हो। म माओवादीले जित्नु वा हार्नु र त्यसका कारणका वारेमा विल्कुल कुरा गर्न चाहन्न। म त ती चर्चा गरिएका “कथित” सचेत वर्गका बारेमा जान्न चाहन्छु र तिनीहरूलाई चिन्न चाहन्छु; आखिर ती को हुन् र तिनीहरू कसरी सचेत भए?
महोदयहरू, मलाई बुझाइदिनु पर्यो र चिनाइदिनु पर्यो; यहाँहरूले भनेको सचेत वर्ग को हो? यसको विशेषता के हो र यो कसरी सचेत भएको हो? यो सचेतनाको अर्थ के हो र त्यसको परिभाषा के हो अनि कसले निर्धारण गर्ने हो? के यहाँहरूले भिषाका लागि बर्षमा करोडौं रूपैयाँ एम्बेस्सीमा बुझाउने (कान्तिपुरको रिपोर्टिङलाई आधार मान्दा र यसका लागि भएको अन्य तयारी खर्चलाई नगन्दा पनि) सचेत वर्गको कुरा गरेको हो? अथवा सबैभन्दा बढी हडताल गर्ने, तोडफोड गर्ने र क्याम्पस बन्द गर्ने तथा एक्जाममा पास नहुँदा आफ्नै डिपार्टमेन्टमा आगो लगाउने “सचेत” वर्गको कुरा गरेको हो?
के तपाईँहरूले निमाको गेसपेपरबाट पनि गेस गरेर पास हुन सक्ने “सचेत” र चलाख विद्यार्थीको कुरा त गर्नु भएको छैन? त्यसो त क्याम्पस पुस्तकालयभित्र मास्टरका नोट बेचेर वा किनेर पास हुने र सर्टिफिकेट पाउने तथा कक्षा चढ्ने कथित सचेत विद्यार्थीको कुरा पनि हुन सक्छ यो। अथवा एउटा गाउँ, जात वा समुदायको अध्ययनलाई थपक्क अर्को गाउँ, जात वा समुदायको डाटा राखेर मास्टरको थेसिस तयार गर्ने सचेत वर्गको विद्वतापूर्ण काम र उनीहरूको दूरदर्शी निर्णयका आधारमा उनीहरूलाई सचेत वर्गको रूपमा परिभाषित गरेको पनि हुन सक्छ यहाँहरूले। बजारमा रेडिमेड किन्न पाइने थेसिस वा प्राक्टिकलका लागि तयार गरिएका रेडिमेड पत्रिकाहरू बुझाएर सचेत, विद्वान् र बुझक्कड बनेका राष्ट्र निर्माता भविष्यका कर्णधार साथीहरूको कुरा पनि गरेको हुन सक्छ। अथवा जिन्दगीभर सरकारी होस्टलमा बसेर, सरकारी स्कलरशिप खाएर विदेशीने तयारी गरिरहेका सचेत र दुरदर्शी विद्यार्थीलाई पनि यो परिभाषाभित्र समावेश गरिएको हुन सक्छ।
कुनचाहिं कथित सचेत बर्गको कुरा गरिरहनु भएको छ; लेखक, सम्पादक, पत्रकार, नेता र विश्लेषक महोदयहरू? के कुनै प्राक्टिकल वा एक्जाममा राम्रो नम्बर पाइएन वा पास भइएन भनेर डिपार्टमेन्टमा आगो लगाउने सचेत वर्गको कुरा गर्दै हुनुहुन्छ? टेलिफोन बुथ तोड्ने, रेलिङ भाँच्ने, ढुङ्गामुढा गर्ने, हडताल र बन्द गर्ने वा वातावरण विषय लिएर पढेकाहरू नै सडकमा उत्रिएर टायर बाल्ने सचेत वर्गको कुरा गरेको हो? अथवा भारत आयातित सर्टिफिकेटका भरमा विद्यार्थी, स्ववियू पदाधिकारी र पछि राजनीतिक आस्थाका आधारमा क्याम्पसमा नियुक्ति पाउने आदरणीय गुरूहरूबाट दीक्षित सचेत नागरिकको कुरा गर्नु भएको हो?
महोदय, मलाई को सचेत हो को होइन? भनेर छुट्याउन गाह्रो परेको छ। जिन्दगीभर किताब नपढेर वा किताब नकिनेर गेस पेपरका भरमा मास्टर डिग्री हासिल गर्न सक्ने हाम्रो शिक्षा पद्धतिबाट उत्पादित पत्रकार, कर्मचारी, वकिल, नेता सबै सचेत तर त्यहीँ चोर्न नजान्ने र आफ्नै दु:ख सुखमा रमाउने गाउँका कथित अनपढहरू “अचेत”, अवुझ, अज्ञानी, अशिक्षित? यो सचेत र सचेतनाको कुरा कस्ले निर्धारण गर्ने हो? टाइ पाइन्ट लगाएर सरकारी क्याम्पसमा भर्ना हुँदैमा वा हातमा सर्टिफिकेट लिँदैमा सचेत हुने हो भने कुरा बेग्लै हो नत्र को सचेत छ र को छैन भनेर कसले, कसरी चिन्ने हो?
आदरणीय सचेत समुदाय, मलाई माफ गर्नुहोला। डा कृष्ण भट्टचनले भने जस्तै नेपाली समाज, राज्य र राज्यका विभिन्न तहमा पहुँच हुनेहरूको दिमागमा अनि शहर र काठमाडौं केन्द्रित “सचेत” भनाउँदाहरूको दिमागमा कम्प्युटरको हार्डडिस्कमा कुनै पुरानो सफ्टवेयर इन्सटल भए जस्तै पढाइ, सोचाइ र विश्लेषणको लागि पहिले नै तयार भएको निमाको गेसपेपर नामक प्रोग्राम फिट गरिएको छ। त्यसैले ऊ त्यो गेसपेपरले बुझाउने र दिने ज्ञान भन्दा बाहिर जान सक्दैन वा जान चाहँदैन। दिमागमा भएको यस प्रोग्रामले नयाँ कुरा सोच्न दिदैन बरू सबैलाई एउटै कुरा दिन्छ र त्यसलाई आदर्श मान्न सिकाउँछ। हार्डडिस्कभित्र जे छ, त्यो बाहिर आऊँछ, यसले नयाँ कुरा गर्ला वा देला भन्नु नै बेकार छ। यसैको उदाहरण हो अहिलेको “सचेत” वर्गको परिभाषा र “सचेत” वर्ग भनाउँदाहरूको बखानका कुरा।
उदाहरणका निम्ति-, तीन वटा फरक-फरक राष्ट्रिय दैनिक तथा पोर्टलमा तीन जना फरक-फरक ठाउँका मान्छेले, फरक-फरक मितिमा आफ्ना धारणा लेख्छन् तर चुरो कुरा एउटै छ, एउटै मानसिकताबाट निर्देशित एउटै आशयका लेख छन्। यो त उदाहरण मात्र हो, पत्रपत्रिका र टेलिभिजन हेर्ने हो भने यस्ता अनगिन्ति उदाहरण देखा पर्छन्,
हिमालखबर पत्रिकाको पोर्टलमा, सुवास देवकोटाको विश्लेषण यस्तो छ, “बिद्यार्थी चुनावको परिणामले माओवादीका बिगत एक वर्षका क्रियाकलापहरुप्रति “सचेत” समुदायको मूल्याङ्कन पनि केही हदसम्म सार्वजनिक भएको छ।“दैनिकीको पोर्टलमा विश्व घिमिरेले शिक्षित र सचेत समुदायका विषयमा यस्तो लेख्छन्, स्ववियु निर्वाचन देशको सबै ठाउँका उच्च शिक्षामा अध्ययनरत शिक्षित समुदायबीचमा हुने हुनाले पनि यसलाई ज्यादै महत्वका साथ हेर्ने गरिन्छ माओवादीको लागि त यो संविधान सभाको निर्वाचनमा धाँधली गरेको आरोप गलत साबित गर्ने मौका थियो। कांग्रेस र एमालेका लागि आफ्नो गुमेको हैसियत फर्काउने मौका।कान्तिपुर दैनिकमा खेम भण्डारी लेख्छन्, “समाजको सचेत वर्गले स्ववियु निर्वाचनमार्फत जाहेर गरेको अभिमतलाई सूक्ष्म तरिकाले विश्लेषण गरेर माओवादी नेतृत्वले स्थुल र सूक्ष्म दुवै तहमा रहेका सबै नीति र व्यवहारमा परिवर्तन ल्याउन ढिलो गर्नुहुन्न।“
वाह! क्या अद्भुत सोचाइ, मान्यता र त्यसमा देखिएको समानता। सचेत र शिक्षित वर्गले मात्र सही निर्णय गर्न सक्छन्। सही, शिक्षित र सचेत मान्छे नै नेपाली युनिभर्सिटिमा पढिरहेका छन्। सही, सचेत र शिक्षित मान्छेहरू नै मुख्यत: काठमाडौंमा अथवा शहरमा बस्छन्। गाउँका अनपढ, अबुझ, अशिक्षित सबैले गर्ने निर्णय सधै गलत थियो र हुन्छ। उनीहरू केही जान्दैनन, उनीहरू केही बुझ्दैनन्। उनीहरूले आफ्नो राम्रो र नराम्रो सोच्न सक्दैनन्। उनीहरू डराउँछन्, तर्सन्छन् र पैसामा बिक्छन्।
तर, हामी सचेत नागरिक, हामी पढैया नागरिक, हामी शहरका नागरिक, हामी काठमाडौंका नागरिक, हामी देश विदेशमा घुमेका र थुप्रै मान्छे देखेका मानिस। हामी गरि खाने मानिस। हामी कमाउन सक्ने मानिस। हामीले गर्ने निर्णय नै सही हो, सही हुन्छ र सही हुनेछ। हामी नै सचेत मान्छे । हामी नै सचेत नागरिक, पत्रकार, वकिल, नेता, कार्यकर्ता र हामी मात्र आधीकारिक सचेत नेपाली।
अन्त्यमा, यदि यो देश विग्रिएको हो र छ भने त्यो त्यहीँ सचेत वर्गले विगारेको हो र यसको जिम्मा पनि उनीहरूले नै लिनु पर्छ । होइन यो देश बनेको छ र राम्रो छ भने यसको जस पनि ती “कथित” सचेत वर्गले नै लिउन्; दैनिक गुजारा गरि खाने किसान-मजदुर, अवुझ, पिछडिएका, निरक्षर, गाउँले, जङ्गली र अचेत वर्गलाई उनीहरूले गर्दै नगरको काममा पनि “सचेत”हरूले जस्तो जस लिने मन पनि छैन र दिनु पनि पर्दैन।
(कृपया: निमा गेस पेपरको नाम लिएकोमा माफि चाहन्छु तर नेपालमा सबैभन्दा पपुलर गेसपेपर विक्रेता भएकाले यसको नाम लिन वाध्य छु। यस बाहेक इमान्दारितापूर्वक पढ्नु हुने वा पढ्न चाहनुहुने सबैसँग गहुँसँगै घुन पिसिए जस्तै पिसिनु परेकोमा माफी चाहन्छु।)
No comments:
Post a Comment