खगेन्द्र संग्रौला
भूपी शेरचन बन्नुअघि नशा-धमनीमा तातो रगतको उत्ताल वेगबाट उत्पन्न आवेगको भाकामा भूपेन्द्रमान शेरचन 'सर्वहारा'ले रचेको कविताको यो एउटा जिउँदो अंश हो । यसको शक्तिको एउटा कथा म सम्झन्छु । कुरा निर्दलीय पञ्चायतकालको शाही हुकुमी राजको हो । उस वेला विद्यालयमा म अंग्रेजीको मास्टर थिएँ । एक दिन नेपालीका मास्टर विद्यालयमा गयल परे । प्रधानाध्यापकले मलाई नेपालीको गर्जो टार्न दस कक्षामा खटाए । किन हो थाहा छैन, विद्यार्थीहरूले मसँग भूपेन्द्रमान शेरचन 'सर्वहारा'को यही कविता पढाइमागे । तिनको छनोट मलाई मन पर्यो । मैले रैथाने पञ्च, प्रशासक र जासुसहरूले नसुनून् भनेर सानो स्वरमा कविताको अर्थ खुलाएँ । तैपनि, एक कान, दुई कान, मैदान हुँदै मेरो स्वर तिनका कानमा पुगेछ । शाही प्रमुख जिल्ला अधिकारीले मलाई तिनको अड्डामा डाकेर ठिंगे लगाए । र, विद्यार्थीहरूलाई उत्तेजित गराउने गरी भूपीका कविताको विद्रोही व्याख्या किन गरिस् भनेर तिनले मलाई केरकार गरे । मैले भनेँ— यो कविता रचेको भूपीले हो, यो कविता पाठ्यपुस्तकमा राखेको सरकारले पत्याएका पण्डितहरूले हो । कवितामा जे छ, मैले त्यही मात्र व्याख्या गरेको हुँ । तातो कविताको चिसो व्याख्या गर्न मिल्दैन । बाँकी कुरा कि भूपीले भन्लान् कि यो कविता चयन गर्ने सरकारी पण्डितहरूले भन्लान् ।
देश बनोस् भनेर अन्याय-अत्याचारविरोधी संग्राममा म मारिँदै छु भन्ने जान्दा-जान्दै मरेर जाने सपूत सहिद हो
शासनको आसनमा बसेर हुकुमी शैलीमा जो पायो उसलाई सहिद घोषणा गर्ने हाम्रा राजनीतिक बलरामहरू प्रश्नको उत्तर दिने लेठो गर्दैनन् हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन देश दुई-चार सपूत मरेर नगए ।
मेरा कुरो सुनेर तामसी प्रजिअ बिलखबन्द परे । तिनले आइन्दा यसो नगर्नू भनेर संकेतको भाषामा ध्वाँस दिँदै मलाई फुकुवा गरे ।
विषयको बाना मिलाएर लोकका आँखा छल्न पञ्चायती पाठ्यपुस्तकमा भूपीको यो कविता राखिएको थियो । तर, यस कविताको साँचो अर्थ लगाउन भने मौन निषेधाज्ञा जारी गरिएको थियो । कारण स्पष्ट छ । देश बनोस् भनेर अन्याय-अत्याचारविरोधी संग्राममा म मारिँदै छु भन्ने जान्दा-जान्दै मरेर जाने सपूत सहिद हो । त्यस्तो सहिद परिवर्तनको प्रेरक हो । त्यस्तो सहिद साहसको प्रतीक हो । त्यस्तो सहिद त्यागको प्रतिमूर्ति हो । त्यस्तो सहिद उदात्त संस्कृतिको बीज हो । त्यसैले सहिद आततायी शासकको डरलाग्दो शत्रु हो । र नै, भूपेन्द्रमान-भूपीको उद्वेलनकारी कविताको बागी अर्थ खुलाउँदा निरंकुश शासनको जिल्ला चौकीदार डरले त्यसरी थुर्थुर काम्यो ।
हिजोदेखि आजसम्म सहिदको परिभाषा गर्ने काम राजनीतिका बलरामहरूले गर्दै आएका छन् । लोकगीतको बलराम खाँट्टी दूधमा पानी हालेर गर्नु गरिरहेछ । राजनीतिका बलरामहरू सहिदरूपी खाँट्टी दूधमा नक्कली सहिदरूपी पानी हालेर गर्नु गरिरहेका छन् । यो पञ्चायती हैकमदेखि चलिआएको संक्रामक सांस्कृतिक रोग हो । पञ्चायती राजमा सहिद दिवसको दिन प्रधानमन्त्री, मन्त्री र सरकारी हाकिमहरू मलामीको लर्कोजस्तो आवेग र उमंगविहीन जुलुसमा हल्लिँदै सहिदगेट पुग्थे । र, तिनले सैनिक सलामीसाथ सहिदलाई श्रद्धाञ्जली चढाउँथे । सन्तानब्बे सालमा सहादत प्राप्त गर्ने चार महान् सपूतका शिरमाथि ती सपूतको ज्यान लिने लिखतमा लालमोहरको छाप ठोक्ने राजा त्रिभुवनको सालिक थियो, जो अझै छँदै छ । जसरी भूपीको विद्रोही कविताको साँचो अर्थ खोल्न वर्जित थियो, त्यसैगरी सपूतका ज्यान लिने मतियार त्रिभुवनको सालिक सहिदगेटमा सबैभन्दा माथि किन छ भनेर प्रश्न सोध्न पनि वर्जित भयो । यसरी सच्चा सहिदका शिरमाथि शाही काइते सहिद थोपरेर पञ्चायती राजका राजनीतिक बलरामहरूले गर्नु गरेका थिए ।
सहिद को हो ? कोही कुन योग्यता र गुणले सहिद बन्छ ? यी प्रश्नहरू अनुत्तरित छन् । शासनको आसनमा बसेर हुकुमी शैलीमा जो पायो उसलाई सहिद घोषणा गर्ने हाम्रा राजनीतिक बलरामहरू यी प्रश्नको उत्तर दिने लेठो गर्दैनन् । त्यसको सट्टा ती सक्कली सहिदमा बलरामे शैलीमा नक्कलीलाई मिसाउने उही पञ्चायती पारालाई चुपचाप पछ्याइरहेका छन् । आखिर सहिद को हो ? कोही कुन योग्यता र गुणले सहिद बन्छ ? जो निजी लोभ, निजी लाभ, निजी भोग र निजी सुख-सयलभन्दा माथि उठेर लोकहितका लागि प्राण आहूति गर्छ, ऊ सहिद हो । जो आपmनो महान् ध्येय, लक्ष्य वा आस्थाका निम्ति जस्तोसुकै यातना सहेर पनि राजीखुसीले मृत्यु वरण गर्छ, ऊ सहिद हो । हृदयको विशालता सहिदको अलंकार हो, लक्ष्यको उच्चता सहिदको आभा हो र शौर्यको विरल प्रदर्शन सहिदको प्रकाश हो ।
सहिदको महत्ता दुर्लभ हुनुमा छ । सहिदको प्रेरणादायी शक्ति विलक्षण हुनुमा छ । सहिदको महानता भय, यन्त्रणा र मृत्युमाथि विजयप्राप्त गर्नुमा छ । सहिदको गौरव आफ्नो सर्वस्व अरूलाई दिनुमा छ । सहिदको पहिचान आभा, ओज र गरिमाको असामान्य उचाइ निर्माण गर्नुमा छ । सहिदको अजेय शक्ति आत्मोत्सर्गको वेदीबाट जन्मिने झल्झलाकार प्रकाशमा छ । तब न सहिद !
कोही देशको अस्तित्व जोगाउन सहिद बन्छ । कोही जातिको संस्कृति बचाउन सहिद बन्छ । कोही स्वतन्त्रता प्राप्त गर्ने यज्ञमा चरु भएर होमिँदै सहिद बन्छ । कोही दासता, अन्याय, विभेद र वञ्चनालाई नाश गर्न सहिद बन्छ ।
युद्धमोर्चामा दोहोरो हानाहानमा मर्ने पात्र सहिद होइन । कारण त्यस शस्त्रधारीसँग शस्त्रधारीको बराबरीको खेल हो । सशस्त्र द्वन्द्वमा दुईतिरको चेपमा परेर मर्ने पात्र सहिद होइन । ऊ द्वन्द्वपीडित हो । आन्दोलनमा अन्जानवश हुलमुलमा परेर ज्यान गुमाउने पात्र सहिद होइन । सडक-दुर्घटनामा मर्ने पात्र सहिद होइन । सहिद त आस्थाले हुन्छ, संकल्पले हुन्छ, साहसले हुन्छ, निःशस्त्र अवस्थामा यातना र मृत्युका मुखेन्जी नलत्रिने दृढताले हुन्छ । तर, राजनीतिका हाम्रा बलरामहरू मुखियाले भिखारीलाई भिख बाँडेझैं सहिदको पदवी जथाभावी बाँडिरहेका छन् । सडक छेके पुग्छ । दुर्घटनामा परी मर्ने पनि सहिद घोषित भइहाल्छ । टायर बाले पुग्छ । ग्याङ-फाइटमा मर्ने पनि सहिद घोषित भइहाल्छ । दुई-चारवटा वाहन तोडफोड गरे पुग्छ । सन्धिसर्पनको झगडामा चोला उठ्ने पनि सहिद घोषित भइहाल्छ । यो सहिद बनाउने बलरामे काइदा हो । सहिदजस्तो अमूल्य अलंकारको यो घोर उपहास हो ।
गंगालाल र दशरथचन्द, शुक्रराज र धर्मभक्त सहिदको ओजन मनग्गे पुग्ने सहिद हुन् । यी सच्चा सहिद हुन् । यिनले जहानियाँ राणा शासनको शोषण र दोहनविरुद्ध हाकाहाकी जेहाद छेडे । यिनले लोककल्याणका निमित्त जीवनको बाजी थापे । आफ्नो कर्मको परिणति फाँसी हुनसक्ने कुरा यी चार सपूतलाई राम्रै थाहा थियो । यिनका लागि दासताभन्दा सहादत पि्रय बन्यो । गंगालाल र दशरथचन्दले घाँटीमा फाँसीको सुर्काने भिर्नुको सट्टा छातीमा ताता गोली दागिनुमा वीरता देखे । तिम्रो अन्तिम इच्छा के छ भनी सोधिँदा तिनले शानले जल्लादसँग आँखा जुधाएर 'राणाशासनको अन्त्य' भने । फाँसीको डोरी हेर्दै शुक्रराजले हुंकार गरे— जुद्ध शमशेर आज मेरो प्राण लिन आतुर छ, तर मेरो आत्मा अमर रहनेछ । यस आत्माले राणासरकारको विनाश बादलपारिको आकाशबाट हेर्नेछ । उसो त धर्मभक्तको आत्मबलिदानको कथा पनि कम गौरवमय छैन । ती फहलमानलाई फाँसी चढाउँदा पहिलोपटक रूखको हाँगो भाँच्चियो । दोस्रोपटक डोरी छिन्यो । तिनले दारा किटेर त्यो चरम यातना सहे । ती लत्रिएनन् । 'माफी पाऊँ' र मृत्युका बीचमा जम्मा एक हातको दूरी थियो । 'माफी पाऊँ' भन्ने दुई शब्दले यी चार सपूतको ज्यान बच्थ्यो । तर, अत्याचारी शासकसामु शिर निहुराएर जीवनको भिख माग्नुभन्दा शिर ठाडो पारेर मृत्युलाई जित्नुमा नै यिनले जीवनको सार्थकता देखे । तब न सहिद !
दुर्गानन्द झाले निरंकुश राजा महेन्द्रलाई ताकेर बम पड्काए । यिनलाई गाथ-गादी ताकेको फत्तुर लाग्यो । मारिनु निश्चित थियो, तर हात उठाएर यी लत्रिएनन् । यिनका लागि जीवनभन्दा आस्था प्यारो लाग्यो । यिनको आस्था निरंकुश शाहीतन्त्रलाई मास्नु थियो । बर्बर शासनको अकल्पनीय यातनाले कृष्ण सेन 'इच्छुक'लाई गलाउन सकेन । कालकोठरीका छिद्रहरूबाट छिरेर बाहिर आएको कथा भन्छ— प्राण जाने वेलासम्म यिनले भनिरहे— 'म माओवादीको जिम्मेवार कार्यकर्ता हुँ । मलाई त्यही हैसियतमा व्यवहार गर ।'
यी सबै सहिद सशस्त्र सत्ताको क्रूर पन्जामा परेका निःशस्त्र नागरिक थिए । यिनको साहसिक सहादतले क्रूर सत्ताका शस्त्रास्त्रहरूलाई निस्तेज साबित गरिदियो । र, यिनको सहादलते बाँचीबर्ती रहेका मानिसका आत्मालाई ब्युँझायो र तिनलाई स्वतन्त्रताप्राप्तिको लडाइँमा अदम्य ऊर्जाको उपहार दियो ।
सहादत प्राप्त गर्नुअघि न्याययोद्धा कुनै आस्थाविशेषको वा दलविशेषको सदस्य हुन सक्छ । तर, सहादतको गौरवसँगै ऊ आस्था वा दलका सीमाहरू नाघेर राष्ट्रको आकाशमा उठ्छ । ऊ सबै आस्थाको साझा सहिद बन्छ । ऊ सबैका लागि प्रेरणाको स्रोत र प्रातःस्मरणीय विम्ब बन्छ । तब न सहिद !
No comments:
Post a Comment