इतिहास खोज्दै रसुवागढी
पहाडको उकालीलाई मैले माया गरेजस्तो
सुनाखरी फूलिदिन्छ मैले पि्रत छरेजस्तो
स्याप|mुबेसीबाट उकालो लाग्दा मेरो पछि-पछि आइरहेको भरियाको रेडियोमा यो गीत बजिरहेको थियो । केहीबेरमा मेरो पिठ्यँू पछि यो गीत र त्यो भरिया एकैसाथ क्रमशः विलाउँदै गए । मैले जीवनको रहस्य त्यतिबेर आफैँलाई सोधेँ । भर्खरै बन्दै गरेको सडकको आकारसँग म हिँड्दै गरेको एैतिहासिक गोरेटो तुलना गर्दा लाग्थ्यो म सीसाकलमले कापीमा कोरिएको धर्सोसंग डोरिइरहेको छु । यो अनकण्टार बाटो र म एक्लाएक्लै छौँ । साथ थियो त केवल मेरो उल्टो दिशामा यात्रा गरिरहेको चीनको केरूङ खोलाको एकोहोरो बगाई र यसको छङ छङ छङ । नेपालको ऐतिहासिक स्थल रसुवागढीको गन्तब्य मेरो लागि नौलो, रोचक र बहुप्रतीक्षित थियो । एकबर्ष पछिको यात्रीभन्दा म धेरै भाग्यमानी छु, किनकि त्यसपछि यो गोरेटो उनीहरूले पैदल हिँडिरहनु पर्ने छैन । २८ महिना भित्र बाटो बनाएर सिध्याउने लक्ष्यसहित चीनले नौ महिना अघि बाटो खन्न सुरू गरिसकेको छ ।
एकोहोरो हिँडाईमा अहिलेसम्म कोही भेटिएनन् । कहाँ गएछन् यहाँका युवा ? कि नजिकै गाउँ नै छैन कि क्या हो ? बाटो पनि खुबै ख्याल गरेर हिँड्नुपर्ने, कतै कतै त अलिकति खुट्टा चिप्लियो भने एकैचोटि खोलाको बीचमा पुगिन्छ । वरिपरिका यी पहाडहरू साक्षी छन्, हाम्रा बीरहरूले राष्ट्र फैलाउन यी पहाड नाघेर युद्ध गरेका थिए । हेर्दा लाग्थ्यो समयले इतिहास मेट्दै छ । आजका नवराष्ट्रनिर्माताहरू आफू नै राष्ट्रको नोकर भएको भन्न चुक्दैनन्, यस्तो पहाड नाघेर राष्ट्र तन्काउने ती दामोदर पाण्डे, बम शाहहरूले के भन्थे होलान् ? म भन्दा अघि लागेका एक हुलाककर्मी कतिचाँडो बत्तिएछन् ? यो बाटोबाट नेपाल-भोट युद्ध ताकादेखि नै हुलाकीहरू हिँड्ने गरेका हुनुपर्छ । त्यतिबेला युद्धसामाग्रीहरू बोकेर हिँडेका डोबहरू आजपनि पारिपट्ट िथुमनको ढुङ्गे भीरहरूमा देखिन्छ । त्यतिबेला लगाएका बाटाका 'रिटेनिङ वाल'हरू आजपनि पारिपट्ट ियथावत छन् । आजभोलि ती नाक ठोक्किने भीरहरूमा जङ्गली जन्तुबाहेक कोही हिँड्दैनन् । कतै कतै भीरमौरीका गोलाहरू स्वच्छन्द रूपमा अडिएका छन् ।
केही पर पुगेपछि बल्ल बडेमानका भारी लिएर फर्किएका मानिसका हुल भेटिए । उनीहरूले चीनबाट जिम्बु ल्याएका रहेछन् । उनीहरूले सोधे, 'तपाइर्ं कसरी आउनुभयो ? ब्लाष्टिङ गर्न बाटो बन्द थियो ।' मेरो होसहवास उड्यो कसो मरिएनछ । बल्ल बाटो सुनसान हुनुको वास्तविकता थाहा भयो । उनीहरूबाट छुट्टएिर म अझै अघि लागेँ । बडेमानको ढुङ्गाको भित्ताहरूमा कालो कोइलाले कतै आइ लभ यू, पी जोड आई आदि लेखिएका थिए । यीभन्दा धेरै राजनीतिक दलका चुनाब चिन्ह कोरिएका थिए ।
त्यसो त बेला-बेलामा बडेमानका भारीसँग हातमा जुत्ता, थर्मस बोकेर फर्किरहेका स्थानीय पनि भेटिए । चीनको नून-तेल खानेहरूका लागि केरूङसम्म खुल्ला रहेछ । गाबिसको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले प्रबेशआज्ञा प्रमाण दिँदोरहेछ । ती सामानहरू भन्सारका आँखामा कति पर्छन त्यो त मलाई थाहा भएन । केही महिना अघि भार्खुमा भेटिएका भेडा गोठालाहरूले भने भन्सार तिरेर भेडा-च्याङ्ग्रा ल्याउने गरेको बताएका थिए । टिमुरे पुगेपछि सीमा प्रशासनका प्रशासक रामहरि गजुरेल भेटिए । सत्रसय मिटरको उचाइमा भएपनि यो बस्ती निकै उचाइमा पाइने बस्ती जस्तो छ । एकै ठाउँमा गुजुमुज्ज परेका घरहरू, कतै ढुङ्गा र कतै जस्ताले छाएका । घरै पिच्छे पक्की ट्वाइलेट हेर्दा यहाँपनि एनजीओ, आइएनजीओको उपस्थिति राम्रै छ जस्तो लाग्यो । धन्य यो गाउँमा रसुवाका माथिल्लो भेकमा जस्तो ट्वाइलेटमा दाउरा भण्डारण चाहिँ गरेका रहेनछन् । कतिपय माथिल्लो भेकमा ट्वाइलेटको सदुपयोग दाउरा राखेर गरेका छन् । उनीहरूको तर्क हुन्छ, 'यति राम्रो ठाउँमा पनि दिसा गर्ने हो र ?'
यस्तै एउटा सानो घरभित्र छिरेपछि, उनी भेटिएका हुन् । भित्र सानो कोठा जस्तो थियो त्यहाँ उनी आगो तापिरहेका रहेछन् । आगो र याक चुरोटको धुँवामा एकाकार भएर उनी त्यहाँ गुम्सिरहेका थिए । धुँवाले चिनिनसक्नु भएको किट्लीमा भकभक पानी उम्लिरहेको थियो, उनका कुरा सुन्दा लाग्थ्यो गजुरेल पनि त्यो पानीमा उम्लिरहेका थिए । भर्सेलीमा दाउराको चाङ लगाइएको थियो । उनले भने, 'यो पुसको चिसो भगाउन यसो गरिएको हो ।' उनले त्यही पानीचियामा बदलेर हामीलाई स्वागत गरे । अहिले राष्ट्रनिर्माणमा लागेका राजनीतिज्ञ देखि कर्मचारीतन्त्रको समेत उनले खोइरो खने । ६/७ बर्ष यो अध्यारो छिँडीभित्र उनी एक्लै बसिरहनु कर्मचारीतन्त्रको न्याय थिएन । ऐतिहासिक रसुवागढीको संरक्षणमा सरकारको चासो उनका लागि गजबको गफमसला भयो । 'उच्च पदस्थहरूले यो कणर्ालीका लागि ठूलै आश्वासन दिएर गए, तर केरूङको ब्ल्याङ्केटको तातोले सवैकुरा बिर्साइदियो ।' उनको अमिलो ब्यङ्ग्य यसरी नै खसिरहृयो ।
स्याप|mुबेसी-रसुवागढी बाटो बनेपछि जीवन सुलभ बनाउने आशामा रहेका टिमुरेबासीले त्यहाँको स्रोतसाधनको संरक्षणमा पनि चासो देखाए । बाटोको ठेकेदार र इन्जिनियरसँगको एक औपचारिक भेटमा उनीहरूले भने, 'बाटो निर्माणमा हाम्रो इतिहास सुरक्षित हुनुपर्छ । हाम्रो अस्तित्व ब्लाष्टिङमा पड्काइनु हँुदैन । वास्तवमा त्यहाँको प्रत्येक ढुँगा-माटो ऐतिहासिक छ । इतिहास अनुसार थापाथली सन्धि -१९१२) पछि एक जीवन्त इतिहास बोकेर त्यो अटल छ । त्यो कठिन भूगोलको यात्रासँग रसुवागढीको संरचना हेर्दा लाग्छ, उतिबेरका वीरहरू अवश्य महान छन् । वारिपारि नेपाल र चीनको झण्डा आ-आˆनै सुरमा हल्लिरहेका छन् । तिनीहरूलाई सोध्न मन लाग्छ, 'हाम्रा वीरहरू हनुमानभन्दा वीर र कर्मठ थिएनन् भनेर कस्ले भन्छ ?' यत्रा पूर्वाधार, ढुङ्गाका पर्खाल र यो संरचना निर्माण गरेर शत्रुसँग जुध्न अवश्य सहज थिएन ।
त्यहाँ १९९३ को इतिहास बोकेको एउटा हुलाक छ । पुराना हुलाकहरूको सूचीमा पर्छ यो हुलाक । पृथ्बीनारायण शाहको थाप्ले र कागते हुलाकको औपचारिक र विकसित रूप थियो यो । सहरको एउटा गतिलो वाथरूम जस्तो घर रहेछ । सिमेन्ट, बालुवा र गिटी सिंहदरवार देखि चुहिँदै आएर त्यति सानो भएको हुनुपर्छ त्यो । सीमा प्रशासक गजुरेलले फेरि एकपटक हाम्रो शरीरसंग हुलाकघर दाँज्दै भने, 'तपाईँ-हाम्रो शरीर जस्तै यो पनि कुपोषित छ ।' र्फकंदा बाटामा ब्लाष्टिङ हुने पीरले जङ्गलको बाटो लागेँ । मलाई जङ्गलभित्रै लाङटाङ राष्ट्रिय निकुञ्जका मुकुन्द भेटवाल र नारायण घिमिरेले समाते । चिनीया सेनाले गढीभित्र पसेर निर्बाध फोटो खिचिरहेका ट्वाल्ल हेरिरहने यिनीहरूले मलाई पक्रिएकोमा रिसको पारो निकै चडेको थियो तर उनीहरूले उल्टै कोठामा ल्याएर खाना खुवाएर राखे । त्यत्रो तामाङ बस्तीमा पनि उनीहरूले गायत्री मन्त्र नजपी मलाई खाना खान दिएनन् । र्फकंदा एकजना एनजीओकर्मीसँग भेट भयो । वास्तबमा संरक्षणको पर्खाइमा बेहाल बसिरहेको रसुवागढीको कथा यस्तै थियो ।
बेहाल छ ऐतिहासिक स्थल रसुवागढीको
हेर्दा रमणीय तर चट्टान भित्रको एउटा सुन्दर टापुजस्तो छ ऐतिहासिक रसुवागढी । त्यहाँ दुईवटा ऐतिहासिक शिलालेख छन्, एउटा विसं. १९१२ को र एउटा २०१७ सालमा लेखिएको । स्थानीय युबा क्लबले राखेको एउटा साइनबोर्ड छ । त्यहाँ हेर्दा लाग्छ थापाथली सन्धि अघिको नेपाल तिब्बत युद्ध राष्ट्रभक्तहरूले साना दुःखले गरेका अवश्य थिएनन् । शत्रुको आक्रमणबाट बच्न बनाइएका ढुङ्गाको ढाल आकारका पर्खाल र अवस्थिति हेर्दा लाग्छ त्यो संरचना एउटा सामान्य मान्छेले तत्काल बनाउन सक्ने अवश्य होइन तर संरक्षणको पर्खाइमा आजसम्म यो अपहेलित छ । आजसम्म पुरातत्व विभागको आँखा लाग्न नसकेको सीमा प्रशासनका प्रशासक रामहरि गजुरेलले बताए ।
चीन सरकारको सहयोगमा निर्माण सुरू भएको स्याप|mुबेसी-रसुवागढी सडक -१६ किमी )को निर्माणले यो अझ असुरक्षित बनेको छ । यसको सुन्दरता पुनः हराउन थालेको स्थानीयबासी बताउँछन् । नेपाल चीन जोड्ने यो सडक हाम्रा लागि बरदान भएपनि ऐतिहासिक स्थलको संरक्षण हाम्रा लागि जरूरी छ । गढीको बीचबाट बाटो खोलिएको छ । अहिले करिब एक किमी बाटो निर्माण भइसकेको छ । यसको संरक्षणमा हालसम्म गाबिसले पनि केही नगरेको गाविस सचिव विष्णु रिमालले बताए । हाल यसको भत्किएको पर्खाल थप्ने कार्य लाङटाङ राष्ट्रिय निकुञ्जले गरिरहेको छ । निकुञ्जका स्थानीय कर्मचारी नारायण घिमिरेले भने, 'पहिला पखर्ाालका ढुङ्गा चोरिएकाले अहिले थप्न लागिएको हो ।'
No comments:
Post a Comment