Saturday, January 31, 2009

राज्यले बिर्सेका प्रथम सहिद:नरेश खपाङ्गीमगर

राज्यले बिर्सेका प्रथम सहिद:नरेश खपाङ्गीमगर
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ,सालिन्दा जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निकै सम्भिइन्छन् । यसपटक सहिद दिवसमा धेरैले यी पंक्तिहरू स्मरण गरे । सहिदगेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार सहिदका सालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको सहिदस्तम्भ वर्षको एकपटक चिटिक्क पारियो । देशभर चार सहिदका ढलौटे सालिकहरूले गलामा माला भिर्न पाए । सप्ताह लामो यो उत्सवमा देशका प्रथम सहिद लखन थापामगरलाई भने कतै सम्भिइएन ।

जहानियाँ राणाशासनविरुद्ध पहिलोचोटि जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । विसं १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षको उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरूलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनुअगावै विसं १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरूले बेलायत अधीनस्त इस्ट इन्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षबहादुर बुढाका अनुसार त्यहीँबाट लखन थापामा राणाविरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।

कप्तान पदसम्म पुुगेका लखन थापाले विसं १९२७ मा जंगबहादुरविरुद्ध विद्रोह छेड्ने निष्कर्ष निकाल्दै सेनाबाट बिदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधि छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुुई हजार युुवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरू पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्याससमेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरू उनको दरबारबाट चोरी

भयो र जंगबहादुरसम्म पुुग्यो ।

जंगबहादुरले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशमशेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापा र उनका सहयोगीहरू पक्राउ परे । उनीहरूलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरूलाई मनकामना मन्दिरअगाडि झुन्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै विसं १९३३ फागुन २ गते उनलाई रूखमा झुुन्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रूखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो । दुुई ब्राह्मणलाई भने मृत्युदण्ड दिइएन ।

विसं २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तरार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र सहिद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने सहिद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई सहिद त घोषणा गर्‍यो तर प्रथम सहिद भन्न सकेन ।

जब लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् ? उनले विद्रोह गरेका हुन् होइनन् ? शहादत प्राप्त गरेका हुन्

होइनन् ? प्रश्नहरूको पर्रा उठाइन्छन् । लखन थापाका बारेमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरू प्रशस्त छन् । इतिहासकारहरूले उनका बारेमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निरर्थक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढ सय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्ट्रिय विभूति र

सीतालाई राष्ट्रिय गौरव स्विकार्दै आएका छौं भने लखन थापालाई त प्रथम सहिद मान्ने थुप्रो प्रमाण छन् ।

सरकारले कि प्रथम सहिद अर्कै छन् भन्ने प्रमाण पेस गर्न सक्नुपर्‍यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुपर्‍यो । सरकारलाई शंका लाग्छ भने इतिहासकारहरू सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि सहिदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न

भएकाले यहाँ सहिदको सम्मान पाएका छन् । राज्यले उनीहरूको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम सहिदले न सम्मान पाएका छन् न त सहयोग नै ।

No comments: