Saturday, January 31, 2009

यान्त्रिक ढंगले सम्पन्न हुँदैन क्रान्ति


यान्त्रिक ढंगले सम्पन्न हुँदैन क्रान्ति
डा. बाबुराम भट्टराई
पेरिस कम्युनको हारपछि माक्र्स-एङ्गेल्सले के भन्नुभयो ? उहाँहरूले भन्नुभयो- अब केही समय पुँजीवाद हाबी हुन्छ, त्यसैले तयारी गरेर जानुपर्छ, संघर्षका विभिन्न रूप अपनाउनुपर्छ । उहाँले जर्मन कम्युनिस्टलाई संसद्मा भाग लिन लगाउनुभयो । उहाँहरूले भन्नुभयो, 'त्यहाँ बस्नूस्, शक्तिसञ्चय गर्नूस्, मजदुरहरूका सहकारी खोल्नूस्, मजदुरमा संगठन गर्नूस् । पुँजीवादको संकटले फेरि एउटा वेला आउँछ ।'

त्यसरी थुप्रै देशमा क्रान्तिको आधार तयार गर्ने काम भयो । माक्र्स-एङ्गेल्सको मृत्युपछि पुँजीवाद साम्राज्यवादमा विकास भयो । साम्राज्यवादका अन्तरविरोध तीव्र भए । बर्नस्टिन, काउत्स्कीहरूले यान्त्रिक ढंगले माक्र्स र एङ्गेल्सका सुझावलाई लिए । उनीहरू क्रान्ति सम्भवै छैन भन्नेतिर गए । प्लेखानोभहरू ढुलमुल गर्न खोजे । लेनिनले नयाँ विश्व परिस्थितिमा एउटा मात्रै देशमा पनि क्रान्ति सम्भव देख्नुभयो । सन् १९०३ मा लेनिनले 'के गर्ने ?' लेख्नुभयो । सन् १९०३ पछि जब अन्तरसाम्राज्यवादी टक्कर तीव्र हुन थाल्यो, तब 'क्रान्तिकारी परिस्थिति आउँदै छ, अब तयारीमा लागौँ' भनेर लेनिनले आह्वान गर्नुभयो । पन्ध्र वर्षको तयारीपछि सन् १९१७ मा उहाँको नेतृत्वमा रुसमा क्रान्ति सम्पन्न भयो ।

ठोस राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिकोे ठोस विश्लेषणका आधारमा रणनीति र कार्यनीतिको शृंखला विकास गरियो भने क्रान्ति हुन्छ । त्यो गरिएन भने जतिसुकै टाउको ठोके पनि क्रान्ति हुँदैन । लेनिनले भन्नुभयो, ठोस स्थितिको ठोस विश्लेषण गर्नु नै माक्र्सवादको गुदी हो । बोल्सेभिक क्रान्ति पेरिस कम्युनभन्दा फरक ढंगले सम्पन्न भयो । बोल्सेभिक क्रान्तिपछि थुप्रै देशका क्रान्तिकारीले त्यही ढंगले क्रान्ति गर्न खोजे । सत्ताको नाम पनि सोभियत राख्ने र विद्रोहकै ढंगबाट क्रान्ति सम्पन्न गर्नेे प्रयत्न भए ।

चीनमा वाङ मिङ र ली ली सानहरूले रुसकै हुबहु नक्कल गर्ने खोजे । तर, लेनिनलाई उद्धृत गर्दै माओेले भन्नुभयो, माक्र्सवाद कुनै जडसूत्र होइन, क्रान्तिको विज्ञान हो । यसले त दिशानिर्देश गर्छ र अगाडि बढ्ने मार्गप्रशस्त गर्छ । यसरी माओले दीर्घकालीन जनयुद्धको कार्यदिशा आविष्कार गर्नुभयो । माओलाई ली ली सान र वाङ मिङहरूले झाँको झारे- यो दक्षिणपन्थी हो, यो पूरै निम्नपुँजीपति हो । किसानको क्रान्तिको कुरा गर्छ, सहरमा तुरुन्तै विद्रोह गर्ने कुरा गर्दैन । तर, माओ दृढ भएर बस्नुभयो । उहाँले कहीँ पनि क्रान्तिको हुबहु नक्कल हुँदैन भन्ने मान्यताका आधारमा नयाँ-नयाँ प्रयोग गर्नुभयो । र, सन् १९४९ मा चीनमा नयाँ ढंगले क्रान्ति सम्पन्न भयो ।

मैले यो इतिहास किन बताएको ? क.प्रचण्डले भन्नुभएको छ- क्रान्ति दोहोरिँदैन, विकास हुन्छ । क्रान्तिको मोडेल बनिबनाउ हुने भए सबैले क्रान्ति गर्थे । क्रान्तिका लागि विचार र नेतृत्व चाहिने त्यही भएर हो । त्यसैले माक्र्सवाद-लेनिनवाद-माओवादका आधारभूत प्रस्थापनाको सबभन्दा पहिले ग्रहण र त्यसपछि रक्षा, प्रयोग र विकास गरिनुपर्छ । त्यसरी मात्रै माक्र्स-एङ्गेल्स, लेनिन र माओहरूले क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्नुभएको थियो । तर, माओको निधनपछि त्यस उचाइका विश्व सर्वहारावर्गका नेता पैदा गर्न हामीले सकेनौँ । त्यसपछि साम्राज्यवाद जसरी विकास भएर आयो, त्यसलाई ठीक ढंगले विश्लेषण गर्ने, अन्तर्राष्ट्रिय-राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्ने र क्रान्तिकारी कार्यदिशाको विकास गर्ने काममा कमजोरी रह्यो ।

तर, हामीले गर्वसाथ भन्नुपर्छ क.प्रचण्डको नेतृत्वमा पार्टीले बिल्कुलै नयाँ ढंगले क्रान्ति सम्पन्न गर्न सकिन्छ, माक्र्सवादका मूल सिद्धान्त सही छन्, त्यसलाई दह्रोसँग पक्रनुपर्छ, तर अहिलेको विश्व परिस्थिति र नेपालको ठोस परिस्थितिमा त्यसलाई विकास गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा विसं ०५२ सालमा मौलिक ढंगले जनयुद्धको थालनी गर्‍यौँ । जनयुद्ध तयारीका क्रममा हामीले जनमोर्चा बनाएर खुला गतिविधि गर्‍यौँ । त्यतिवेला के भनेका थिए थुप्रै माक्र्सवादी पण्डितहरूले ? 'रिम'सँग सम्बन्धित पार्टीहरूले हाम्रो पार्टी दक्षिणपन्थी भयो, सिद्धियो भनेका थिए । तर, हामीले भन्यौँ- नेपालमा भर्खर पार्टी स्वतन्त्रता आएको छ, भलै यो बुर्जुवा खालको प्रणाली हो, अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक परिवेशभित्रकै हो । तैपनि, यो खुला परिवेशको फाइदा उठाएर जनतामा राजनीतिक प्रचार गर्नुपर्छ । जनयुद्धको तयारी खुला ढंगले गर्नुपर्छ । खुला मोर्चामार्फत जनयुद्धको तयारीको काम गर्ने, भित्री रूपमा फौजी तयारी गर्ने- यसरी मात्रै क्रान्ति हुन्छ भन्ने नितान्त नयाँ कुरा हामीले अगाडि सार्‍यौँ । धेरै मान्छेले पत्याएनन् त्यतिवेला । हामीले खुला रूपमा मोर्चामार्फत भाषण गर्दै हिँड्यौँ, संसद्मा समेत पुग्यौँ । यिनीहरू डुबे, संसद्मा गएर पनि कहीँ क्रान्ति हुन्छ भने मानिसहरूले । तर, हामीले क्रान्ति अगाडि बढाएर देखाइदियौँ । किनभने, हाम्रो विचार स्पष्ट थियो । हामीले ०४८ देखि ०५२ सालसम्म खुला गतिविधि गर्‍यौँ । तर, भित्री रूपमा जनयुद्धको तयारी पनि गर्‍यौँ । नितान्त नयाँ ढंगले जनयुद्ध सुरु गर्‍यौँ, अनि त मान्छे चकित भए । जनयुद्ध गर्दागर्दै हामी बाहिर वार्ताको कुरा पनि गथ्र्यौं । तर, भित्र हामी फौजी आक्रमणको तयारी गथ्र्यौं । 'सिद्धियो माओवादी, सिद्धियो' भन्थे तर हामी सिद्धिएनौँ । ०५७ सालमा पुगेपछि हामीले जनयुद्धका पाँच वर्षका अनुभवलाई नयाँ ढंगले संश्लेषण गर्‍यौँ- प्रचण्डपथका रूपमा ।

हामीले भन्यौँ- एकोहोरो र यान्त्रिक ढंगले मात्रै क्रान्ति सम्पन्न हुँदैन । कमरेड स्टालिनका पालामा चिजलाई असाध्यै एकमनावादी ढंगले बुझ्ने, एउटा पाटो देखेपछि अर्को देख्नै नसक्ने अवस्था भयो । वस्तु त विपरीतहरूको एकत्व हो । क्रान्ति अन्तर्विरोधहरूका बीचबाट आउने चिज हो भन्ने कुरा नबुझ्ने भयो । सीधा-सीधा यान्त्रिक ढंगले मात्र जान खोजियो । त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा घाटा पार्‍यो भन्ने संश्लेषणका साथ हामीले क. स्टालिनका ३० प्रतिशत कमजोरीलाई सच्याएर जानुपर्छ भन्यौँ । वस्तुको प्रधान र गौण पक्ष छुट्याएर हेर्नुपर्छ । प्रधान पक्षलाई ग्रहण गर्नुपर्छ र गौण पक्षलाई सहायक गरेर हेर्नुपर्छ भन्ने मान्यता अगाडि सार्‍यौँ । त्यस बुझाइका आधारमा जनयुद्धको विकास भएको थियो । जनयुद्धसँगसँगै विकास भएको त्यस विचारलाई प्रचण्डपथ भनेर संश्लेषण गर्‍यौँ । दोस्रो राष्ट्रिय सम्मेलनले हाम्रो विचारलाई माथि उठायो । त्यही वेलामा हामीले के तय गर्‍यौँ भने हाम्रोजस्तो निरंकुश राजतन्त्रले लामो समयदेखि शासन गर्दै आएको देशमा कार्यनीतिक ढंगले राजतन्त्रका विरुद्ध आन्दोलन केन्दि्रत गरिनुपर्छ । बल्ल त्यसले जनवादी क्रान्तिको ढोका खोल्छ । त्यही कार्यनीतिक शृंखलालाई पछि चुनवाङ बैठकमा गएर हामीले लोकतान्त्रिक गणतन्त्र भनेर परिभाषित गर्‍यौँ । र, अहिलेको जेठ १५ गतेसम्म आइपुग्दा त्यसलाई कार्यान्वयन गरेरै छाड्यौँ ।

०४८ सालमा नौ सिट मात्रै जित्ने पार्टी हामी ०६४ सालमा संविधानसभा चुनावबाट सबभन्दा ठूलो पार्टीका रूपमा आयौँ । ४० सूत्रीय माग बुझाउन जाँदा मान्छेले हेर्न पनि चाहेनन्, फुच्चेफाच्चेका कुरा के सुन्नु भनेझैँ गरे । तर, त्यो पार्टी के भयो अहिले ? जनयुद्धमा विश्व नै हल्लाइदियो भने संविधानसभामा सबभन्दा ठूलो भयो । खालि ६० प्रतिशत समानुपातिक राखिएको हुनाले नै अलिकति कम परेको हो । नत्र प्रत्यक्षतर्फ दुई सय ४० मा एक सय २० जितेकै हो नि हामीले । माधव नेपालजस्ता हस्तीलाई हाम्रा जिल्लास्तरका साथीले पल्टाइदिएकै हो । यो के हो ? यो पार्टीको जित थियो, पार्टीको विचारको जित थियो, जनताको आस्था थियो । परिवर्तन माओवादीले मात्रै ल्याउँछ भन्ने जनताको आस्थाको जित थियो ।

हामीले सेना जस्ताको तस्तै राखेका थियौँ । दुनियाँमा यस्तो शान्ति-सम्झौता भएको छ कतै ? शान्ति-सम्झौता गरेपछि अधिकांश देशमा सेना बुझाइन्छन्, हतियार बुझाइन्छन् । शान्तिवार्ताका क्रममा हाम्रो कत्रो लडाइँ भएको थियो । के त्यो वर्गसंघर्ष होइन ? हामी क्रान्तिकारी हौँ । हाम्रै नेतृत्वमा यति ठूलो परिवर्तन भएको छ भने यति सहजै छाड्दैनौँ भन्ने हामीले अडान लियौँ । र, हाम्रो सेना र हतियार जस्ताको तस्तै राखेर हामी चुनावमा गयौँ । यस्तो कहीँ पनि भएको थिएन । कहीँ भएको थियो भने मलाई बताइदिनुस् । यो नेतृत्वको सुझबुझ थियो कि थिएन ?

हामीले अहिले चुनाव पनि जित्यौँ । जनताले हामीलाई विश्वास पनि गर्‍यो । र, अहिलेसम्म आउँदा हामीसँग सेना पनि छ, जनताले हामीलाई सरकारमा पनि पुर्‍याइदिएका छन् । भलै सत्ता आएको छैन, क्रान्ति पूरा भएको छैन । तर, यो बिलकुल नयाँ ढंगले हामीले गरिरहेका छौँ । यस्तो क्रान्ति कहाँ भएको थियो ? हो, भएको थिएन त बुझ्ने यसको बारेमा कोसिस गर्नुपर्‍यो । अहिले हामी ठूलो समुद्रका बीचमा हिँड्दै छौँ । सानो डुंगा लिएर बत्ती बाल्दै हिँड्दै छौँ । अन्धकार छ, दुनियाँमा कहीँ क्रान्ति छैन । नेतृत्वले कहीँ गएर ठोक्किने हो कि भनेर दायाँ-बायाँ गर्दै अगाडि लगिराखेको छ । त्यो हामीले हेर्न सक्ने कि नसक्ने ? सक्नुपर्छ हामीले । त्यो सकेनौँ भने अन्याय हुन्छ, अनर्थ हुन्छ । र, हामीले क्रान्ति गरिखाँदैनौँ ।

त्यसैले, हामी वस्तुवादी बनौँ, आवेगमा नआऔँ, भावनात्मक ढंगले नबगौँ । मौलिक ढंगले क्रान्ति अगाडि बढ्छ भन्ने यथार्थलाई आत्मसात् गरौँ । नेपालमा हामीले नितान्त नयाँ प्रयोग गरिराखेका छौँ । दसौँ हजार सहिद र बेपत्ताहरूको रगत लत्पतिएर आएका हामी बाँचुन्जेलसम्म क्रान्तिलाई धोका हुँदैन । यति विश्वास हामीलाई हुनैपर्छ । कसैले हाम्रो लासमाथि प्रतिक्रान्ति गर्ला, तर हामी जिउँदो भएसम्म प्रतिक्रान्ति हुन दिँदैनौँ । हामी सरकारमा छौँ । निश्चित रूपमा विदेशीलाई भेट्नुपर्छ । अलिकति सुकिला लुगा लगाएर हिँड्नुपर्छ । कहिलेकाहीँ थोत्रो लुगा लगाएर हिँड्न पाए पनि हुन्थ्योजस्तो लाग्छ । म त चप्पल मात्रै लगाएर हिँड्ने मान्छे । त्यसरी नै हिँड्न पाए हुन्थ्योजस्तो पनि लाग्छ । तर, त्यसो भनेर मात्रै भएन । जोगीजस्तो मात्रै भएर क्रान्तिकारी त भइँदैन । यसैलाई सरकारमा गएर सबै डुबुल्किए भन्ने ढंगका कुरा गरिन्छन् भने त्यो यथार्थ होइन । क्रान्तिमा धेरै कुरो मिलाएर लानुपर्छ । पार्टी नेतृत्व असाध्यै सोचविचार गरेर मात्रै यस बाटोमा हिँडेको छ । र, विश्वास के हो भने हामीले नितान्त नयाँ ढंगले नेपालमा क्रान्ति सम्पन्न गरेरै छाड्छौँ । क्रान्तिबाहेक हाम्रो अर्को कुनै सपना पनि छैन, स्वार्थ पनि छैन । त्यो भएछ भने तपाईंहरूले खबरदारी गर्नुपर्छ ।

निश्चित रूपमा यो नयाँ कार्यदिशाको कार्यान्वयनको सन्दर्भमा जटिलता आएका छन् । असाध्यै चक्करदार खालको बाटो जुन हिँड्न परिराखेको छ, यसले गर्दा कहिलेकाहीँ हामीलाई रिँगटा पनि लाग्छ । ठूलो भीरमा चढ्दै जाँदा चक्कर लाग्छ, तल हेर्न डर लाग्छ । के भयो के भयो भन्ने लाग्छ मान्छेलाई । त्यहाँबाट खस्यो भने खर्लंगै सिद्धिन्छ पनि । हाम्रो क्रान्ति जुन उचाइमा छ अहिले त्यसलाई ग्रहण गर्न नसक्दा कतिपयको दिमाग चक्कराइराखेको छ । हामी यहाँबाट खसिहालियो भने मरिहालिन्छ कि भन्ने डरले काप्छौँ । यही त हो चुनौती भनेको । क्रान्ति चुनौतीपूर्ण हुन्छ ।

ठूलो समुद्रका बीचमा एक्लो डुंगामा सवार हामी किनारमा पुग्न लागिराखेका छौँ । कहिलेकाहीँ डुंगा ढलपल गर्छ, दायाँँ-बायाँ गर्छ, डुब्यो-डुब्यो भनेजस्तो पनि लाग्छ । तर, कुशल चालकले त्यसलाई पार लगाउँछ । हामीले वेला-वेलामा थोरै पानी पनि खाएका छौँ । तैपनि, हामी मुख्य रूपमा सही दिशामा नै छौँ । यसमा तपाइर्ं-हामीले विश्वास गर्नुपर्छ । यसमा विश्वास गरेनौँ भने अकर्मण्यता र निराशा आउँछ । त्यसले क्रान्ति होइन, विसर्जनतिर लैजान्छ । अहिलेको वेला भनेको निरासिने र गुनासो गर्ने वेला होइन ।

प्रतिक्रियावादीहरूले हाम्रो पार्टी फुटाउन खोजेका छन्, राष्ट्रिय भेलाअगाडि फुटाउन खोजेकै हुन्, फुट्यो-फुट्यो भनेर भनेकै हुन् । तपाईं-हामीलाई कता-कता डर लागेकै हो । दसजना नेताले दसथरी बोल्दा के हो, के हो भन्ने हामीलाई परेकै हो । प्रतिक्रियावादीले सिद्धियो-सिद्धियो भनेकै हुन् । फेरि पनि हाम्रो पार्टीले विकसित गरेको एकता-संघर्ष-रूपान्तरणको जुन पद्धति छ, त्यसको हामीले भरपूर प्रयोग गर्‍यौँ । हामीले खुलस्त ढंगले छलफल गर्‍यौँ र त्यसपछि हामी के निष्कर्षमा पुग्यौँ भने फेरि पनि हाम्रो पार्टी मूल रूपमा सही दिशामै छ । कमजोरीहरू मूल कार्यदिशाभित्रका हुन् । मूल कार्यदिशामा कुनै समस्या होइन, कमजोरी त्यसलाई प्रयोग गर्ने सन्दर्भमा भएका हुन् । हिजो जनयुद्धकालमा एक ढंगको शैलीमा हामी अभ्यस्त भयौँ, अहिले हामी खुला शैलीमा जाँदै छौँ । जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र कूटनीति- यी चार पक्षको संयोजन गरेर जुन नयाँ कार्यदिशा हामीले विकसित गरेका छौँ, त्यसलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा कमजोरी भएकै हुन् । कार्यशैलीमा हाम्रा केही कमजोरी भएकै हुन्, अलिकति असमानता पनि देखापरेकै हुन् । विभिन्न तहका नेता र कार्यकर्ताबीचमा, संगठनमा काम गर्ने र सेनामा काम गर्नेबीचमा कार्यविभाजनको हिसाबले यस्ता अन्तरविरोध भएकै हुन् । सहिद परिवार, बेपत्ता परिवार, घाइतेहरूको रेखदेखमा हामीले वेलैमा ध्यान पुर्‍याउन नसकेकै हो । प्रतिक्रियावादीले विभिन्न ढंगले अल्झाइदिँदा हामीले सरकारभित्र रहेर जे गर्नुपर्ने हो, त्यो गर्न नसकेको हो । यी सबै कारणले गर्दा समस्या आएको हो । तैपनि, हाम्रो निष्कर्ष के हो भने त्यत्रो महान् जनयुद्ध हाँक्ने र अहिले यत्रो चुनौतीका बीचमा त्यसका उपलब्धिको रक्षा गरेर सेना र बन्दुक सबै जस्ताको तस्तै राखेर जनताको अभिमत जित्दै सरकार, सदन र सडक- तीनवटै मोर्चामा वर्चस्व जमाउन सफल पार्टीले यी व्यावहारिक समस्या पनि हल गर्न सक्छ र सक्नुपर्छ । यही सोचका साथ फेरि एकढिक्का भएर उच्च मनोबलका साथ हामी आएका छौँ । यो एकताभाव तलसम्म लानुपर्छ ।

अहिलेको विश्वमा नेकपा -माओवादी)जत्तिको अरू कोही क्रान्तिकारी छैन । हामी बिग्रेको र अरू सप्रेको भन्ने कुरा त 'कालेको बाउले खुट्टा हल्लाएको र अरूले नाचेको' भनेजस्तो न हो । अहिले पनि माओवादी र यसको नेतृत्वले नै गर्ने हो क्रान्ति । त्यसैले हामीले आफूलाई अवमूल्यन नगरौँ, आत्मविश्वास नगुमाऔँ । आत्मविश्वास वा मनोबल ठूलो कुरो हुन्छ । कैयौँ युद्ध लडेका तपाईंहरू थुप्रो साथीहरू हुनुहुन्छ, जित्छु भन्ने मनोबल भयो भने जितिन्छ । सुरुमै हारियो क्यारे, हुन्न क्यारे भनेर खुट्टा कमाउँदै जानुभयो भने हारिन्छ । त्यसैले यस महान् यात्रामा हामी हिम्मतका साथ अगाडि बढ्नैपर्छ । हामीले जितिन्छ, जित्नैपर्छ । त्यसैले राष्ट्रिय भेलाले अगाडि सारेको कार्यदिशा, नीति र कार्यक्रमलाई ठीक ढंगले ग्रहण गरौँ । क्रान्तिबाहेक हाम्रो अरू कुनै सपना छैन । सरकार, सदन र सडक मोर्चामा संघर्ष कसरी व्यवस्थित गर्ने ? कसरी यो क्रान्ति पूरा गर्ने ? हामीले भनेका छौँ, क्रान्ति पूरा भएको छैन, क्रान्ति पूरा गर्न बाँकी छ । तर, उपलब्धिको रक्षा गर्दै नयाँ कार्यदिशा र कार्यनीतिको शृंखलालाई ठीक ढंगले पक्रेर मात्रै हामीले क्रान्ति सम्पन्न गर्न सक्छौँ ।

अहिले पनि नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक अवस्थामै छ । यहाँ साम्राज्यवाद, विस्तारवाद र विशेष गरेर सामन्त, दलाल तथा नोकरशाही पुँजीवादको दबदबा छ । त्यसको विरुद्ध गर्ने क्रान्ति जनवादी क्रान्ति नै हो । यसमा कुनै भ्रम पर्नुपर्नेछैन । लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने विवाद हामीबीच छँदै छैन । लोकतान्त्रिक गणतन्त्र भनेको संक्रमणकालीन बुर्जुवा गणतन्त्र हो, जुन राजतन्त्रको अन्त्य गरिसकेपछि खाली ठाउँमा खडा भएको छ । यो संक्रमणकालीन गणतन्त्रलाई जनताको गणतन्त्र वा जनगणतन्त्र वा नयाँ गणतन्त्रतिर लाने सर्वहारावर्गले कोसिस गर्छ, नाम जे दिए पनि हुन्छ । संसदवादी शक्तिहरूले आपmनै पुरानै संसदीय वेस्टमिन्स्टर प्रणालीमा परिणत गर्न कोसिस गर्छन् । संघर्ष हुने नै त्यहीँ हो । हामीले चुनवाङमै भनेका थियौँ- लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेपछि त्यस गणतन्त्रलाई जनताको गणतन्त्रमा लाने हो । तर, हामीले अहिले नै 'जनगणतन्त्र' पदावली किन भनेनौँ ? जनगणतन्त्र सर्वहारावर्गको नेतृत्वमा सबै उत्पीडित वर्गको गणतन्त्र हुँदाहुँदै पनि 'जनगणतन्त्र' पदावलीले हिजो माओकै पालाको जस्तो भन्ने सन्देश देला भनेर हामीले त्यसो भनेनौँ । माओका पालामा प्रतिस्पर्धा होइन, सहयोगात्मक भन्ने मात्रै थियो ।

सर्वहारावर्गको एउटा मात्रै पार्टी हुन्छ, त्यसले मात्रै शासन गर्छ भन्ने मोडेल त्यति सही देखिएन । रुस र चीनमा त्यत्रो क्रान्तिपछि पनि प्रतिक्रान्ति भयो । यसका पछाडि अरू पनि कमजोरी छन्, त्यही मात्रै त होइन, तर एउटा ठूलो कमजोरी के रह्यो भने एउटै पार्टीले सधैँ एकाधिकार कायम गरिराख्ने गर्‍यो भने विरोध र असन्तुष्टि चलखेल गर्ने ठाउँ हुँदोरहेनछ । जनताको सहभागिता पनि पुग्दोरहेनछ । त्यसले गर्दा पार्टी सर्वहारावर्गीय चरित्र गुमाएर पुँजीवादी नोकरशाही पार्टीमा परिणत हुने खतरा हुँदोरहेछ । त्यसैले हामीले नयाँ जनवादी क्रान्तिको कालमा मात्रै होइन, समाजवादी कालमा पनि प्रतिस्पर्धालाई स्थान दिनुपर्दोरहेछ । सामन्तवाद र साम्राज्यवादविरोधी प्रगतिशील शक्तिहरूका बीचमा प्रतिस्पर्धा गर्ने ठाउँ दिनुभयो भने मात्रै त्यसले पार्टीलाई नोकरशाही पार्टीमा परिणत हुनबाट बचाउन सक्दोरहेछ भनेर हामीले एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्ने अवधारणा अगाडि सार्‍यौँ । त्यसैले नामले मान्छेले पुरानै कुरा सम्झने हुन् कि भनेर 'जनगणतन्त्र' मात्रै नभनी राष्ट्रिय भेलाले पार्टीको तत्कालीन कार्यनीतिका रूपमा जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रलाई सूत्रबद्ध गर्‍यो ।

यो बहुसंख्यक उत्पीडित जनताको गणतन्त्र हुनुपर्‍यो । चीनमा एकात्मक गणतन्त्र थियोे । नेपालजस्तो बहुजातीय, बहुभाषिक देशमा एकात्मक शासन उपयुक्त हुँदैन । त्यसैले यहाँ गणतन्त्रलाई संघात्मक बनाउन खोजियो । अनि, लोकतान्त्रिक किन भन्यौँ भने यो प्रतिस्पर्धासहितको हुनुपर्‍यो । सहयोगात्मक भनेर जुन प्रयोग चीनमा गरियो त्यस्तो होइन, हाम्रो लोकतान्त्रिक प्रतिस्पर्धासहितको गणतन्त्र हुन्छ भनेर हामीले 'लोकतान्त्रिक' शब्द राख्यौँ । र, हाम्रोजस्तो साम्राज्यवाद र मुख्यतः भारतीय विस्तारवादको खतरा भएको देशमा गणतन्त्र राष्ट्रिय पनि हुनुपर्‍यो । बाह्य शक्तिको हस्तक्षेपविरुद्ध लड्नुपर्नेछ हामीहरूले । जनताको, संघीय, लोकतान्त्रिक, राष्ट्रिय- यी चारवटा गुण भएको गणतन्त्र हुन्छ हाम्रो । यसमा ठूलो छलफलपछि हाम्रो सहमति भयो । अझै चारवटा विशेषण राख्दा 'नयाँ जनवादी गणतन्त्र', 'जनगणतन्त्र' भन्दा जति मजा आउँथ्यो, जनताको जिब्रोमै गड्थ्यो, त्यो अलि गडेन भन्ने हामीलाई लागेकै छ । छलफल गर्दै जाऊँ । सार यही हो । तर, ठ्याक्कै शब्दचाहिँ महाधिवेशनसम्म खोजौँला ।

