Sunday, March 27, 2011

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला नेपाल राज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो ।
 भूगोल
 नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु पाउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ । नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पुर्बी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।
 इतिहास

राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
 नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाई अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।
 यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपी इ.सं.१८५७ मा भारतका सिपाही बिद्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाई महत्वपुर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो । तसर्थ नेपालको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपुर्ण भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज पृथ्वीनारायण शाहबाट वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपुर्ण समय नुवाकोट मै व्यतित भएको थियो ।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपुर्ण मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ । जुन मार्ग भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरिद जस्ता व्यापक तयारीले लडाँइलाई सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए ।
 बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
 नामाकरण
 नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ ।
 प्रशासन
 प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगरपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दरबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।

अञ्चल: बागमती अञ्चल
सदरमुकाम: बिदुर,
क्षेत्रफल: १,१२१ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ६१
नगरपालिका(हरू): बिदुर,
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ३
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: तामाङ्,नेवार,क्षेत्री,ब्रामण,कामी,मगर आदि
प्रमुख भाषाहरू: नेपाली,तामाङ्,नेवारी,मगर आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१०

No comments: