Saturday, January 31, 2009
क्रान्तिको कथा
क्रान्तिको कथा,सलाम समर्पण ती योद्धाहरुप्रति
"आमा, तपाइँको दूध देशको लागि काममा आयो। तपाइँले तपाइँकी यो बुहारीलाई राम्रो हेरविचार गर्नु होला ! यति भनेर उनी जेलभित्र फर्किए। उनले यो भन्दा बढी केही बोलेनन्। आफूले पिएको आफ्नी आमाको अमृतमय दूघ नेपाल आमाका लागि अर्पण गरे। आफ्नो यौवनको सम्पूर्ण शक्ति र जाज्वल्यमान जीवन मातृभूमि नेपालको स्वतन्त्रतामा समर्पण गरे।
निरङ्कुश राजाशाही सत्ताको शिखण्डीहरुद्वारा वन्दी बनाइएकी नेपाल आमाको स्वतन्त्रताको लागि २० वर्षो नवयुवक तानाशाहीहरुको फाँसीमा हाँसी हाँसी झुण्डिन तयार भए, कायर बनेन्।
त्यो दिन उनलाई मृत्युदण्ड दिने कुरा त्यतिबेला थाह भयो, जव उनकी पत्नी र आमालाई जनकपुरबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो र भेट गराइयो। सलाम ती वीरलाई ! उनी त्यतिबेला अलिकति पनि विचलित थिएनन्।
आँखा अगाडि लट्कीएको मृत्यु पासो र कानमा गुन्जीहरेको मृत्युघण्टाको आवाजले पनि चट्टानले बनेको पहाड जस्तो उनको दृढतालाई अलिकति पनि हल्लाउन सकेन। उनको महान्मृत्युलाई जल्लादहरु हेरिरहे। जल्लादहरुलाई के थाह शाहादत के हो ?
आफ्नी नवविवाहिता किशोरी पत्नी काशीदेवीलाई आफ्नी आमाको जिम्मामा सुम्पदै आमासँग सदाका लागि विदा लिदै माथिका यिनै शब्द उनले सेन्ट्रल जेलको ढोकामा भनेका थिए "आमा, तपाइँको दूध देशको लागि काममा आयो।" यी वीर क्रान्तिकारी योद्धलाई मेरो पुनः सलाम ! सलाम !! सलाम !!! जल्लादहरुका सामू झूण्डिए तर स्वाभिमान झुकाएनन्। यी योद्धाको नाउँ हो दुर्गानन्द झा।
नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा धेरै झाहरुले सहादत प्राप्त गरे। २०१८ सालको जनकपुर काण्डमा निरङ्कुश राजा महेन्द्र उपर वम प्रहार गर्ने सहसी योद्धा दुर्गानन्द झा, अरविन्द ठाकुर र दलसिंह थापा सेन्ट्रल जेलमा मृत्युदण्डको त्यो कालो घडीलाई हाँसी हाँसी पर्खिरहेका थिए। सत्ताधारी कायरहरुको सत्ताको जेल, नेल र मृत्युदण्डलाई झाहरु, ठाकुरहरु र थापाहरु सगरमाथाजस्तो अटल विश्वासका साथ शीर उचो गरेर चुनौति दिइहरेका थिए।
२००७ सातसालको सशस्त्र क्रन्तिका प्रथम शहीद थीरबम मल्लले २५ वर्षो जल्दोबल्दो उमेरमा जीवन उर्त्र्सगको खेल खेले। क्रान्तिको पहिलो दिन २००७ कार्तिक २६ नेपाल र नेपालीको स्वतन्त्रताका लागि हाँसीहाँसी आफ्नो बलि चढाए, लखन थापालाई सन् १८७६ मा नै जंगबहादुर सिद्ध्याइसेका थिए। राष्ट्रदोही राणाहरु, राणपछिका पंचायतका पाखण्डीहरुले जनताका सम्पूर्ण अधिकार खोसेर मनोमानी जहानिया र निरङ्कुश एकतन्त्रीय शासन चलाइरहेका थिए। वर्वर शासनका शूल र जंजीरहरुले छानीछानी सचेत योद्धाहरुको शिकार गरिरेहेका थिए।
राणभित्रैबाट गेहेन्द्र शमशेर प्रथम राणाद्रोहीका रुपमा देखापरेपछि षडयन्त्र गरेर उनको ज्यान लिइयो। नायवसुब्बा कृष्णप्रसाद अघिकारीले "मकैको खेती" भन्ने पुस्तक लेखे र पुस्तकमा राणविरोधी भावना उजागर गरे। "हामीहरु आफ्ना देशी कुकुरभन्दा विदशी कुकुरको धेरै मान गर्दैछौ," मकैको खेतिको भूमिकामा लेखिएको यो उद्धरणमात्र मुर्ख राणाहरुका लागि काफी भयो र १९८० मंसीरमा भद्रगोल जेलमा नै उनको ज्यान हत्यारा राणाहरुले लिए। नेपाल एकिकरण पछि शूरु भएको शाहवंशिय दरवारिया षडयन्त्रको शिकार वन्दै आएको सत्ता अन्ततः राणाहरुको हातमा गयो। राणाहरुले आफूलाई प्रथम दर्जाको शासक, राजवंशीय शाहहरुलाई दोस्रो दर्जाको शासित शासक र आम नेपाली जनतालाई तेस्रो दर्जाको रैतिका रुपमा राखेर व्यवहार गर्न थाले । राणाका अगाडि शीर उठाउनु भनेको पहाडसँग शीर जुधाउनु जस्तो थियो तै पनि कृष्णप्रसाद कोइराला, धरणीधर कोइरालाहरुले राष्ट्रियताको प्रचार र राणा विरोधी अभियान शुरु गरिसकेका थिए। तात्कालीन पेढेलेखेका वुज्रुक र जोशीला युवाहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथा चन्दहरुले देशको स्वाभिनाको खातिर मृत्यु वरण गरे तर कायर राणाहरुको काबुमा आएनन्। यी महान् योद्धा तथा वलिदान्का अनुपम् उपमाहरुप्रति मेरो सलाम र कलम र्समर्पण गर्दै यो "क्रान्तिको कथा" स्तम्भ शुरु गर्ने जमर्को गरेको छु।
श्रद्धेय लेखक हेमराज अधिकारी शास्त्रीद्वारा लिखित "आजको नेपाल" अद्योपान्त पढेपछि यसलाई प्रचारप्रसारमा ल्याउनु उपयुक्त हुनेछ भन्ने लाग्यो। यसका लागि श्रद्धेय शास्त्रीको अनुमति लिएर उही "आजको नेपाल" को सेरोफोरोमा रहेर यो स्तम्भलाई नियमितता दिने इमान्दार प्रयास गर्नेछु। म लेखक श्री शास्त्रीज्यूप्रति विषेश श्रद्धा र आभार व्यक्त गर्दछु। साथै यो स्तम्भ राखेर मलाई लेख्नका लागि आमन्त्रण गर्ने जनपुकार डट कम परिवारलाई विषेश धन्यवाद दिन चाहन्छु। र हामी सबै नेपालीहरुले पिएको आमाको दूघ देशका लागि काममा आओस् ।
को थिए लखन थापा ?
त्यतिबेला क्रान्तिको कुरा सोच्नुमात्रै पनि ठूलो साहस थियो भने अर्कोतिर पागलपन पनि थियो। क्रान्तिको कुरा गर्नेहरुलाई बुझ्ने साहस ठान्थे नबुझ्ने पागल भन्थे। क्रान्ति असम्भव थियो, त्यो असम्भव क्रान्तिको कुरा गर्नेलाई मान्छेले पागल ठान्थे।
शासक र शासनका विरुद्ध विप्लवको कुरा गर्नु हैन सोच्नु मात्र पनि ठूलो अपराध मानिन्थो। शासकको अत्याचारका विरुद्ध आँखा उठाउनु पनि राष्ट्रद्रोह मानिन्थ्यो। नियम, कानून, संविधान, विधान केही थिएनन्, थिए त सबै मौखिक थिए। हुकुम नै कानून हुन्थ्यो। हुकुमको पालना नगर्नेलाई कठोर भन्दा कठोर भौतिक यातनादेखि लिएर मृत्युदण्डसम्म पनि दिइन्थ्यो। कुनै अपराधका लागि कुनै वैधानिक प्रकृया थिएन। हुकुम नै सबै थियो।
राणा शासकहरुलाई कसुर चाहिदैनथ्यो, निहू चाहिन्थ्यो। राणहरुको विरुदावलीका विरुद्ध व्रि्रोहको कुरा गर्नेको र्सवस्वहरण मात्र हैन प्राणहरण गर्नु पनि मामूली ठानिन्थ्यो। धरैको प्राणहरण भइरहेको थियो। धेरैलाई देश निकाला गरिएको थियो। धेरैको र्सवस्वहरण गरिएको थियो।
क्रान्ति के हो जनताले बुझेका थिएनन्। प्रजातन्त्र भनेको के हो, झण्डै झण्डै सतप्रतिसत जनतालाई थाहा थिएन। संचारका माध्यम पनि थिएन। जनतासँग सर्म्पर्क गर्ने र जनतालाई शिक्षित गर्ने कुनै सम्भावना थिएन। जनता अशिक्षि थिए र राणा शासकहरुद्वारा अशिक्षित बनाएर राखिएका थिए। राणाहरुले शाहवंशीय राजाहरुलाई पनि बन्धक राजा बनाएका थिए। राजालाई भोकविलास र सुरासुन्दरीमा सयल गराएर राज्यको शासन व्यवस्थाप्रति ध्यान नजाओस् भन्ने चाहन्थे। राजामाथि समेत काबु कायम गर्ने राणाले जनतालाई जनता हैन रैतीको दर्जामा राखेर व्यवहार गर्थे।
शिक्षा सीमित परिवारमा सीमित थियो। राणा परिवार र राणाहरुले चाहेको परिवार तथा व्यक्तिले मात्र शिक्षाको अवसर पाउथ्यो। जनतासँग सर्म्पर्क गर्ने कुनै माध्यम थिएन। जनतालाई सम्झाउने, बुझाउने, देखाउने कुनै उपाय थिएन। सीमित व्यक्तिहरु एकआपसमा लुकिछिपी भेट गरेर देशको अवस्थाका वारेमा चर्चा परिचर्चा गर्थे। यस्तो अवस्थामा क्रान्तिको कुरा सोचेर १०४ वर्षम्म दबदबा कायम गरेर बसेको राणा सरकारका विरुद्ध बिद्रोह गरेर प्रजातन्त्र ल्याउने सपना देख्नु भनेको सपनामात्र हैन सपनाको पनि सपना जस्तो थियो। तर जहाँ सङ्कल्प त्यहाँ सम्भावना ! देशका सपुतहरुको शाहदतका लागि तयार भएर बसेका थिए।
जंगबहादुरको मृत्युपछि राणशाही भित्रै भूसको आगोजस्तो सल्केको षडयन्त्र र राणा विरोधी भावनाले थोरबहुत बिद्रोहीहरुलाई सहयोग पुर्याएको थियो। राष्ट्रनिर्माणका प्रमुख अभियन्ता श्री ५ पृथ्वीनारायण शाहको निधन पछि षडयन्त्रमा फसेको दरबारमा अन्ततः राणाहरुको कब्जा भयो। राणहरुभित्र भएको षडयन्त्रका कारण राणाभित्रैबाट बिद्रोह जन्मिन थाल्यो।
जंगबहादुरको जन्म जून १८, १८१७ मा भएको थियो। गगनसिंहको हत्या पछि जङ्बहादुरको उदय भयो। जङ्गबहादुरको शासन कालमानै एक आश्चार्य भयो गोरखामा। गोरखामा लखन थापाको उदय भो र उदयसँगसँगै अवशान ! लखन थापा, लखन थापाका नाउँले परिचित हुदा नहुदै मारिए।
सन् १८७६ मा गोरखामा एक व्यक्तिले दन्त्य कथामा प्रचलित लखन थापाको अवतार आफैं भएको प्रचार गर्न थाले। गोरखाकी मनकामना भगवतीको आदेश अनुसार जंगबहादुरलाई मारेर आफैं शासक बन्ने कुरा गर्दै हिड्न थाले। यसका लागि उनले हातहतियार सहितका केही सहयोगी तथा अनुयायीहरुको जत्था पनि तयार गरे। तर यो कुरा जंगबहादुरका कानमा पुग्नासाथ लखन थापा लगायत उनका सहयोगी प्रकाउ गरियो। ति सबैलाई काठमाडौं चलान गर्ने आदेश गरियो तर बाटैमा मनकामना देवीको मन्दिर छेउमा लखन थापा सहित सात जनालाई प्राण दण्ड दिइयो। सातै जनालाई रुखमा झुण्ड्याएर मारियो। मारिनेमा लगन थापा सहित अजय सिंह, अच्र्छाई मगर आदिको नाम थाह हुन आयो। अन्यको नाम अहिलेसम्म गुमनाम नै छ, मारिनेमा को को थिए .... ?
लखन थापा को थिए भन्ने कुरा हालसम्म कही कतै उल्लेख भएको पाइँदैन। उनको वास्तविक नाउँ के हो भन्ने कुरा पनि सायद खोजी र अनुसन्धान कै विषय हुनु पर्छ। लखन थापा जो भए पनि जल्लादी विराशतका विरुद्धको विप्लव हो, बिद्रोह हो - लखन थापा !
राणा परिवारभन्दा बाहिरको पहिलो बिद्रोह भएको हुनाले उनलाई पहिलो शहीदका रुपामा इतिहासमा जान्ने गरिन्छ। तर उनले प्रजातन्त्रका लागि बिद्रोह गर्न खोजेको प्रमाण भने सायद अहिलेसम्म भेटिएको छैन। उनमा जंगबहादुरको हत्या गरेर आफू त्यस्तै शासक बन्ने महत्वाकांक्षा तथा पागलपन मात्र थियो कि देशमा वैधानिका शासन कायम गर्ने इच्छा थियो - त्यो पनि सायद खोजी र अनुसन्धान कै विषय हुन सक्छ। जे होस् बिद्रोहको पर्याय हो - लखन थापा ! मृत्यु रोज्ने अदम्य अद्भूत साहस हो - लखन थापा !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment