Wednesday, January 28, 2009

नुवाकोट दरवारमा भोटेताल्चा र नुवाकोट दरवारपरिसर घुमेर हेर्दा













नुवाकोट दरवारमा भोटेताल्चा



विक्रम सम्बत १८१८ मा तेस्रोपटकको प्रयासपछि बल्ल पृथ्वीनारायण शाहको कब्जामा आएको नुवाकोटको ऐतिहासिक दरवार क्षेत्र पुग्दा अनुभव भएन यो आर्थिक र सामरिक दुबै दृष्टीकोणले महत्वपुर्ण स्थान हो भन्ने । बजार पुग्न केही ढिला भएको हो कि भन्ने नलागेको भने हैन । तर त्यो बजार दिन ढल्दै गएर सुनसान भएको हैन रहेछ । कारण रहेछ सरकारले बन्द गरेको सात तले दरवार ।


काठमाडौं आक्रमण अगाडि पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेपछि मात्र काठमाडौं आक्रमण गरेका थिए । सात तले दरवार उनैले बनाउन लगाएका रहेछन । नुवाकोटको थुम्को पुग्ने हरेकको पहिलो रोजाइ बनेको त्यो दरवारमा एकाएक भोटेताल्चा ठोकिएछ । जसको प्रभाव रहेछ सुनसान बन्दै गएको नुवाकोट ।

आहा कत्ति राम्रो छ है यो दरवार ।

१५ दिन अगाडि मोटरसाइकलमा हुंइकिएर थुम्कोमा पुगेका पांचै जनाको रहर थियो दरवार छिर्ने । तर सकिएन । हाम्रा लागि पनि अवरोध थियो त्यही भोटे ताल्चा । दरवारको ढोकैनिर पुग्दा यस्तो सुचना थियो-अर्को आदेश नभएसम्म दरवार बन्द गरिएको छ ।

लौ यो अर्को आदेश भनेको कहिले आउने र कसले दिने आदेश रहेछ भनेर सोधखोज गरियो । अब सोध्ने कसलाइ । संगै रहेका पत्रकार रामचन्द्र भट्टले भने-सिडिओको आदेश आउने हो भने अहिलेनै खुल्छ यो ढोका । पहिला भनेको भए तल आदेश बोकेर आउनहुन्थ्यो नी । हरे कस्तो जमाना आएछ दरवार हेर्न पनि अब सिडिओको फोस्र चाहिने भन्दै हामी लुरुलुरु हिड्यौं अन्तैतिर ।

नुवाकोट दरवारको पश्चिममा रहेको भैरवी मन्दीर जाने बाटो । यो बाटोको सुन्यताले नै जनाउंदैन त नुवाकोटको हाल ?

सुने अनुसार प्रधानमन्त्री भए लगत्तै पुष्पकमल दाहाल र बाबुराम भट्टराइ गोर्खा गएर अनेक नाटक गरेपछि एकाएक नुवाकोट दरवारमा भोटेताल्चा ढोकिएको रहेछ । भट्ट त भन्दै थिए-यहां पनि प्रचन्ड आउलान भनेर दरवार बन्द गराएका हुनसक्छन । संगै रहेका नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका सभापति राजुमित्र खनालको तर्कपनि यस्तै थियो । अनी संगै रहेका नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा पनि टाउको हल्लाएर भट्टको तर्कमा सहमति ब्यक्त गरिरहेका थिए ।

तर प्रशासनले भने त्यो कुरा न स्विकार गर्यो न अन्य कुनै तर्क नै गनृ सक्यो । जिल्ला प्रशासनमा यस विषयमा जिज्ञासा राख्दा माथिको आदेश आएपछि ताल्चा ठोकेको बताए । तर किन बन्द गराइयो उनीहरु पनि अन्यौलमा रहेछन । सायद कमजोर भयो भनेर होला की भन्ने उनीहरुको आफ्नै अनुमान रहेछ ।

जे भएपनि पर्यटकियस्थल खुल्ला गर्नुपर्छ बन्द हैन । कमजोर भएको हो भने मर्मत गर्नुपर्छ । ढोकामा ताल्चा ढोकेर कमजोर भएको दरवार बलियो बन्ने त पक्का हैन नै । राजतन्त्र अन्त्य भएपनि इतिहासका ज्युदा साक्षिहरुको अवलोकन त गर्न पाउनुपर्छ नै । तर,नागरिकको यो भावनाको कदर गर्छ कसले र ? नुवाकोट दरवारपरिसर घुमेर हेर्दा




बेलुका ६ वजेतिर नुवाकोट दरवार परिसरपुग्दा बढो आनन्द आयो । कहांको प्रदुशणयुक्त काठमाडौं खाल्डो अनी कहांको प्रदु्शणमुक्त यो डांडो । आहां यो सुर्यास्तको दृष्य नै हेर्नुस त क्या गजव छ है । अनी अनुहार ननिचिनेहरु चै राजुमित्र खनाल सावित्रि घिमिरे देवचन्द्र भट्ट र शिब देवकोटा ।




दरवारको उत्तरतिर रहेको खुल्लास्थानवाट तस्विर खिच्दा देखिएको दरवारको टुप्पो तलेजु मन्दीर ।

दरवारको थुम्कोवाट देखिएको दक्षिणतिरको टार । यहां भब्य आलु खेति हुने गर्छ रे ।


यो चै ऐतिहासिक डान्सबार रे । यो पाटीमा बसेर पृथ्वीनारायण शाह नृत्य हेरेर मनोरंजन लिन्थे रे ।

यो रणबहादुर शाहले चढाएको घन्टा रहेछ ।


यो भैरवी मन्दीर हो । कते लडाइमा जानु अगाडि पृथ्वीनारायण शाह यो मन्दीरको दर्शन गरेर जाने गर्थे रे । यो मन्दीरको पुजारी मगर जातका हुन्छन ।

यो चै टुडिखेल हो है । यहां टुडिखेल मात्र हैन असन इन्द्रचोक पनि रहेछन । अनी बस्तीपनि काठमाडौको जस्तै नेवारहरुको बाहुल्यता रहेछ । काठमाडौंमा भएको तलेजुदेवीको मन्दीर पनि छ यहां ।

र अन्तमा, यो स्तुपा र संगै देखिएको रुख । स्थानीयवासीका अनुसार यो स्तुपा चार सय वर्ष पुरानो हो रे । तर संरक्षणको अभावमा स्तुपा माटोको थुम्को जस्तो भइसक्यो । अनी यो रुख पनि पृथ्वीनारायणको पालाको हो रे ।

No comments: