|
विक्रम सम्बत २००६ साल चैत ६ गते मेची अन्चल इलाम जिल्लाको साँखेजुङ्गमा पिता पुड्कनाथ र आमा मधुमाता खनालको सातौँ सन्तानको रुपमा झलनाथ खनालको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक सम्म अध्ययन गरेका खनालले २०२५ सालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । रविलक्ष्मी मानन्धरसँग विवाह गरेका खनालको एक मात्र पुत्रको रुपमा निर्भिक
चित्रकार खनाल रहनुभएको छ ।
पार्टी सदस्यता लिएको सात बर्ष पछि विसं २०३२ सालमै पार्टीको एक भातृ संगठनको नेतृत्व पाएका खनाल छोटो अवधीमै नेकपा मालेका महासचिव बन्न सफल बन्नुभएको थियो । तत्कालीन महासचिव सिपी मैनालीलाई महासचिवबाट हटाएर नेकपा मालेका महासचिव बनेका खनालले ८ बर्षसम्म पार्टी हाँक्नु भएको थियो ।
१२ बर्ष भुमिगत राजनीतिमा सकि्रय बनेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ७ बर्ष जेल जीवन विताउनुभएको छ । विसं २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा गठन भएको सरकारमा खनाल पहिलो पटक वन तथा भुसंरक्षण मन्त्री बन्नुभएको थियो । यस्तै २०५२ सालमा लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा संचारमन्त्री बनेका खनाल त्यसपछि मन्त्री बन्नु भएको छैन ।
संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका खनाल माधव कुमार नेपालले राजीनामा दिएपछि २०६५ सालमा पुनः नेकपा एमालेका महासचिव बन्नुभएको थियो । संविधानसभाको निर्वाचनमा माधव कुमार नेपालले लज्जाजनक हार व्यहोरेपछि खनाललाई महासचिव बन्ने अवसर जुटेको थियो । बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष बन्नुभएका खनाल अहिले एमाले संविधानसभा दलको नेता समेत हुनुहुन्छ ।
स्वच्छ छवि र भलाद्मी व्यक्तित्वका धनी खनाल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका विरोधी मानिनुहुन्छ । जनताको बहुदलीय जनवादलाई "ुदक्ष प्रजापतिको टाउको" भनेर निक्कै चर्चा कमाउनुभएका खनाललाई एमाले भित्रका केहि नेताहरुले माओबादीको निकट भनेर आलोचना पनि गर्ने गरेका छन् ।
कवितामा निक्कै रुची राख्ने खनालले प्रजातान्त्रिक नेपालको रुपरेखा लगायतका १ दर्जन पुस्तकहरु पनि लेख्नुभएको छ ।
No comments:
Post a Comment