हाम्रो पार्टी हुन्थेन, हामीले जनयुद्ध गर्दैनथ्यौँ र हाम्रो नेतृत्व कुशलतापूर्वक आउँदैनथ्यो भने राजतन्त्र जाँदैनथ्यो । प्रस्टै कुरा हो त्यो । हामीले नै पmयाँकेको हो राजतन्त्र । राजतन्त्र पmयाँकेर हामीले ठीक गर्‍यौँ । निश्चित रूपमा सर्वहारावर्गको पूरै सत्ता आइसकेको छैन । तर, राजतन्त्र पmयाँकेपछि प्रतिक्रियावादीहरूको स्वर्गमा भुइँचालो गएको छ । पशुपतिनाथ र सेना समायोजनसम्बन्धी विवाद सबै त्यसैका कम्पन हुन् । धेरै कुरा खल्बलिँदै छ बिस्तारै-बिस्तारै । दरबार, प्रतिक्रियावाद र सामन्तवादका जरा जोडिएका छन् । सरकार, सदन र सडकमा हाम्रा जुन गतिविधि छन्, त्यसले ती जरालाई खलबल्याउँदै छ । कम्पन पैदा भइरहेको छ । यसले बेठीक होइन, ठीक गर्छ । कतिपयलाई लाग्ला, माओवादीले उपद्रो विवाद सिर्जना गर्‍यो । तपाईंहरूलाई अखबार हेर्दा लाग्दो हो, नेताहरू खालि विवाद मात्रै गरिराख्छन् । अव्यवस्थाबाटै व्यवस्था आउँछ, भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ । भद्रगोल ल्याउने नै हो हामीले । सोच-विचार गरेर भद्रगोल ल्याइयो भने त्यो ठीक हुन्छ । तर, सोच-विचार नगरी ल्याइयो भने त्यो अराजक हुन्छ । अराजक हुँदैमा क्रान्ति हुँदैन । राजतन्त्र र सामन्तवाद जोडिएका विषय हुन् । र, त्यहाँ हामीले अलिअलि घोचेका छौँ, धेरै गरेका पनि छैनौँ । हामीले अकुपंचरले घोचेको न हो अहिले । अलिकति घोच्दा पनि त्यत्रो ऐया र आत्थु गरेर कराउँछन् ।

हामी यस राज्यसत्तालाई नयाँ ढंगले रूपान्तरण गर्न खोज्दै छौँ, हल्ला नगरीकन । कहिलेकाहीँ हल्ला हुन्छ । तर, हामी हाम्रै ढंगले गर्दै छौँ । यहाँ एउटा ठूलो सोच-विचार र योजनाले काम गरिरहेका छन् । सरकार, सदन र सडकका मोर्चाका कामलाई कसरी व्यवस्थित गर्ने ? गाँठी कुरा त्यो हो । सडकमा त हामी माहिर छौँ । सडक भनेपछि अधिकांश साथी रमाउनुहुन्छ । साथीहरूलाई सदनको काम अलि मन पर्दैन । सदनमा हामी खुम्ची-खुम्ची जान्छौँ । तर, सदनमा पनि हामीले संघर्ष गर्नैपर्छ । संविधान बनाउनकै निम्ति जनताले हामीलाई त्यहाँ पठाएका हुन् । हामील्ााई प्रतिक्रियावादीले संविधान बनाउन नदेलान् । तर, जनताका पक्षमा संविधान बनाउनुपर्छ भन्ने तयारीका साथ हामी लड्दै छौँ । संविधानसभाको लडाइँ ठूलो हुनेवाला छ । र, संविधानसभामा नलडीकन छाडेर आएर कुनै क्रान्ति हुनेछैन । हामी हिजो निर्वाचनमा जनताबीच जाने र जनताले हाम्रो प्रतिबद्धतापत्रलाई अनुमोदन गर्ने ! माओवादीले त्यो लागू गरोस् भनेर जनताले हामीलाई जिताउने ! अनि अहिले हामी भने सकिन्न बा ! भनेर छाडेर भाग्ने ? अनि क्रान्तिकारी हुने हामी ? हुँदैन, त्यसरी क्रान्तिकारी भइँदैन । हामीले जनतालाई धोका दिनुहुँदैन । सदनबाट पनि हामीले लड्नुपर्छ, हामी लड्नेवाला छौँ ।

बाघ र बाख्राले एउटै कुवामा पानी खान गाह्रो छ । दुईटा वर्ग एकै ठाउँमा भएपछि टक्कर पनि परिहाल्छ । दुईतिहाइ चाहिन्छ संविधान बन्नलाई । चालीस प्रतिशत हामीसँगै छ । हामीविना संविधान बन्छ ? एक अक्षर पनि लेखिँदैन । कि त हामीले भनेजस्तो संविधान लेखिन्छ, होइन भने कसैको पनि संविधान बन्दैन । त्यसैले यसमा किन डराउने हामी ? विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिभन्दा पहिले सरकारको मोर्चामा गएको उदाहरण छैन । त्यसैले धेरै मानिसलाई लाग्ला, नेताहरू जम्मै फसे । अध्यक्ष पनि त्यहीँ जाने, मुख्य नेताहरू पनि त्यहीँ जाने । निश्चित रूपमा केही कठिनाइ भएको छ । यो हामीले क्रान्तिका निम्ति सचेत ढंगले व्यहोरेको जटिलता हो । क्रान्तिभन्दा पहिले सरकारमा जानुहुँदैन भन्ने कुनै माक्र्सवादमा छैन । सन् १८४८-५० मा जर्मनी र प|mान्समा पुँजीवादी क्रान्ति भइराखेको थियो, त्यतिवेला माक्र्स-एङ्गेल्सको लाइन संविधानसभामा जाने खालको थियो । तर, त्यतिवेला त्यो सम्भव भएन । पछि लेनिनले पनि रुसमा अन्तरिम क्रान्तिकारी सरकारको नारा दिनुभयो । रुसको क्रान्ति फरक ढंगले भयो । क्रान्तिभन्दा पहिले सरकारमा जाने परिस्थिति त्यहाँ बनेन । सन् १९४५ मा चीनमा जनवादी क्रान्ति पूरा भइसकेको थिएन, त्यहाँ पनि माओले संयुक्त सरकारको नारा दिनुभएको थियो । यदि, त्यहाँ तालमेल मिलेको भए उहाँहरू सरकारमा जानुहुन्थ्यो । ढाँटछल गर्न संयुक्त सरकारको नारा दिनुभएको थियो माओले ? भन्न हुन्छ, तर गर्न हुन्न भन्ने कहीँ हुन्छ ? सम्भव भएको भए माओहरू पनि सरकारमा गएर लड्नुहुन्थ्यो । तर, त्यहाँ पनि परिस्थिति अर्कै भयो । च्याङ् काई शेकको मूर्खता, अन्तर्राष्ट्रिय परिस्थिति आदिले गर्दा उहाँहरू सरकारमा जाने स्थिति बनेन । अनि अर्कै बाटोबाट क्रान्ति सम्पन्न भयो । त्यसैले, क्रान्तिकारीहरूले क्रान्तिभन्दा पहिलेको अन्तरिम सरकारमा गएर भूमिका निर्वाह गरेको उदाहरण कम छ । हाम्रो मात्रै यस्तो विशिष्ट परिस्थिति पैदा भयो, जहाँ हामी क्रान्तिभन्दा पहिले सरकारमा पुगोका छौँ । सरकारभित्रैबाट कसरी क्रान्ति संगठित गर्ने ? अहिलेको चुनौती त्यो हो । हामी सडकमा, सदनमा र सरकारमा यो-यो गर्छौं- यी तीनवटा मोर्चालाई जोडेर यसरी क्रान्ति गर्ने भन्नेतिर हाम्रो ध्यानकेन्दि्रत हुनुपर्छ । एक ठाउँमा मात्रै गएपछि क्रान्तिकारी भयोे, अर्को ठाउँमा गएपछि अछूत भइयो- यस्तो सिद्धान्तले पनि कहीँ गरिखान्छ आजको दुनियाँमा ? हामी तीनवटै मोर्चामा लड्नुपर्छ ।

सरकार, सदन र सडक तीनवटै क्षेत्रका संघर्षलाई संयोजित गरेर अघि बढौँ । यही नै सच्चा क्रान्तिकारी कार्यदिशा हो । यसरी मात्रै एक्काइसौँ शताब्दीमा नयाँ ढंगले क्रान्ति सम्पन्न हुनेछ । नयाँ विकसित कार्यदिशालाई दह्रोसँग पक्रौँ । हाम्रो जित सुनिश्चित छ ।

No comments: