उनी भूमिगत जीवन बिताउँछिन्। उनी सकभर आफू बसेको कोठाबाट निस्किन्नन्। उनलाई इजरायली प्रहरीले गिरफ्तार गर्न खोजिरहेको छ। मेरिना -नाम परिवर्तन) लाई एक आपराधिक समूहले काम दिने प्रलोभन देखाएर इजरायलको वेश्यालयमा बेचेका थिए। पत्रिकामा विदेश पढ्न जाने विज्ञापनमार्फत उनी मानव बेचबिखन गर्ने समूहको फन्दामा परेकी हुन्।
मेरिना युक्रेनकी नागरिक हुन्। इजरायलमा १९९० को दशकदेखि २००० सम्म मेरिनाजस्ता तीन हजार महिलालाई राम्रो कामलगायत सुखी जीवनको प्रलोभन देखाई इजरायल ल्याइयो। मेरिनाले पत्रिकामा विदेश अध्ययन गर्न जाने आकर्षक विज्ञापन देखिन्।
युक्रेनमा आर्थिक अभावपूर्ण जीवन बाँच्दै आएकी मेरिनाले इजरायलमा अध्ययनका साथै अलि-अलि दाम पनि कमाउने सुरमा गइन्। उनलाई के थाहा इजरायल पुर्याउने एजेन्टले उनलाई विश्वविद्यालय नपुर्याई इजरायलको कोठीमा लग्छ भन्ने ? उनीलाई एजकेलन अपार्टमेन्टमा लगियो। अपार्टमेन्टका महिलाले वेश्यालयमा आइपुगेको बताएपछि मात्र मेरिना छाँगाबाट खसिन्।
- उनी त्यहाँबाट निस्कन चिच्याउन थालिन्। तर उनलाई त्यहाँ रहेका केही पुरुषले हिर्काउन थाले। त्यही नै उनलाई कयौँले बलात्कार गरे। मेरिनालाई झ्याल नभएको कोठामा एक महिनासम्म थुनेर राखियो। उनलाई खाना, पानी केही पनि दिइएन। उनी ट्वाइलेटको पानी खाएर बाँचिन्।
मेरिना ती हिंस्रकको पञ्जाबाट उम्कन सफल भइन्, तर अझैसम्म उनले भोगेको शारीरिक र मानसिक घाउ मेटिएको छैन। इजरायलमा देहव्यापारका लागि महिलालाई मुख्य रसिया, मालडोभा, युक्रेन, उज्वेकिस्तान र बेलारुसबाट दलालले विभिन्न प्रलोभन देखाएर ल्याउने गरेका छन्। संयुक्त राष्ट्रसंघले गत वर्षमहिला बेचबिखनका लागि इजरायल मुख्य गन्तव्यस्थल भएको बताएको थियो। इजरायलमा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको छ। तर कोठी राख्न र वेश्यावृत्तिका दलाललाई भने कानुनी छुट छैन। तर कानुनको पूर्णपालन भएको छैन। थोरै वेश्यालय मात्र बन्द गरिएका छन्।
टेल एभिज नेभ सानन जिल्लाको चारतारे टुरिष्ट होटलबाट दुई-चार पाइला हिँड्नेबित्तिकै मसाज पार्लर, सौना बाथ र इन्टरनेट क्याफेका नाममा छ्यापछ्याप्ती कोठी रहेका छन्। साइबर क्याफे, मसाज पार्लर नाम दिइएको एउटा वेश्यालय त पुलिस स्टेसनपछाडि नै सञ्चालन भइरहेको छ। तर संयुक्त राष्ट्रसंघको लगातार दबाब र गैरसरकारी संस्थाको विरोधका कारण यौन अपराध कानुन सरकारले २००० मा ल्यायो।
२००४ मा सरकारले टेल एभिज नेभ साननमा यौनकार्यका लागि बेचिएका महिलाका लागि आवासगृहको स्थापना गर्यो। महिलालाई ओसार-पसार गर्ने नाका बन्द गरिए। दलाललाई कडा सजाय तोकियो। सम्भावित दलालको सरकारले तीव्र खोजी गर्न थाल्यो। प्रहरीका अनुसार यौनकार्यका लागि इजरायल ल्याइने महिलाको संख्यामा निकै कमी आएको छ। २००३ मा प्रहरीले महिला बलात्कार, हिंसा र यौनबन्दीको शिकार भएका पाएको तर २००७ मा आएर भने त्यस्तो स्थितिमा धेरै सुधार आएको प्रहरी अधिकृत रानन क्यास्पीले बताए। उनीहरूलाई गरिने व्यवहारका साथै बस्ने स्थान पनि सुधार हुँदै गएको प्रहरीले बताए। सरकारी अधिकारीहरूले महिला बेचबिखनमा निकै कमी आएको तथ्यांक पेस गरेका छन्। गैरसरकारी संस्थाले भने सरकारको तथ्यांकमा पूर्ण विश्वास गर्न नसकिने बताएको छ।
No comments:
Post a Comment